टिकटकर तुलसा अधिकारी झनै आक्रामक: बलात्कारको मुद्दा हाल्ने धम्कीदेखि ‘अंश युद्ध’को घोषणासम्म
काठमाडौँ– देशमा एकातर्फ चुनावी सरगर्मी दिनप्रतिदिन चर्किंदै गएको छ भने अर्कोतर्फ सामाजिक सञ्जाल, विशेषगरी त्ष्पत्यप मा व्यक्तिगत सम्बन्ध र आरोप–प्रत्यारोपले नयाँ किसिमको बहस सिर्जना गरिरहेको छ।
यही टिकटके बहसको केन्द्रमा अहिले तुलसा अधिकारी पुगेकी छन्, जसले एक विवाहित व्यवसायीसँग आफ्नो सम्बन्धलाई कानुनी लडाइँमा रूपान्तरण गर्ने घोषणा गर्दै ‘अंश दाबी’ गर्ने नयाँ बयान सार्वजनिक गरेकी छन्।
पछिल्लो घटनाक्रम अनुसार तुलसा अधिकारीले ‘चिमोरिया’ थरका विवाहित व्यवसायीसँग अदालतमार्फत सम्बन्ध स्थापना गरी अंश लड्ने दाबी गरेकी हुन्। उनीमाथि यसअघि सोही व्यवसायीले आफूलाई बलात्कारमा फसाइदिने धम्की दिँदै पटक–पटक गरी साढे चार करोड रुपैयाँ असुलेको आरोपसहित अपराधिक लाभको जाहेरी दिएका थिए।
तुलसा अहिले चीनमा छिन र त्यहाँबाटै टिकटक भिडियोमार्फत आफ्नो पक्ष सार्वजनिक गर्दै आइरहेकी छन्। यसअघि सार्वजनिक भएको एउटा भिडियोमा तुलसाले आफू र ती व्यवसायीबीच सम्बन्ध रहेको स्वीकार गर्दै त्यसको पृष्ठभूमिमा गम्भीर आरोप पनि लगाएकी थिइन्।
उनका अनुसार ती व्यक्तिले आफ्नी पत्नी चौथो चरणको क्यान्सरबाट पीडित रहेको र धेरै दिन बाँच्ने सम्भावना नरहेको भन्दै भावनात्मक रूपमा फकाएर आफूलाई सम्बन्धमा तानेको दाबी गरेकी छन्। त्यसक्रममा उनले ‘कसैलाई झूट बोलेर नियतपूर्वक सम्बन्ध बनाउनु पनि बलात्कारकै श्रेणीमा पर्न सक्छ’ भन्ने आशय व्यक्त गर्दै जबरजस्ती करणीको मुद्दा हाल्ने संकेतसमेत दिएकी थिइन्।
तर पछिल्लो भिडियोमा भने उनले रणनीति बदलेको देखिन्छ। बलात्कारको मुद्दा दर्ता गर्नेभन्दा पनि आफू कानुनी रूपमा सम्बन्ध स्थापित गरेर अंशको दाबी गर्ने तयारीमा रहेको उनको भनाइ छ। उनले सार्वजनिक रूपमा भनेकी छन्– अदालतमा निवेदन दिई सम्बन्ध स्थापना गराएर विधिवत अंश लड्ने योजनामा छु। उनले ‘ती व्यक्तिकी पत्नीले पाउने बराबरको हिस्सा’ दाबी गर्ने बताएकी छन्।
आफ्नो भनाइमा उनले कानुनमै यस्तो व्यवस्था रहेको दाबी गर्दै आफूलाई ‘रेप थ्रेट’ दिन आवश्यक नभएको र आफ्नो लक्ष्य स्पष्ट रूपमा अंश प्राप्त गर्नु भएको उल्लेख गरेकी छन्। तुलसाले अर्को गम्भीर आरोप पनि लगाएकी छन्। उनका अनुसार आफूले अंशको मुद्दा दर्ता गर्ने सम्भावना देखेपछि ती व्यवसायीले पहिले नै आफ्नी पत्नीमार्फत अंश मुद्दा हालिसकेको दाबी गरेकी छन्।
साथै उनले आफूले पहिले नै आपसी सहमतिमा सम्बन्ध अन्त्य गरेको, लिखित कागजसमेत तयार गरेको र त्यसपछि पनि आफूविरुद्ध निरन्तर आरोप लगाइएकाले अब कानुनी रूपमा लड्ने निर्णयमा पुगेको बताएकी छन्।
यस घटनाले सामाजिक सञ्जालमा तीव्र बहस सिर्जना गरेको छ। एक पक्षले यसलाई ब्ल्याकमेलिङको प्रकरणका रूपमा चित्रण गरिरहेको छ भने अर्को पक्षले व्यक्तिगत सम्बन्ध, कानुनी अधिकार र सामाजिक सञ्जालको प्रभावबारे गम्भीर प्रश्न उठाइरहेको छ।
टिकटकमार्फत सार्वजनिक भएका बयानहरूले घटनालाई अझ जटिल र चर्चित बनाइरहेको छ, जसले व्यक्तिगत विवाद कसरी सार्वजनिक बहसमा रूपान्तरण हुन्छ भन्ने नयाँ उदाहरणसमेत प्रस्तुत गरेको छ।
