शीतलहरको चपेटामा सप्तरीः राजविराजसहित पाँच पालिकामा विद्यालय बन्द

राजविराज— बढ्दो शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका विभिन्न स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्य जोखिममा पर्न सक्ने भन्दै राजविराजसहित पाँच पालिकामा विद्यालयमा बिदा दिइएको हो।

राजविराज नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा जारी सूचनाअनुसार नगरपालिकाभरिका सबै सामुदायिक तथा संस्थागत विद्यालय पुस १६ देखि १८ गतेसम्म तीन दिन बन्द रहनेछन्। चिसोको तीव्रता बढ्दै गएकाले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर बिदा दिइएको सूचनामा उल्लेख छ।

त्यसैगरी, महादेवा गाउँपालिकाले पनि पुस १६ देखि १८ गतेसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष सुनिलकुमार मण्डलले जारी गरेको सूचनामा अत्यधिक चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावनाका कारण बिदा दिनुपरेको जनाइएको छ।

अग्निसाइर कृष्णासवरण गाउँपालिकाले समेत तीन दिनका लागि विद्यालय बन्द गरेको छ। कार्यवाहक अध्यक्ष कल्पनाकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रकुमार यादवद्वारा हस्ताक्षरित सूचनाअनुसार पालिकाअन्तर्गतका सामुदायिक, धार्मिक तथा संस्थागत सबै विद्यालयमा पुस १६ देखि १८ गतेसम्म बिदा दिइएको हो।

यसअघि नै डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाले चिसोको प्रभाव बढेको भन्दै पुस १८ गते शुक्रबारसम्मका लागि पाँच दिन विद्यालय बन्द गरिसकेका छन्। त्यस्तै बोदेवरसाइन नगरपालिकाले पनि पुस ९ देखि १३ गतेसम्म जाडो बिदा दिँदै सबै विद्यालय बन्द गराएको थियो।

शीतलहरको प्रभावले सप्तरीमा बिहान–बेलुका बाक्लो हुस्सु लाग्ने, दिउँसो चिसो हावा चल्ने अवस्था देखिएको छ। यसका कारण बालबालिका, वृद्धवृद्धा तथा पशुचौपाया समेत प्रभावित भएका छन्। चिसो बढेसँगै जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप पनि बढ्दै गएको छ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका अनुसार पछिल्ला दिनहरूमा रुघाखोकी, ज्वरो, दम तथा श्वासप्रश्वाससम्बन्धी समस्याका बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ। जिल्लाका अन्य स्वास्थ्यचौकीहरूमा पनि चिसोका कारण बिरामी आउने क्रम तीव्र बनेको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।

स्थानीय प्रशासनले अत्यावश्यक काम बाहेक अनावश्यक रूपमा घरबाहिर ननिस्कन, न्यानो कपडा प्रयोग गर्न तथा बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्न नागरिकलाई आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट