कंचनरुपमा राजनीतिक टकरावले प्रशासनिक संकटः तलब–भत्ता रोकिँदा शिक्षक–कर्मचारी सडकमा

राजविराज — सप्तरीको कंचनरुप नगरपालिका पछिल्ला दिनहरूमा पूर्ण रूपमा प्रशासनिक संकटमा फसेको छ। नगर प्रमुख र उपप्रमुखबीचको लामो विवादका कारण तलब–भत्ता रोकिएपछि शिक्षक–कर्मचारीहरू बिहीबारदेखि सडकमा उत्रिएका छन्।

शिक्षक–कर्मचारीहरूले कात्तिक २० गतेदेखि चरणबद्ध आन्दोलन सुरू गर्दै नगरपालिकाको गेटमै धर्ना दिने घोषणा गरेका छन्। आन्दोलन परिचालन समितिका संयोजकले भने –‘हामीले गत असोजमै जिल्ला प्रशासन र नगरपालिकामा ज्ञापनपत्र बुझायौँ, तर अहिलेसम्म तलब पाइएन। अब जीविकाको संकटले हामीलाई आन्दोलनमा धकेलेको हो।’

कर्मचारीहरूको भनाइअनुसार, चालु आर्थिक वर्ष २०८२/०८३ को श्रावणदेखि अहिलेसम्मको तलब–भत्ता राज्यबाट प्राप्त भइसकेको छ, तर नगरपालिकाले वितरण गर्न मानेको छैन। नगर प्रमुख र उपप्रमुखबीचको शक्ति संघर्ष, र प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिले कार्यालयका सबै काम ठप्प पारिएको उनीहरूको आरोप छ।

स्रोतनुसार, नगर प्रमुख र उपप्रमुखबीच बजेट वितरण, नियुक्ति, र स्वीकृत निर्णयहरूको कार्यान्वयनमा लगातार विवाद चलिरहेको छ। यसले नगरसभा बैठकहरू समेत स्थगित गराएको छ। त्यसको प्रत्यक्ष असर शिक्षा, स्वास्थ्य र सरसफाइजस्ता अत्यावश्यक सेवामा परेको छ।

शिक्षक–कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा मन्त्रालय, मधेश प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, शिक्षक महासंघ, पत्रकार महासंघ र अन्य निकायहरूलाई ज्ञापनपत्र पठाएर समस्या समाधानमा तत्काल पहल गर्न आग्रह गरेका छन्।

आन्दोलन परिचालन समितिले सार्वजनिक गरेको तालिकाअनुसार, २० गते र २१ गते विभिन्न सरकारी कार्यालयहरूमा ज्ञापनपत्र बुझाइएको छ। २३ र २४ गते बिहान ११ बजे नगरपालिकाको गेट अगाडि धर्ना दिइनेछ, र सोही दिन आगामी आन्दोलनका थप कार्यक्रम घोषणा गरिनेछ।

‘हामी नगर प्रमुख र उपप्रमुखको व्यक्तिगत झगडाको सिकार भएका छौं,’ आन्दोलनमा सहभागी एक शिक्षकले भने, ‘राष्ट्रसेवक भएर पनि हामीले राज्यले पठाएको सुविधा पाउन संघर्ष गर्नुपर्ने अवस्था आएको छ।’

स्थानिय बासिन्दाहरूले पनि तत्काल राजनीतिक द्वन्द्व अन्त्य गरी सेवासुविधा पुनःसञ्चालन गर्न माग गरेका छन्। यदि केही दिनभित्र समाधान भएन भने आन्दोलनले नगरपालिका पूरै बन्द हुने चेतावनी दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट