दिदीसँग सुतेको ‘अपराध’को सजाय मृत्युः प्रेमी युवकको कुटीकुटी विभत्स हत्या, नाङ्गै पारेर खोलामा शव फालियो
काठमाडौँ— दैलेखको भगवतीमाई गाउँपालिका–४ बेस्तडास्थित कट्टी खोलामा साढे चार महिनाअघि बीभत्स अवस्थामा मृत फेला परेका २२ वर्षीय गोविन्द विकको हत्या योजनाबद्ध र सामूहिक रूपमा गरिएको तथ्य बाहिरिएको छ।
प्रहरी अनुसन्धानले यो घटना आकस्मिक मृत्यु होइन, प्रेम सम्बन्धलाई निहुँ बनाएर रचिएको क्रुर षड्यन्त्र भएको निष्कर्ष निकालेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालका अनुसार भदौ २३ गते बिहान ६ः५० बजे कट्टी खोलाको बीचमा गोविन्दको शव फेला परेको थियो।
शव पूर्ण रूपमा नाङ्गो र घोप्टो अवस्थामा थियो। टाउको, हात र खुट्टाभरि गम्भीर चोट, नीलडाम र कुटपिटका स्पष्ट प्रमाण देखिन्थे। प्रारम्भिक चरणमा ज्यानसम्बन्धी सामान्य अनुसन्धान भए पनि पुस २९ गते परिवारले किटानी जाहेरी दिएपछि घटनाले नयाँ मोड लियो र हत्या योजनाको तहसम्म प्रहरी पुग्यो।
अनुसन्धानका क्रममा यो घटना प्रेम सम्बन्धसँग गाँसिएको खुलेको छ। गोविन्द स्थानीय २५ वर्षीया महिलासँग प्रेम सम्बन्धमा थिए र उनीहरू सँगै बस्ने–खाने–सुत्ने गर्थे। यही सम्बन्ध महिलाका १७ वर्षीय भाइलाई असह्य भयो। आफ्नी दिदीसँग गोविन्दको निकटता स्वीकार गर्न नसकेपछि उसले हत्या गर्ने योजना बनाएको प्रहरीको भनाइ छ।
मुख्य योजनाकारले भदौ २० गतेदेखि नै साथीहरूलाई उक्साउँदै ‘दिदीसँग सुत्ने गोविन्दलाई ठिक पार्नुपर्छ’ भन्दै भेला पारेका थिए। दुई दिनसम्म उनीहरूलाई गोप्य रूपमा घरमै राखेर योजना बनाइयो। भदौ २२ गते राति करिब १० बजे गोविन्द प्रेमीकाकै कोठामा भेटिएपछि उनलाई समातेर घिसार्दै भुइँतलामा झारियो र सामूहिक रूपमा आक्रमण सुरु गरियो।
ढुङ्गा, फलामको रड, दाउरा र मुक्काले अन्धाधुन्ध प्रहार गर्दै कुटपिट गरियो। प्रहरीका अनुसार गोविन्दले ज्यान बचाउन गुहार मागे पनि घाँटी थिचेर निर्दयी रूपमा प्रहार जारी राखियो। घटनास्थलमै उनको मृत्यु भयो। सागर विकसहित अन्य पाँच नाबालक समेत कुटपिटमा संलग्न रहेको खुलेको छ।
हत्या गरेपछि आरोपीहरूले घटनालाई दुर्घटनाजस्तो देखाउने प्रयास गरे। मृतकका सबै कपडा खोलेर नाङ्गो बनाइयो, शव कम्बलमा बेरेर बोरामा हालियो र रातारात कट्टी खोलामा बगाइयो। मोबाइल खोला किनारमै फालियो। हत्या भएको कोठा लिपपोत गरी रगतका दाग मेटाइयो र प्रमाण नष्ट गर्ने सुनियोजित प्रयास गरियो।
त्यसपछि मुख्य योजनाकार र उनकी दिदी भारततर्फ फरार भएका थिए। प्रहरीले खोजी गरी उनीहरूसहित १९ वर्षीय सागर विक, र अन्य पाँच नाबालकलाई पक्राउ गरेको छ। अझ चकित पार्ने तथ्य के छ भने, हत्या सफल भएको भन्दै आरोपीहरूले लागुऔषध र मदिरा सेवन गरेर ‘उत्सव’ समेत मनाएको अनुसन्धानले देखाएको छ।
प्रहरीले अनुसन्धान प्रतिवेदनसहित सरकारी वकिल कार्यालयमा मिसिल बुझाएको छ। सोमबार जिल्ला अदालत दैलेखमा सबै आरोपितविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्दै जन्मकैदको मागदाबी गरिएको छ।
सामान्य प्रेम सम्बन्धलाई निहुँ बनाएर युवालाई कुटीकुटी हत्या गरी शव नाङ्गै खोलामा फालिएको यो घटनाले दैलेख जिल्लालाई स्तब्ध बनाएको छ। स्थानीय बासिन्दामा आक्रोश चुलिएको छ भने दोषीलाई कडा सजायको माग बढ्दो छ।
