उदयपुरमा हावाहुरीको प्रकोपः दुईको मृत्यु, छ जना घाइते

गाईघाट– उदयपुरको कटारी नगरपालिका–८ थलियाटारमा सोमबार साँझ आएको हावाहुरीका कारण रुखले च्यापिएर ४९ वर्षीया मीनामाया तामाङको मृत्यु भएको छ। घरनजिकै रहेको गोठमा खसीबाख्रा सार्दै गर्दा कटमिरो रुख ढलेर हाँगाले उनलाई लागेको थियो।

घाईते तामाङलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्याईए पनि चिकित्सकले मृत घोषणा गरेका छन्। यस्तै, कटारी नगरपालिका–५ तीनकुने चोक स्थित राधाकृष्ण मन्दिर नजिकै हुरीबतासका कारण ढलेको सालको रुखले लागेर ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ।

सोही घटनामा उनकी नातिनी पाँच वर्षीय बिनिशा, २७ वर्षीय युवराज कार्की, प्रेमचन्द्र दनुवार, लीलबहादुर दनुवार र १६ वर्षीय अस्मिता परियार घाइते भएका छन्। कटारी–८ की २० वर्षीया कमलाकुमारी पुलामी मगर पनि हावाहुरीबाट घाइते भएकी छिन्।

घाइतेमध्ये लीलबहादुर दनुवार र कमलाकुमारी पुलामीमगरलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा रिफर गरिएको छ। बाँकी चार जनालाई सोमबार साँझै कटारी अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी निरञ्जन थापाले घटनाबारे जानकारी दिँदै हुरीबतास र वर्षाका कारण कटारीको पहाडी क्षेत्रमा घरका छाना उडेको र सामान्य क्षति भएको विवरण प्राप्त भएको बताएका छन्। मृतकको शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट