एक साता सप्तरी जिल्ला अदालतको नियमित न्यायिक कामकाज वन्द हुने

राजविराज— चुनावी गतिविधि तीव्र बन्दै गएको तथा सार्वजनिक विदाहरूको श्रृंखला परेकाले सप्तरी जिल्ला अदालतले एक सातासम्म नियमित न्यायिक कामकाज प्रभावित हुने गरी विशेष सूचना जारी गरेको छ।

अदालत प्रशासन शाखाले प्रकाशित गरेको सूचनाअनुसार फागु पूर्णिमा (होली) पर्व, प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल सरकारले दिएको सार्वजनिक विदा, शनिबार तथा अन्तर्राष्ट्रिय महिला दिवसका कारण अदालतको नियमित सेवा केही दिन सीमित रहने भएको हो।

अदालतले जारी गरेको सूचनामा फागुन १९ गतेदेखि २४ गतेसम्म अदालतको नियमित कामकाज सञ्चालन नहुने स्पष्ट पारिएको छ। तथापि, कानूनअनुसार अत्यावश्यक प्रकृतिका कार्य भने पूर्ण रूपमा बन्द नहुने जनाइएको छ।

विशेषगरी पक्राउ अनुमति दिने जस्ता संवेदनशील न्यायिक कार्यहरू भने बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सीमित रूपमा सञ्चालन गरिने अदालतले जनाएको छ। यस अवधिमा अन्य नियमित मुद्दा दर्ता, सुनुवाइ, प्रशासनिक प्रक्रिया तथा दैनिक कार्यहरू भने स्थगित रहने उल्लेख गरिएको छ।

सूचनामा उल्लेख गरिएअनुसार फागुन १९ गते होली पर्वका कारण सार्वजनिक विदा परेको छ। फागुन २० गतेदेखि २२ गतेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ।

फागुन २३ गते शनिबार परेको छ भने फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पुनः सार्वजनिक विदा रहेकाले उक्त अवधिभर अदालतको सेवा सीमित रहने भएको हो।

अदालत प्रशासन शाखाका शाखा अधिकृत उमेश अर्यालद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबै पक्ष—वकिल, सेवाग्राही, सरकारी निकाय तथा सरोकारवालाहरूलाई समयमै जानकारी लिन आग्रह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट