रिल्सको आवरणमा राजनीतिः टिकटक कलाकार प्रयोग गरेर ओली र एमालेमाथि संगठित प्रहार

काठमाडौँ– सामाजिक सञ्जालको भीडमा रातारात ‘भाइरल’ बनेका टिकटक स्टार र मोडलहरू यतिबेला मनोरञ्जनभन्दा बढी राजनीतिक हतियारजस्ता देखिन थालेका छन्। न त उनीहरू औपचारिक राजनीतिमा छन्, न त वैचारिक बहसमा। तर चुनाव नजिकिँदै जाँदा उनीहरूको अनुहार, अभिव्यक्ति र स्टाटसहरू भने सीधै कुनै पार्टी र उम्मेदवारप्रति लक्षित देखिन्छन्।

पछिल्ला केही दिनका दुई उदाहरणले यो प्रवृत्तिलाई थप बल दिएको छ। उदाहरण हुन– टिकटकबाट चर्चामा आएकी स्मारिका ढकाल र इष्टु कार्की। उनीहरूको सार्वजनिक अभिव्यक्ति र पोस्ट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेविरुद्ध लक्षित प्रहारका सामग्री बन्दै गएका छन्। संयोग मात्रै हो कि योजनाबद्ध प्रयोग— यो प्रश्न अहिले गम्भीर रूपमा उठ्न थालेको छ।

ढकालले एमालेको चुनावी गीतमा नाचेकी थिइन्। उक्त भिडियो सार्वजनिक भएपछि उनले हतार–हतार माफी माग्दै एमालेको गीतमा नाचेर आफूले ठूलै अपराध गरेझैँ प्रस्तुत भइन्। आफू कुनै पार्टीसँग सम्बन्धित नभएको सफाइ दिइन्। मानौं एमाले भन्ने पार्टी अछुत हो र उसको गीतमा नाचेर ढकालले राजनीतिक पाप नै गरेझैँ आत्मग्लानी पोख्नुपरेको जस्तो देखियो।

त्यसको केही दिनअघि नै उनले अर्को भिडियोमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समर्थन गरेको अभिव्यक्ति दिएकी थिइन्। एउटै कलाकार, दुई फरक सन्देश। परिणामस्वरूप सामाजिक सञ्जालमा एमालेविरुद्ध गालीको वर्षा भयो। धेरैले भिडियोभन्दा बढी उनको ‘एमाले जोडिएको’ छविलाई प्रयोग गरेर पार्टीमाथि व्यंग्य, कटाक्ष र घृणा फैलाए।

यता इष्टु कार्कीको टिप्पणी झन् प्रत्यक्ष राजनीतिक आक्रमण जस्तो देखिन्छ। चुनावको संघारमा ‘चुरोटको खोलमा केपी ओलीको फोटो राखिदिए आधा नेपाल धूम्रपानमुक्त हुन्छ’ भन्ने अभिव्यक्तिले सामान्य व्यंग्यभन्दा धेरै टाढा गएर व्यक्तिगत अवमूल्यन र घृणाको सन्देश दियो। राजनीतिक आलोचना र व्यक्तिमाथिको अपमानबीचको सीमारेखा मेटिने गरी गरिएको यस्तो टिप्पणीलाई सामाजिक सञ्जालका केही समूहले ‘कूल’ र ‘साहसी’ भन्दै उचाले, जसले एमालेविरुद्धको नकारात्मक मनोविज्ञानलाई अझै फैलाउने काम गरिरहेको छ।

रोचक के छ भने यस्ता अधिकांश अनुहार कुनै स्पष्ट वैचारिक पृष्ठभूमिबाट आएका होइनन्। उनीहरूको पूँजी भनेको फलोअर्स, रील्स र लाइभ मात्र हो। तर यही लोकप्रियतालाई राजनीतिक सन्देश बोक्न प्रयोग गरिँदा त्यसको प्रभाव परम्परागत नेताको चुनावी प्रचारभन्दा कैयौँ गुणा छिटो फैलिन्छ। एक मिनेटको क्लिपले हजारौँ कमेन्ट र लाखौँ भ्यु बटुल्छ, र त्यहीबीच घृणात्मक भाष्य निर्माण हुन्छ, धारणा बनाइन्छ र भीडको मानसिकता प्रभावित गरिन्छ।

विश्लेषकहरू भन्छन्, यो नयाँ प्रकारको डिजिटल प्रोपागान्डा हो— जहाँ कलाकारको आवरणमा राजनीतिक प्रहार गरिन्छ। प्रत्यक्ष नेता बोले आलोचना आउँछ, तर टिकटक स्टार बोले ‘व्यक्तिगत विचार’ भनेर छुट पाइन्छ। त्यसमाथि ‘सर्वसाधारणको विचार ओली र एमालेप्रति यस्तो खराब रहेछ’ भनेर प्रचार गर्न सजिलो हुन्छ। यही ‘ग्रे जोन’ प्रयोग गरेर संगठित रूपमा नकारात्मक धारणा बनाउने खेल भइरहेको आशंका बढ्दो छ।

लोकतन्त्रमा आलोचना स्वाभाविक हो, तर नियोजित चरित्रहत्या र घृणा फैलाउने अभियानले स्वस्थ बहसलाई विस्थापित गर्छ। राजनीतिक विश्लेषक भन्छन– ‘अहिले देखिएको प्रवृत्ति बहस होइन, ट्रोल संस्कृतिको विस्तार हो। कलाकारहरूलाई अघि सारेर राजनीतिक प्रतिशोध साध्ने यो शैलीले अन्ततः कलाकारको विश्वसनीयता मात्र होइन, समग्र राजनीतिक संवादलाई नै प्रदूषित बनाइरहेको छ।’

टिकटकका रील्सले मतदाताको मन जित्ने कि भ्रम छर्ने— यसको उत्तर अब समयले दिनेछ। तर एउटा कुरा प्रस्ट छ, लोकप्रिय अनुहारहरू अब केवल मनोरञ्जनका पात्र होइनन्, उनीहरू चुनावी युद्धका ‘डिजिटल हतियार’ बन्न थालेका छन्। र त्यसको निशाना प्रायः एउटै देखिन्छ— केपी ओली र नेकपा एमाले।

एमालेको प्रचार भीडीओमा मोडलिङ गरेपछि ठुलै गल्ती गरें भन्दै माफी माग्दै टिकटकर स्मारिका ढकाल।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट