धरान पुनर्स्थापना केन्द्रमा उपचाररत युवकको संस्थाकै कर्मचारीको कुटपिटबाट मृत्यु
इटहरी– सुनसरीको धरानमा रहेको नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रभित्र एक युवकको मृत्यु भएको छ। प्रारम्भिक अनुसन्धानले उनलाई संस्थाकै कर्मचारीहरूले कुटपिट गरेको पुष्टि गरेको छ। यो घटना सार्वजनिक भएपछि पुनर्स्थापना केन्द्रको सञ्चालन प्रणाली र त्यहाँ भइरहेका व्यवहारबारे गम्भीर प्रश्न उठेका छन्।
धरान–११ मंगलबारेस्थित केन्द्रमा उपचाररत तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–६ का ३३ वर्षीय खड्गबहादुर राईलाई पाता कसेर, कम्ब्याट र डोरीले बाँधेर कुटपिट गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। सीसी क्यामेरा फुटेजमा राईलाई हातखुट्टा नचल्ने गरी बाँधेर लडाएको दृश्य फेला परेपछि प्रहरी अनुसन्धान थप गम्भीर बनेको हो।
कुटपिटबाट गम्भीर घाइते भएका राईलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। तर उपचारका क्रममा गत मंगलबार दिउँसो उनको मृत्यु भयो। प्रहरीका अनुसार मृत्युको कारण ‘कुटपिट र अत्यधिक शारीरिक नियन्त्रण’बाट उत्पन्न आन्तरिक चोटपटक रहेको अनुमान गरिएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय धरानले केन्द्रका सञ्चालकसहित नौ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा केन्द्रका सञ्चालक धरान–८ का ३५ वर्षीय मणिराज राई, धरानकै राकेश प्रधान, श्रवण राजधानी, निकेश सुनुवार, सुरेन लिम्बु, हस्तबहादुर विश्वकर्मा, बिरु लिम्बु, सचिन राई र मोरङ सुन्दरहरैचाका विजय चौधरी छन्।
प्रहरीले उनीहरूलाई बिहीबार नियन्त्रणमा लिएर प्रारम्भिक बयान लिएको छ। सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनाले पुनर्स्थापना केन्द्रहरूको नियमन, चिकित्सकीय निगरानी र मानवअधिकारको पालनामा सरकारको लापरवाहीलाई उजागर गरेको छ। स्थानीयहरू भन्छन् — ‘उपचारको नाममा मानिसहरूलाई बाँधेर कुट्ने ठाउँ पुनर्स्थापना होइन, अत्याचार केन्द्र हो।’

