घरेलु विवादमा श्रीमतीमाथि पेट्रोल छर्केर आगजनी, श्रीमान् पक्राउ

सुनसरी— सुनसरीको दुहबी नगरपालिकामा घरेलु विवादमा एक व्यक्तिले आफ्नै श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। घटनामा गम्भीर घाइते भएकी महिलाको विराटनगरमा उपचार भइरहेको छ भने आरोपित श्रीमान् प्रहरी नियन्त्रणमा छन्।

दुहबी नगरपालिका–३ मुक्तिनाथ मन्दिर क्षेत्रका ३३ वर्षीय मुस्तफा सेखले बिहीबार घरायसी विवादका क्रममा २८ वर्षीया श्रीमती खुस्बु खातुनको शरीरमा पेट्रोल खन्याएर आगो सल्काएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

विवाद बढ्दै गएपछि सेखले आक्रोशमा यस्तो कदम चालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। घटनाको जानकारी पाएलगत्तै छिमेकी तथा स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दुहबीबाट सई शिव नारायण माझीको कमाण्डमा खटिएको दुई सदस्यीय टोलीले घाइते महिलाको तत्काल उद्धार गरेको थियो।

उद्धारपछि उनलाई नजिकैको सामुदायिक अस्पताल लगिएको थियो। आगोले जलेर अवस्था गम्भीर बनेपछि सामुदायिक अस्पतालमा उपचार सम्भव नभएकाले बिहीबार साँझ उनलाई थप उपचारका लागि विराटनगरस्थित अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ। चिकित्सकका अनुसार पीडित महिलाको दुवै हात, घाँटी, छाती र अनुहार जलेको छ।

घटनापछि प्रहरीले मुस्तफा सेखलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा राखेर थप अनुसन्धान अघि बढाएको छ। घटनाको विस्तृत विवरण र अभियोगबारे अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट