चुनावको मुखैमा देउवाको रहस्यमय कदमः परिवारै विदेशमा, कांग्रेसमा हलचल
काठमाडौँ– ०४८ सालदेखि निरन्तर अपराजित रहँदै आएका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका लागि यसपटकको निर्वाचन राजनीतिक जीवनकै सबैभन्दा जटिल र अपमानजनक बन्यो।
पार्टीभित्रको शक्ति सन्तुलन अचानक बदलिँदा र आफूले नेतृत्व गरेको नेपाली कांग्रेसमै निर्णायक रूपमा कमजोर बनाइएपछि देउवा राजनीतिक रूपमा मात्र होइन, मनोवैज्ञानिक दबाबमा समेत परेको आकलन कांग्रेस वृत्तमा भइरहेको छ।
सभापति पदबाट अपदस्त हुनु, आफ्नै पार्टीभित्र टिकट वितरणमा पूर्ण रूपमा पाखा लगाइनु, र यसअघि आफूमाथि भएको भौतिक आक्रमणको प्रभाव अझै सेलाउन नपाउँदै उनी अचानक विदेश उडेपछि यो घटनाले कांग्रेसभित्र ठूलो राजनीतिक सन्देश दिएको छ। बुधबार राति ११ः३० बजेको उडानबाट उनी चुपचाप सिंगापुर प्रस्थान गरे। यसले पार्टीभित्र मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमा समेत यसको विषयमा चासो छ।
कांग्रेसका एक उच्च स्रोतका अनुसार देउवा मात्र होइन, उनका निकटतम स्वकीय सचिव तथा भतिज भानु देउवा पनि सँगै विदेश गएका थिए। यसअघि उनकी पत्नी आरजू राणा देउवा भने केही समयअघि नै भारत पुगेकी थिइन्। कांग्रेस वृत्तमा यो यात्रालाई सामान्य विदेश भ्रमणको रूपमा मात्र नहेरी गम्भीर राजनीतिक संकेतका रूपमा विश्लेषण गरिँदैछ। स्रोतहरूका अनुसार परिवारका अन्य सदस्यहरू समेत यतिबेला देशबाहिर रहनुले परिस्थितिलाई अझ असामान्य बनाएको छ।
देउवाका अर्का भतिज प्रकाश देउवा ‘जेन्जी आन्दोलन’पछि अमेरिका पुगेका थिए र हालसम्म फर्किएका छैनन्। प्रदेश सभामा निर्वाचित भएर मन्त्रीसमेत बनिसकेका उनी मुख्यमन्त्री बन्ने प्रयासमा परिवारबाट अपेक्षित समर्थन नपाएपछि असन्तुष्ट बनेको चर्चा कांग्रेसभित्रै चल्दै आएको थियो। यही असन्तुष्टि निर्वाचनमा समेत देखिएको छ। आफूलाई मत दिएका मतदाताहरूको निर्वाचनमा पनि उनी उपस्थित नहुनुले देउवा परिवारभित्रैको राजनीतिक असन्तुलन उजागर भएको टिप्पणी कांग्रेसका नेताहरूले निजी रूपमा गर्दै आएका छन्।
यस्तै, देउवाका छोरा जयवीर देउवा पनि देशबाहिर छन्। ०८० माघ २१ गते बुढानीलकण्ठमा भव्य विवाह गरेका जयवीर भदौ २३ र २४ को जेनजी आन्दोलन अघि नै नेपाल छाडेर विदेश गएका थिए। कांग्रेसका पुराना नेताहरूका अनुसार देउवा परिवारले यसअघि कुनै पनि निर्वाचनमा यसरी सामूहिक रूपमा दूरी बनाएको इतिहास छैन।
राजनीतिक रूपमा अझ चासोको विषय भनेको, २०४८ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका देउवाले यसपटक अन्तिम पटक चुनाव लड्ने इच्छा सार्वजनिक गरे पनि टिकट नै नपाउनु हो। पार्टीको विशेष महाधिवेशनमार्फत उनलाई सभापति पदबाट हटाइएपछि उनीसँग निकट मानिएका धेरै नेताहरूलाई समेत टिकटबाट वञ्चित गरिएको थियो। यही घटनाक्रमपछि देउवा भित्रभित्रै रुष्ट भएको र पार्टी गतिविधिबाट क्रमशः टाढिँदै गएको कांग्रेस वृत्तमा चर्चा चलिरहेको थियो।
