५२ सिटबाट १२ सिटमा खुम्चिएको जसपाः जनमत घटेपछि उपेन्द्र यादवको क्षेत्र पलायन राजनीति
राजविराज — २०६२–०६३ को जनआन्दोलनपछि मधेस आन्दोलनको कमान्ड सम्हाल्दै ‘मधेसको आवाज’ भनेर उदाएका जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव आज फेरि चुनावी मैदानमा छन्।
पटक–पटक चुनावी क्षेत्र परिवर्तन गर्दै आएका यादव यस पटक पनि चुनाव सप्तरी–२ बाट सप्तरी–३ सरेका छन्। सार्वजनिक रूपमा उनी ‘जहाँ भए पनि सप्तरी नै हो’ भन्छन्, तर राजनीतिक वृत्तमा यसलाई घट्दो जनाधारबाट जोगिन गरिएको सुरक्षित अवतरणका रूपमा हेरिएको छ। किनकि २०७९ मा उनी आफ्नै क्षेत्र सप्तरी–२ मा सीके राउतसँग पराजित भएका थिए, त्यसपछि बारा पुगेर उपचुनाव मार्फत संसद छिरेका थिए।
कुनै समय मधेसको निर्विकल्प नेता ठानिएका यादवको राजनीतिक यात्राको ग्राफ हेर्दा लोकप्रियता ओरालो लाग्दै गएको स्पष्ट देखिन्छ। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमले ५२ सिट जित्दा यादव ‘किंगमेकर’ बनेका थिए। तर त्यसपछि क्रमशः सिट घट्दै गए। दोस्रो संविधानसभामा १० सिट, २०७४ मा १६ सिट र २०७९ मा आइपुग्दा जसपा १२ सिटमा खुम्चियो। आन्दोलनको उभारमा बनेको पार्टी चुनावी अंकगणितमा कमजोर बन्दै जानु आफैंमा संकेत हो, तर यादव भने यसको जिम्मा लिन तयार देखिँदैनन्।
एउटा अन्तरवार्तामा उनले पुराना दल कांग्रेस र कम्युनिस्टलाई नै असफलताको मुख्य दोषी दिएका छन्। राज्यसत्ता, बजेट, सेना, प्रशासन उनीहरूको हातमा रहेकाले विकास र सुशासन दिन नसकेको आरोप उनको थियो। आफूहरू त कहिलेकाहीँ ‘सहयोगी’ मात्रै बनेको दाबी उनले दोहो¥याए। तर प्रश्न उठ्छ—चार–चार पटक मधेसले जिताएर पठाएको दल र नेताले आफूलाई सधैँ ‘सहयोगी’ मात्रै भन्न मिल्छ? सत्ता साझेदारी, मन्त्रालय, नीति निर्माणमा प्रत्यक्ष भूमिका खेलेको इतिहास हुँदाहुँदै पनि जिम्मेवारीबाट पन्छिनु राजनीतिक जवाफदेहिता हो कि बहाना?
यादवले मधेसको पछौटेपनलाई ‘औपनिवेशिक मानसिकता’ को परिणाम भने। कर्मचारी नपठाइएको, अधिकार नदिइएको, स्रोत रोकिने गरेको तर्क गर्दै उनले संघीयता कार्यान्वयन हुन नदिएको आरोप लगाए। तर आलोचकहरू भन्छन—प्रदेश सरकार आफैंले पाएको सीमित स्रोतसमेत प्रभावकारी रूपमा खर्च गर्न नसकेको, विकास योजनामा सुशासनको अभाव देखिएको र जनतामा प्रत्यक्ष परिणाम नदेखिएको यथार्थ पनि त्यत्तिकै बलियो छ। विश्वविद्यालय र मेडिकल कलेज खोलेको दाबी गरे पनि आधारभूत रोजगारी, उद्योग, कृषि सुधार र जनजीवनसँग जोडिएका परिवर्तन अपेक्षाकृत कमजोर देखिन्छन्।
नयाँ दल र नयाँ अनुहारको उदयबारे भने यादव रक्षात्मक मात्र होइन, आक्रामक देखिए। राष्ट्रिय स्वतन्त्र पार्टीलाई उनले ‘सामाजिक सञ्जालको हाइहुइ’ मात्र भने। घण्टीको प्रभाव ‘भित्तामा बजेको आवाज’ जस्तो भएको टिप्पणी गर्दै उनले बालेन्द्र साहको मधेसी पहिचानमै प्रश्न उठाए। मधेस आन्दोलनमा साथ नदिनेहरू अहिले मधेसको नेता बन्न खोज्नु ढोंग भएको उनको आरोप थियो। तर युवापुस्ताले पुराना सबै दलप्रति निराशा व्यक्त गरिरहेको सन्दर्भमा यस्तो कटाक्षले उल्टै प्रतिगामी मानसिकताको संकेत दिने विश्लेषकहरूको भनाइ छ।
उनको बोलीमा अझै पनि आन्दोलनकालीन आक्रोश छ, तर मतदाताले अहिले परिणाम खोजिरहेका छन्। राजनीतिक नाराभन्दा रोजगारी, स्वास्थ्य, शिक्षा र पूर्वाधारमा ठोस उपलब्धि चाहिरहेका छन्। यही दूरीले मधेसवादी दलहरूको ‘भावनात्मक राजनीति’ लाई क्रमशः कमजोर बनाउँदै लगेको देखिन्छ।
सप्तरी–२ बाट पराजित भएपछि क्षेत्र परिवर्तन गर्नु रणनीति हो वा जनविश्वास गुमाएको संकेत—यसको फैसला मतदाताले गर्नेछन्। तर एउटा कुरा स्पष्ट छ, कुनै वेला निर्विकल्प देखिएको नेतृत्व आज प्रश्नको घेरामा छ। आन्दोलनको विरासत मात्रै बोकेर चुनाव जित्ने दिन सकिँदै गएका छन्। मधेस अब भाषण होइन, परिणाम मागिरहेको छ। र यही परीक्षामा उपेन्द्र यादवको राजनीति फेरि एकपटक कठघरामा उभिएको छ।
