अछाममा ढलेका पत्रकारको काठमाडौँमा मृत्युः सिटौलाको अन्त्यले सम्झायो रविका ड्राईभरको मृत्यु

काठमाडौँ— चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष तथा सक्रिय पत्रकार दिनेश सिटौलाको असामयिक निधनले सञ्चारकर्मी वृत्त मात्र होइन, राजनीतिक र सामाजिक क्षेत्रमै गहिरो तरंग पैदा गरेको छ।

चुनावी प्रचारकै क्रममा अछाममा अचानक बेहोस भएर ढलेका सिटौला ४८ घण्टासम्म जीवन–मृत्युको दोसाँधमा संघर्ष गरेपछि काठमाडौंस्थित ग्राण्डी अस्पतालमा निधन भएको आधिकारिक घोषणा गरिएको छ। तर मृत्युको कारण र उपचार प्रक्रियालाई लिएर उठेका प्रश्नहरूले घटनालाई साधारण स्वास्थ्य दुर्घटनाभन्दा बाहिरको विषय बनाइदिएको छ।

अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार सिटौलालाई अछाममा अचानक स्वास्थ्य समस्या देखिएपछि सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर तत्काल भेन्टिलेटरमा राखी सघन उपचार सुरु गरिएको थियो। चिकित्सकहरूको भनाइमा उनलाई ‘सब–अरैक्नोइड हेमरेज’ अर्थात् मस्तिष्कभित्र रक्तस्राव भएको थियो।

गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टासम्म न्यूरोलोजिकल अवस्थामा कुनै सुधार नदेखिएको र मस्तिष्कको कार्यक्षमता फर्किने संकेतसमेत नआएको अस्पतालले जनाएको छ। एप्निया परीक्षणपछि स्वतः श्वासप्रश्वास बन्द भइसकेको पुष्टि गर्दै दिउँसो १२ः४५ बजे निधन घोषणा गरिएको थियो।

तर अस्पतालको औपचारिक व्याख्याले मात्र प्रश्नहरू मेटिएका छैनन्। परिवारजनले उपचारको क्रममा वास्तविक अवस्था समयमै जानकारी नगराइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले मस्तिष्कघात भनिए पनि शरीरका अन्य भागमा चोटको संकेत देखिएको दाबी गर्दै पारदर्शी छानबिनको माग गरेका छन्।

यही असन्तुष्टिले घटनालाई थप रहस्यमय बनाएको छ। ४४ वर्षीय सिटौला पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को चुनावी टिमसँग नजिकिएर काम गरिरहेका थिए। अछाममा चुनाव प्रचारकै सिलसिलामा उनीसँगै पुगेका बेला एक्कासी बेहोस भएर ढलेका थिए। उनलाई तत्काल हवाई उद्धार गरी राजधानी ल्याइएको थियो।

यसअघि पनि उनले बालेनपत्नी सविना काफ्लेको लगानी रहेको भनिएको चलचित्रमा मिडिया कोर्डिनेटरको भूमिका निर्वाह गरेका थिए। अर्थात् उनी पत्रकार मात्र होइन, राजनीतिक–सांस्कृतिक गतिविधिमा पनि सक्रिय रूपमा जोडिएका व्यक्ति थिए।

यही पृष्ठभूमिले उनको निधनलाई लिएर थप चासो र जिज्ञासा बढाएको छ। घटनाको दिन वास्तवमा के भयो, कसरी अचानक अवस्था गम्भीर बन्यो, स्वास्थ्य समस्या पूर्वसंकेत थियो कि अन्य कारण ? यी प्रश्नहरूको स्पष्ट उत्तर अझै सार्वजनिक भएको छैन। निर्देशक अर्जुन घिमिरेलगायत घटनास्थलमा रहेका व्यक्तिहरू मौन रहँदा जिज्ञासा अझ बाक्लिएको छ।

सिटौलाको मृत्यु अर्को कारणले पनि चर्चा र शंकाको घेरामा परेको छ। यसअघि ०८० सालको उपनिर्वाचनका बेला पनि रास्वपाकै चुनाव प्रचारसँग जोडिएका दिलबहादुर थापाको रहस्यमय मृत्यु भएको थियो। रास्वपा सभापति रवि लामिछानेका ड्राईभर रहेका थापा राती सुतेको घरको छतबाट खसेको भनिए पनि उक्त घटना शंकाश्पद ठान्नेहरु धेरै छन्।

अहिले फेरि चुनावी अभियानकै क्रममा अर्का सक्रिय सदस्यको अकाल मृत्यु भएपछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म तुलना र प्रश्नहरू उठ्न थालेका छन्।

यद्यपि, कुनै पनि निष्कर्षमा पुग्नुअघि तथ्यगत छानबिन आवश्यक छ। तर पारदर्शिता अभाव र सूचना लुकाइएका जस्तो देखिने व्यवहारले अविश्वास बढाउनु स्वाभाविक हो। सार्वजनिक जीवनसँग जोडिएका व्यक्तिको मृत्यु हुँदा आधिकारिक र विश्वसनीय जानकारी दिनु सम्बन्धित पक्षको दायित्व हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट