छोराको रगतको हिसाव माग्दै गरेकी रचना खतिवडालाई रास्वपाले दियो सांसद उपहार, समानुपातिकमा सिफारिस

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फका सांसदहरूको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएको छ। आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले क्लस्टरअनुसार उम्मेदवारहरूको नाम टुंग्याएर आयोगमा पठाउने निर्णय गरेको हो।

उक्त सूचीमा जेन–जी आन्दोलनका क्रममा प्रहरी गोली लागेर ज्यान गुमाएका युवा रसिक खतिवडाकी आमा रचना खतिवडाको नाम पनि समेटिएको छ। रास्वपाले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका परिवारलाई प्रतिनिधित्व दिने सन्देशसहित रचना खतिवडालाई समानुपातिक सूचीमा समावेश गरेको बताइएको छ।

रास्वपाले रचना खतिवडासँगै जेन–जी आन्दोलनका अगुवा मानिने पुरुषोत्तम सुप्रभात यादवलाई पनि समानुपातिक सूचीमा राखेको छ। पार्टीले बुझाएको ५७ जनाको सूचीमा महिलाको स्पष्ट वर्चस्व देखिएको छ। सूचीमा ४८ महिला र ९ पुरुष समेटिएका छन्। महिलाको प्रतिनिधित्व बढाउने रणनीतिका कारण पार्टी सभापति रवि लामिछाने निकट मानिने केही व्यक्तिहरू सूचीबाट बाहिरिएका छन्। खस आर्य पुरुषतर्फ रमेश प्रसाईँ मात्र सूचीमा समावेश भएका छन्।

दलित क्लस्टरबाट रीमा विश्वकर्मा समेटिँदा चर्चित कलाकार प्रकाश सपुत भने सूचीबाट बाहिरिएका छन्। दलित समुदायको प्रतिनिधित्वका रूपमा प्रकाशचन्द्र परियारलाई समावेश गरिएको छ। सूचीमा केही विवादित नामहरू पनि समेटिएका छन्। खस आर्य क्लस्टरमा टीका (ज्वाला) सङ्ग्रौला समावेश भएकी छन्, जसलाई सभापति लामिछानेसँगको निकटताका आधारमा सूचीमा स्थान दिइएको भन्ने टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ।

यस क्लस्टरमा प्रतिभा रावल, विदुषी राणा, अनुष्का श्रेष्ठ, सुन्नीमा उदासलगायतका नामहरू पनि समेटिएका छन्। क्लस्टरगत संरचनाअनुसार खस आर्य समूहबाट १७ जना, आदिवासी जनजातिबाट १६ जना, मधेसी समुदायबाट ९ जना, दलित समुदायबाट ८ जना, थारु समुदायबाट ४ जना र मुस्लिम समुदायबाट ३ जना उम्मेदवार सूचीमा राखिएका छन्। मुस्लिम क्लस्टरमा समेटिएका तीनै जना महिला हुन्।

समानुपातिक सूचीमा आफ्नो नाम रहेको पुष्टि गर्दै रचना खतिवडाले आफूलाई राजनीतिमा आउन आग्रह पार्टी सभापति रवि लामिछानेले गरेको बताएकी छन्। उनका अनुसार छोराको न्यायका लागि आवाज उठाइरहन राजनीतिमा प्रवेश गर्नुपर्ने सुझाव लामिछानेले दिएका थिए।

रसिक खतिवडा काभ्रे जिल्लाका २२ वर्षीय युवा थिए। जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते प्रदर्शनमा सहभागी हुँदा प्रहरी गोली लागेर उनको मृत्यु भएको थियो। छोराको मृत्युपछि रचना खतिवडा निरन्तर न्यायको माग गर्दै सार्वजनिक रूपमा आवाज उठाउँदै आएकी छन्। आन्दोलनको त्यो घटनाले उनको जीवनको दिशा नै परिवर्तन गरिदियो।

