प्रेमीकाले अर्कैसँग विवाह गरेपछि फेसबुकमार्फत अश्लील तस्बिर सार्वजनिक, मुद्दा दर्ता
काठमाडौँ — एक युवतीको अश्लील तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी चरित्र हत्या गरेको अभियोगमा डडेल्धुराका एक युवकविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकील कार्यालयले डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका–२ का २२ वर्षीय हरिशप्रसाद भट्टविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा अभियोगपत्र दायर गरेको हो।
१२ माघमा दायर अभियोगपत्र अनुसार भट्ट र पीडित युवतीबीच फेसबुकमार्फत चिनजान भएको थियो। त्यसपछि उनीहरूबीच प्रेम सम्बन्ध विकास भएको र विवाह गर्ने आश्वासन दिँदै भट्टले युवतीका निजी तथा अश्लील तस्बिरहरू आफ्नो मोबाइलमा खिचेर राखेको उल्लेख छ। तर पछि युवतीको विवाह अर्कै व्यक्तिसँग तय भएको जानकारी पाएपछि भट्टले प्रतिशोध साध्ने उद्देश्यले ती तस्बिरहरूको दुरुपयोग गरेको अभियोगमा उल्लेख गरिएको छ।
अभियोग अनुसार भट्टले ‘सम्झना जोशी’ (परिवर्तित नाम) नामक नक्कली फेसबुक आईडी प्रयोग गरी ती तस्बिरहरू युवतीका आफन्त तथा चिनजानका व्यक्तिहरूलाई पठाएका थिए। साथै ती तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरी युवतीको सामाजिक प्रतिष्ठा र चरित्रमा गम्भीर आघात पु¥याएको आरोप छ।
पीडितले दिएको जाहेरीका आधारमा गरिएको अनुसन्धानबाट भट्टले मेसेन्जरमार्फत तस्बिर पठाउँदै युवतीलाई निरन्तर मानसिक तनाव दिएको र विवाह गरेमा ‘बर्बाद गरिदिने’ भन्दै धम्कीसमेत दिएको खुलेको सरकारी वकील कार्यालयले जनाएको छ। अभियोगपत्रमा यस कार्यलाई योजनाबद्ध र प्रतिशोधजन्य अपराधका रूपमा उल्लेख गरिएको छ।
सरकारी वकील कार्यालयले भट्टविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार सजाय माग दाबी गरेको छ। उक्त दफाअनुसार दोषी ठहरिएमा एक लाख रुपैयाँसम्म जरिबाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ। साथै पीडितलाई पुगेको मानसिक तथा सामाजिक क्षतिका लागि क्षतिपूर्ति उपलब्ध गराउन र अपराध पीडित संरक्षण कोषमा रकम जम्मा गराउनसमेत माग गरिएको छ।
हाल प्रतिवादी हरिशप्रसाद भट्ट फरार रहेका छन्। अदालतले उनलाई उपस्थित गराउन म्याद जारी गरी कानुनी प्रक्रिया अगाडि बढाउने आदेश दिएको छ। यद्यपि भट्टमाथि लगाइएका आरोपहरू अदालतबाट प्रमाणित हुन बाँकी नै छन्।