कार्यकर्ताहरूले आमसभाहरूमा उनलाई देख्न चाहेको भए पनि पार्टी नेतृत्वले औपचारिक संवाद नै नगरेको आरोप देउवा पक्षबाट लाग्दै आएको छ। निर्वाचन आउनु भन्दा करिब एक साता अघि उनी चुपचाप विदेश पुग्नुले पार्टीभित्रको विवाद अझै समाधान नभएको स्पष्ट संकेत दिएको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ। कांग्रेस उच्च स्रोतहरू भने देउवा विदेशमै बसेर नेपालको राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेको र आवश्यक रणनीतिक तथा कूटनीतिक छलफलहरू गरिरहेको दाबी गर्छन्।
यद्यपि पार्टी नेतृत्वका केही व्यक्तिहरूले भने सार्वजनिक रूपमा फरक दाबी गरेका छन्। कांग्रेस पार्टी कार्यालयका निवर्तमान मुख्यसचिव तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले देउवाले प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई जिताउन कार्यकर्ताहरूलाई निर्देशन दिइरहेको बताएका छन्। उनका अनुसार देउवालाई भेट्न दैनिक ठूलो संख्यामा नेता–कार्यकर्ता पुग्ने गरेका थिए र उनले उनीहरूलाई गाउँ फर्केर कांग्रेसलाई जिताउन सक्रिय हुन आग्रह गर्दै आएका थिए।
तर यथार्थमा भने परिस्थिति त्यति सहज देखिँदैन। उपचारका लागि विदेश गएको भनिए पनि कांग्रेसभित्रका धेरै नेताहरू यसलाई ‘निर्वाचनबाट दूरी राख्ने राजनीतिक संकेत’ का रूपमा बुझिरहेका छन्। अझ महत्वपूर्ण कुरा, दशकौँदेखि आफ्नो गढ मानिएको डडेल्धुराको निर्वाचनबारे पनि देउवाले सार्वजनिक रूपमा कुनै धारणा व्यक्त नगर्नुले पार्टीभित्रका शक्ति संघर्षलाई झन् प्रस्ट बनाएको छ।
कांग्रेसभित्र अहिले सबैभन्दा ठूलो प्रश्न यही बनेको छ— पार्टीको नेतृत्व परिवर्तनसँगै देउवाको भूमिका अब के हुनेछ? चुनावी मैदानबाट अनुपस्थित रहँदा उनले आफ्ना समर्थकहरूलाई कस्तो संकेत दिन खोजिरहेका छन? र यो कदम केवल असन्तुष्टिको अभिव्यक्ति हो कि आगामी राजनीतिक समीकरणका लागि तयार गरिएको रणनीतिक चाल?
राजनीतिक विश्लेषकहरूका अनुसार यो घटना नेपाली कांग्रेसभित्र दशकौँदेखि स्थापित शक्ति संरचनाको भूकम्पीय परिवर्तनको संकेत हुन सक्छ। देउवा विदेशमा रहँदै नेपालको राजनीति नियालिरहेका छन् भन्ने दाबीहरू बाहिरिए पनि वास्तविकता के हो भन्ने कुरा भने आगामी चुनावी परिणाम र त्यसपछि हुने राजनीतिक समीकरणले मात्रै स्पष्ट पार्नेछ। अहिलेका लागि भने कांग्रेसभित्र एउटा युगको अन्त्यको संकेतजस्तो देखिने यो घटनाले पार्टीभित्र गहिरो तरंग पैदा गरिसकेको छ।