त्यो दिन बिहान करिब साढे आठ बजेतिर रचना खतिवडा घरको भान्सामा खाना बनाइरहेकी थिइन्। उनका छोरा रसिक मोबाइलमा लुगा हेर्दै आमासँग सामान्य कुराकानी गरिरहेका थिए। केहीबेरपछि उनलाई साथीको फोन आयो र उनी बाहिर निस्किएर कुरा गरे। फर्किएपछि नुहाएर तयार भएका रसिकले आमासँग सनस्क्रिन लगाउने भन्दै तल झरेका थिए। केही समयपछि उनी फेरि माथि आए र हतारमा खाना मागे।

रसिकले त्यस दिन जेन–जी आन्दोलनमा जान लागेको बताए। ‘साथीहरू सबै जान्छन्, म पनि एकछिन पुगेर आउँछु, यो आन्दोलन हाम्रै भविष्यका लागि हो,’ उनले आमालाई भनेका थिए। रचनाले उनलाई नजान आग्रह गरिन्। तर रसिकले आन्दोलन आफ्नो पुस्ताका लागि भएको भन्दै दुई बजेभित्र फर्कने वाचा गरेर घरबाट निस्किए।

दुई जना साथी मोटरसाइकल लिएर घरमै आएका थिए। रसिक उनीहरूसँगै निस्किए। त्यो नै आमाछोराबीचको अन्तिम भेट सावित भयो। दिउँसो साढे एक बजेतिर रचनाले छोरालाई फोन गर्दा फोन उठ्यो, तर उताबाट मानिसहरूको होहल्ला मात्र सुनियो। त्यसपछि फोन लागेन।

बेलुकी चार बजेतिर रसिकका साथीहरू घर आएर उनको ज्याकेट र मोबाइल दिए। रसिक बाटोमै आउँदैछ भन्ने आश्वासन दिएर उनीहरू फर्किए। तर त्यो खबर झूटो सावित भयो। साँझ छ बजेसम्म पनि छोरा नआएपछि रचनाको मन अशान्त भयो।

राति करिब आठ बजेतिर विदेशमा रहेकी छोरीले भाइबरमार्फत एउटा भिडियो पठाइन्। भिडियो खोल्दा रसिक रगताम्मे अवस्थामा देखिन्थे र उनलाई सिपिआर दिइँदै थियो। त्यो दृश्य देखेपछि रचना चिच्याउँदै घरबाट बाहिर निस्किइन्।

उनी तत्काल अस्पतालतर्फ दौडिइन्। पहिले ट्रमा सेन्टर पुगिन् तर त्यहाँ रसिक नभएको जानकारी पाइन्। त्यसपछि एभरेस्ट अस्पताल हुँदै अन्ततः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेकी रचना त्यहाँ पुगेपछि बेहोस भइन्। होसमा आएपछि पनि उनले लगातार छोरा कहाँ छ भनेर सोधिरहिन्।

अस्पतालले भोलिपल्ट बिहान आउन भन्यो। बिहान आफन्तहरूसँग अस्पताल पुगेपछि शवगृहमा रसिकको शव देखेर रचना छाँगाबाट खसेझैँ भइन्। उनको छाती र पेटमा गोली लागेको थियो। छोराको शव देखेपछि उनी बेहोस भइन् र एक दिनपछि मात्र होसमा आइन्।

त्यसपछि रचनाले अस्पतालबाटै न्यायको आवाज उठाउन सुरु गरिन्। गोली हान्ने र हान्न लगाउनेलाई कारबाही नभएसम्म शव नउठाउने अडान परिवारले लिएको थियो। पछि सरकारले आन्दोलनका मृतकहरूलाई सहिद घोषणा गर्दै क्षतिपूर्ति उपलब्ध गरायो। तर दोषीलाई कानुनी दायरामा नल्याएसम्म आफूहरू चुप नबस्ने रचनाको अडान अझै कायम छ।

छोराको रगतले सुरु गरेको न्यायको लडाइँ अब राजनीतिक प्रतिनिधित्वमार्फत संसदसम्म पुग्ने तयारीमा देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट