केटी जिस्क्याएको आरोपमा ४ विद्यार्थी निलम्वन गरेपछि विराटनगरको मनमोहन पोलिटेक्निक क्याम्पसमा तोडफोड
विराटनगर — मोरङको बुढीगंगास्थित मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गतको पोलिटेक्निक क्याम्पसमा सहपाठी छात्रा जिस्क्याएको आरोपमा ४ जना छात्र निलम्बनमा परेपछि स्थिति तनावपूर्ण वनेको छ।
निलम्बनमा परेका विद्यार्थीहरुसहित ‘निलम्बन फुकुवा’को माग गर्दै आन्दोलनमा उत्रिएका छन्। जसका कारण स्थिती अशान्त भएको छ। आन्दोलनकारी विद्यार्थीले प्रदर्शन, तालाबन्दी र तोडफोड गरेपछि क्याम्पस परिसर केही समय अशान्त बनेको हो।
घटनाको सुरुवात चार दिनअघि भएको हो। पोलिटेक्निकमा अध्ययनरत छात्राहरूले आफूहरूलाई केही छात्रहरूले जिस्काउने, असहज बनाउने र अनुशासनविपरीत व्यवहार गर्ने गरेको गुनासो गर्दै विश्वविद्यालय प्रशासनसँग सहयोग मागेका थिए।
छात्राहरूको अनुरोधपछि प्रशासनले प्रारम्भिक छानबिन गर्दै संलग्न देखिएका छात्रहरूका अभिभावकसँग समेत छलफल गरेको थियो। छलफलपछि प्रशासनले अनुशासन उल्लंघन भएको प्रारम्भिक आधार देखिएको भन्दै चार जना छात्रलाई १५ दिनका लागि अस्थायी रूपमा निलम्बन गर्ने निर्णय गरेको थियो।
प्रशासनका अनुसार निष्पक्ष अनुसन्धान सहज बनाउन अस्थायी निलम्बन गरिएको हो। तर निलम्बनको निर्णयपछि विवाद चर्कियो। निलम्बित विद्यार्थी तथा उनीहरूको समूहले निलम्बन फुकुवा हुनुपर्ने माग गर्दै शुक्रबार बिहानदेखि क्याम्पसमा प्रदर्शन सुरु गरे। प्रदर्शनका क्रममा कलेजको मुख्य गेटमा तालाबन्दी गरियो भने केही संरचनामा तोडफोड र आगजनीको प्रयाससमेत भएको जनाइएको छ।
प्रदर्शन उग्र बन्दै जाँदा क्याम्पस परिसरका केही झ्यालका सीसा फुटेका छन्। यद्यपि, त्यसबाहेक ठूलो भौतिक क्षति नभएको विश्वविद्यालय स्रोतले जनाएको छ। तनाव बढेपछि क्याम्पसमा प्रहरी परिचालन गरिएको थियो।
मोरङ प्रहरीका डिएसपी कोपिला चुँडालका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको हो। ‘विद्यार्थी आन्दोलनका कारण केही समय अवस्था तनावपूर्ण बनेको थियो, अहिले स्थिति छ,’ उनले भनिन्। उनका अनुसार थप विषय वार्ता र संवादमार्फत समाधानतर्फ लैजाने तयारी भइरहेको छ।
विश्वविद्यालय प्रशासनले विद्यार्थी, अभिभावक र सरोकारवालासँग पुनः छलफल गर्ने तयारी गरेको जनाएको छ। दोषी ठहर भए वा नभएको विषय छानबिन समितिको प्रतिवेदन आएपछि मात्रै अन्तिम निर्णय गरिने प्रशासनको भनाइ छ।

