विवाहेत्तर सम्बन्धको पर्दाफास भएपछि दुबईबाट प्रेमी बोलाएर श्रीमान र सासुको निर्मम हत्या

माघ १४ गते मध्यराती बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडिहमा एकाएक आतंकित भयो। गहिरो निद्रामा रहेका गाउँलेहरू अचानक एउटा बालकको करुण चिच्याहट सुनेर ब्युँझिए। आवाज जगरूक मण्डलको घरबाट आइरहेको थियो। केहीबेरमै गाउँलेहरू दौडिँदै त्यहाँ पुग्दा देखिएको दृश्य रगत र हिंसाले भरिएको थियो।

घरको आँगन र भित्ताभरि रगतका छिटा थिए। शौचालय नजिकै ४६ वर्षीया सुमित्रा मण्डल रक्ताम्य अवस्थामा लडिरहेकी थिइन्। उनको घटनास्थलमै मृत्यु भइसकेको थियो। घरभित्रै ३१ वर्षीय छोरा रामईश्वर मण्डल पनि चक्कु प्रहारबाट ढलेका थिए। उनको पनि प्राण त्यहीँ गएको थियो।

घरका मुखिया जगरूक मण्डल, उनकी २१ वर्षीया छोरी रिना कुमारी र २३ वर्षीया बुहारी मनिता देवी घाइते अवस्थामा फेला परे। गाउँलेहरूले तत्काल प्रहरीलाई खबर गरी तीनै जनालाई उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍याए।

राति करिब २ बजे घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवर स्वयं टोलीसहित घटनास्थल पुगे। मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइयो। बिहानै तालिमप्राप्त कुकुरसहित प्रहरीले अनुसन्धान अघि बढायो। घरदेखि बाहिरसम्म रगतका धब्बा देखिएकाले आक्रमणकारी पनि घाइते भएको अनुमान गरिएको थियो।

प्रहरी अनुसन्धान क्रमशः गहिरिँदै जाँदा घटनाको रूप फेरियो। प्रारम्भिक रूपमा ‘अपरिचित समूह’ को आक्रमण भनिए पनि तथ्यहरू परिवारभित्रैको षड्यन्त्रतर्फ इशारा गर्न थाले। बिहानै प्रहरीले दुई जनालाई नियन्त्रणमा लियो। पक्राउ पर्नेमा मृतक रामईश्वरकी श्रीमती मनिता देवी मण्डल र बाराको प्रसौनी गाउँपालिका–७ का २७ वर्षीय धर्मेन्द्र महतो धानुक थिए।

धर्मेन्द्र वैदेशिक रोजगारीका लागि दुबईमा रहेका थिए र माघ ११ गते मात्रै नेपाल फर्किएको खुलेको छ। नेपाल फर्किएपछि उनी परिवारको सम्पर्कमा नगई सिधै मनितासँग सम्पर्कमा पुगेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार मनिता र धर्मेन्द्रबीच विवाहेतर सम्बन्ध थियो। यही सम्बन्धका कारण परिवारमा पटक–पटक विवाद हुने गरेको देखिएको छ। अन्ततः उनीहरूले परिवारै सखाप पार्ने योजनासहित हत्या गरेको प्रहरीको निष्कर्ष छ।

अनुसन्धानबाट खुलेअनुसार घटनाको राति घरको विद्युत् लाइन काटिएको थियो। त्यसपछि मनिताले शौचालय जान सासु सुमित्रालाई बाहिर ल्याइन्। बाहिर लुकेर बसेका धर्मेन्द्रले चक्कु प्रहार गरी सुमित्राको हत्या गरे। त्यसपछि उनी घरभित्र छिरेर रामईश्वरमाथि आक्रमण गरे। जगरूक र छोरी रिनामाथि पनि धारिलो हतियार प्रहार गरियो।

अस्पतालमा रहेकी घाइते रिना कुमारीले भाउजुले नै बाहिरबाट व्यक्ति बोलाएर योजनाबद्ध हमला गराएको दाबी गरेकी छन्। उनका अनुसार उनको कोठा बाहिरबाट चुकुल लगाइएको थियो। बाहिर निस्केपछि अज्ञात पुरुषले घाँटी समातेर चक्कु प्रहार गर्न खोज्दा उनले प्रतिकार गरिन। त्यस क्रममा हातमा चोट लागेको थियो। उनले भाउजुले समेत आफूलाई कपाल समातेर घिसारेको आरोप लगाएकी छिन्।

घटनापछि धर्मेन्द्र भारततर्फ भाग्ने क्रममा विश्रामपुर क्षेत्रबाट पक्राउ परेका थिए भने मनितालाई उपचारपछि अस्पतालबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दुवै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

एकै परिवारका दुई जनाको ज्यान लिने र बाँकी सदस्यलाई घाइते बनाउने यो घटनाले सिंगो गाउँ स्तब्ध बनेको छ। बाहिरबाट आएको ‘हत्यारा समूह’ को कथा झुठ प्रमाणित भएपछि प्रहरी अनुसन्धानले घरभित्रैको विश्वासघात र योजनाबद्ध अपराध उजागर गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट