काठमाडौँको मुटुमै विदेशी पर्यटक कुटिएः ‘सुरक्षित सहर’ भन्दै गरिएको दाबी पत्याउने आधार खै ?

काठमाडौँ— राजधानीमै विदेशी नागरिकमाथि भएको कुटपिटको घटनाले काठमाडौँको पर्यटक सुरक्षा व्यवस्थामै गम्भीर प्रश्न उठाएको छ। ट्रेकिङका लागि नेपाल आएका २५ वर्षीय इजरायली नागरिक अल्मोग आर्मोजा सोमबार राति १० बजेतिर काठमाडौं–१६, कालधारा चोकमा अपरिचित व्यक्तिको आक्रमणमा परी घाइते भएका छन्।

होस्टेलमा बस्दै आएका आर्मोजा बाहिर निस्किएको केही समयमै कुटपिटमा परेपछि प्रहरीले घटना अनुसन्धान सुरू गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार घटनास्थल नजिकैको सीसीटीभी फुटेजसमेत प्रहरीले संकलन गरेर विश्लेषण गरिरहेको छ। ‘उनी त्यही क्षेत्रको होस्टेलमा बस्ने रहेछन्। सोमबार राति बाहिर निस्किएपछि अपरिचित व्यक्तिले कुटेको देखिन्छ,’ एसएसपी थापाले भने, ‘सीसीटीभी फुटेजका आधारमा अनुसन्धानलाई अगाडि बढाइरहेका छौँ।’

प्रहरीका अनुसार आक्रमण योजनाबद्ध थियो कि सामान्य झडप भन्ने विषय अनुसन्धानमै छ। यस घटनापछि जेरुसेलमका सञ्चारमाध्यमहरूले ‘इजरायली नागरिक भएकै कारण आक्रमण भयो’ भन्दै समाचार तयार पारेका छन्। जेरुसेलम पोस्टसँग कुराकानी गर्दै आर्मोजाले आफूलाई लक्ष्य बनाइएको दाबीसमेत गरेका छन्। उनले भनेका छन–‘आक्रमणकारीले मलाई हिब्रु भाषामा कुरा गर्दै गरेको थाहा पाएका थिए। पहिलो प्रहारमै म बेहोस भएको भए परिणाम फरक हुन सक्थ्यो। भाग्ने मौका नपाएको भए ज्यानै जान सक्थ्यो।’ उनले घटना आकस्मिक नभई ‘लक्षित’ जस्तो महसुस भएको बताएपछि मुद्दा अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चामा आएको छ।

तर, काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले भने घटनालाई विदेशी नागरिकको पहिचानसँग जोडेर हेर्न नमिल्ने प्रतिक्रिया दिएका छन्। ‘हाम्रा प्रारम्भिक तथ्यहरूले यो घटना राष्ट्रियताका आधारमा गरिएको आक्रमणजस्तो देखिँदैन,’ उनले भने, ‘यो सामान्य लुटपाट गर्ने उद्देश्यले भएको जस्तो देखिन्छ। आक्रमण गर्ने व्यक्तिको पहिचान भइसकेको छ, खोजतलास जारी छ।’ भट्टराईका अनुसार घटनास्थलका अन्य फुटेज तथा प्रत्यक्षदर्शीका बयान पनि संकलन भइरहेको छ।

कुटपिटपछि आर्मोजालाई तत्कालै नयाँबजारस्थित पिपुल्स अस्पताल लगिएको थियो। अवस्थाको मूल्यांकनपछि उनलाई मैतिदेवीस्थित स्वेग अस्पताल सारिएको हो। हाल उनी डिस्चार्ज भइसकेका छन् भने निधारमा सामान्य चोट मात्र लागेको प्रहरीले जानकारी दिएको छ। उपचारपछि आर्मोजाले आफ्नो तर्फबाट पनि नेपाली प्रहरीसँग बयान दिएर कुटपिट गर्नेको गिरफ्तारीमा सहयोग गर्ने संकेत गरेका छन्।

विदेशी पाहुनालाई राजधानीकै पर्यटक केन्द्रमा लक्षित गरेर कुटपिट हुनु, र त्यसको बारेमा अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाउनु भनेको नेपालको पर्यटन सुरक्षा व्यवस्थामाथि ठूलो धक्का मानिएको छ। नेपाल सरकार र सुरक्षा निकायहरू वर्षौंदेखि ‘नेपाल सुरक्षित छ’ भन्ने संदेश दुनिया भरी पु¥याइरहेका बेला यस्तो घटना बाहिरिनु गम्भीर संकेत भएको सरोकारवालाहरू बताउँछन्।

राजधानीका पर्यटक क्षेत्रहरू ठमेल, दरबारमार्ग, नयाँबजार, बसन्तपुर लगायतका क्षेत्रमा लगातार बढिरहेका लुटपाट प्रयासहरू, झडप र कुटपिटका घटनाले ‘सुरक्षा तयारी कमजोर’ भएको तथ्य फेरि उजागर गरेको छ।

काठमाडौं उपत्यकामा दिउँसो र राति दुवै समयमा बढ्दो असुरक्षा, पर्यटकमाथि लक्षित लुटपाट, र सुरक्षा निकायको कमजोर भूमिकामाथि पनि प्रश्न उठ्न थालेका छन्। प्रहरी भने घटनाको छिनोफानो नहुन्जेल ‘अनुसन्धानमा बाधा नपरोस्’ भन्दै अन्य विवरण सार्वजनिक गर्न हिचकिचाइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट