भारतीय डिब्बा गाडीको ‘ब्रेक फेल’ हुँदा भएको थियो धुनिवेशीको चालिसेमा भयानक दुर्घटनाः सात सवारी चकनाचुर, दुईको मृत्यु

काठमाडौँ– धादिङको पृथ्वीलोकमार्ग अन्तर्गत धुनिवेशी नगरपालिका–६, चालिसेमा शनिबार साँझ ७ वटा सवारी साधन एकआपसमा ठोक्किएको घट्नामा २ जनाको मृत्यु भएको छ भने ३५ जना घाईते भएका छन्। यो भयावह दुर्घटनामा ७० जना यात्रु परेका थिए।

प्रहरीका अनुसार भारतबाट काठमाडौं आउँदै गरेको एनएल–०१–एबी–४६५४ नम्बरको ठूलो ‘डिब्बा गाडी’ को ब्रेक फेल भएपछि दुर्घटना भएको हो। गाडीले नियन्त्रण गुमाएपछि अनियन्त्रित रूपमा अगाडिका र छेउछाउका सबै सवारी ठोक्दै अघि वढेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

अनियन्त्रित डिब्बा गाडीले ठोक्काएका सवारीमध्ये गोरखाबाट काठमाडौँ आउँदै गरेको बा १ प ९१७ नम्बरको यात्रुबाहक बस, ग १ ख ८५५१ नम्बरको गजुरीतर्फ जाँदै गरेको अर्को बस, भारतीय यात्रुबाहक जिजे ०३ एजेड ३२३१ नम्बरको बस, श्री सेकन्डरी स्कुल रेडक्रस ग्रामको बा.प्र.०६–००१ ग ००११ नम्बरको स्कुल बस, ना ४ ख ७१५ नम्बरको ट्रक र लु ९५ प ३०७ नम्बरको मोटरसाइकल थिए। भीषण ठक्करमा परेका सवारीहरू सडकमै चकनाचुर बनेका थिए।

दुर्घटनामा मोटरसाइकल चालक, धादिङको थाक्रेका सेख अलि गम्भीर घाइते भएर काठमाडौँ टिचिङ अस्पताल पुगे पनि उपचारका क्रममा साँझ सवा ६ निधन भएको प्रहरीले पुष्टि गरेको छ। त्यसैगरी पहिचान नखुलेका एक पुरुषको पनि मृत्यु भएको छ। दुवै शव टिचिङ अस्पतालमा राखिएको छ।

गोरखाका विनोद पोखरेल, मिना पनेरु, इन्दिरा देवकोटा र काठमाडौंकी सिता पोखरेललाई टाउको तथा हातखुट्टामा चोट लागेर ट्रमा सेन्टरमा उपचार भइरहेको छ। लमजुङका अजय घिमिरे, उनकी श्रीमती सूर्य घिमिरे र छोरा कुशल घिमिरे उपचारपछि डिस्चार्ज भएका छन्।

चितवनको स्कुल बसमा सवार शिक्षक, विद्यार्थी, अभिभावक र कर्मचारी गरी दुई दर्जनभन्दा बढी घाइते छन्। तीमध्ये गोपी विश्वकर्मा, चालक उदयबहादुर थापा, सुवित थिङ, सबिता थिङ, समिर मगर, कमला लामिछाने, शिव लामिछाने, निशान गुरुङ, प्रतिमा मगरलगायतको अवस्था सामान्य रहे पनि केहीलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ।

यसबाहेक गोरखाका राजु कार्की, सपना श्रेष्ठ, मनिष खड्का, अमूल्य लामिछाने, अर्चना खड्का, भगवती घिमिरेसहित दर्जनौँ यात्रु विभिन्न चोटपटकसहित उपचाररत छन्। दुर्घटनामा चीनका नागरिक– होउ लेई, लिया शुरोङ, ताङ दाएन र क्वीजे जियाङ्ग्यान पनि घाइते भएका छन्।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा उद्धार टोली खटिएको थियो। ट्राफिक र स्थानीयको सहयोगमा घाइतेलाई एम्बुलेन्समार्फत काठमाडौँ र धादिङस्थित अस्पतालमा पु¥याइएको थियो। जमिनमा चिप्लिएर पल्टिएका बसहरू, ट्रक र चकनाचुर मोटरसाइकल हटाउन समय लागेको कारण पृथ्वी राजमार्ग राति ११ बजेमात्र दुईतर्फी सञ्चालनमा आएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट