अख्तियार प्रमुखसहित १० उच्च व्यक्तिलाई ज्यान मार्ने धम्की दिने मुख्य अभियुक्त फिलिपिन्समा भएको खुलासा
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० उच्च व्यक्तिलाई ज्यान मार्ने धम्की दिने समूहका मुख्य अभियुक्त प्रकाश पाठक हाल फिलिपिन्समा बसेर गतिविधि सञ्चालन गरिरहेको खुलासा भएको छ।
अनुसन्धानलाई बहुआयामिक रूपमा विस्तार गरेको प्रहरीले पाठक फिलिपिन्समा रहेको जानकारीपछि अन्तर्राष्ट्रिय समन्वयसहित निगरानी कडाइ गरेको छ। धम्कीपूर्ण पत्र र भिडियो सन्देश ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामक लेटरहेडमा तयार पारेर अख्तियारमा नै पठाइएको थियो।
पत्रमा प्रमुख आयुक्त राईसहित पूर्वअख्तियार प्रमुख लोकमानसिंह कार्की, कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक, सुडान काण्डमा मुछिएका पूर्वप्रहरी प्रमुखहरु ओमविक्रम राना, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी, पूर्वमन्त्री आरजु राणा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र व्यवसायी दुर्गा प्रसाईसम्मलाई ‘मार्ने’ चेतावनी दिइएको थियो।
पत्रपछि अख्तियारले जिल्ला प्रहरी परिसर काठमाडौंमा आधिकारिक रूपमा उजुरी दिएको छ। त्यसपछि काठमाडौं प्रहरी, सीआईबी र उपत्यका अपराध अनुसन्धान कार्यालय गरी तीन निकायले संयुक्त अनुसन्धान सञ्चालन गरिरहेका छन्। प्रहरीका अनुसार पाठकका तीन जना सहयोगी पक्राउ परेका छन्। उनीहरूले आफू पाठकका ‘बडीगार्ड’ भएको स्वीकारे पनि धम्कीमा संलग्नता अस्वीकार गरेका छन्।
तर धम्की दिईएको भिडियोमा उनीहरूकै उपस्थिति देखिएको हुँदा प्रहरी थप प्रमाण संकलनमा केन्द्रित छ। सुरक्षा स्रोतका अनुसार पाठक विगतमा काभ्रेका अमित लामा र चरिकोटका दिनेश अधिकारी ‘चरी’ समूहसँग पनि जोडिएको देखिएको छ। पछिल्लो समयमा ठेक्का–पट्टा र राजनीतिक पहुँचमार्फत प्रभाव बढाउँदै आएका नविन बस्नेतसँग पाठकको नजिक सम्बन्ध रहेको प्रारम्भिक तथ्याङ्क प्रहरीले फेला पारेको छ।
बस्नेतले चन्द्रागिरीमा ‘व्यापारिक सेटिङ’ मार्फत शक्तिशाली व्यक्तिसँग पहुँच बनाएको र उनले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई पनि आफ्नो ‘नेटवर्क’ मा परिचय गराइदिएको प्रहरीको दाबी छ।
नालिञ्चोक हेलिपोर्ट निर्माणमा १३ करोडभन्दा बढी भ्रष्टाचार मुद्दाका अभियुक्त प्रदीप अधिकारीसँग पाठक समूहको सम्भावित कनेक्सनले अनुसन्धानलाई झनै जटिल बनाएको छ। अधिकारी पक्राउ परेपछि पाठकले भिडियोमार्फत आक्रोशित प्रतिक्रिया दिएका थिए। जसले प्रहरीलाई उनीहरूबीच सम्बन्धको अर्को संकेत दिएको छ। अधिकारीको मोबाइल डेटा विश्लेषणमा पनि यस्तै कनेक्शन भेटिन सक्ने आशंका गरिएको छ।
हेलिप्याड भ्रष्टाचार मुद्दा दायर भएको भोलिपल्टै धम्कीपत्र र भिडियो सार्वजनिक भएकाले ‘सामान्य संयोगभन्दा पनि नियोजित प्रतिवाद’ को रूपमा हेर्नुपर्ने विश्लेषकहरुको टिप्पणी छ। यसैबीच धम्कीपत्रमा नाम उल्लेखित व्यक्तिहरूको सुरक्षा स्तर राजधानीका तीनवटै जिल्लामा बढाइएको छ।
यसअघि पनि पत्रकार तथा निजी क्षेत्रका व्यक्तिलाई पाठक समूहले ज्यान मार्ने चेतावनी दिएको थियो। पत्रकारलाई दिएको धम्कीको विषयमा इन्टरनेशनल फेडरेसन अफ जर्नालिस्ट (आईएफजे) ले नेपाल सरकारको ध्यानाकर्षण गराइसकेको थियो।
उच्च सुरक्षा स्रोतका अनुसार यो घटना कुनै एक व्यक्तिको आवेग मात्र नभई ‘अपराध, पैसा र राजनीतिक पहुँच’ मिसिएको विस्तृत नेटवर्कको संकेत हो। प्रहरी अधिकारीहरू भन्छन्, ‘धम्की देखिने सतहको कुरा हो। पर्दामुनि कसले के उद्देश्य लिएर प्रयोग गरिरहेको छ भन्ने कुरा केही दिनमै धेरै कुरा खुल्दै जानेछ।’
देशका शीर्ष तहका व्यक्तिलाई लक्षित यस्तो योजनाबद्ध धम्कीले सुरक्षा संयन्त्र अलर्ट मोडमा पुगेको छ। प्रहरी र सीआईबीसहितको सुरक्षा निकायहरू अब पूर्ण समन्वयमा काम गरिरहेका छन्, भने अनुसन्धानले एक जटिल आपराधिक–राजनीतिक जालो तानिन सक्ने आकलन गरिएको छ।

