आफ्नै आधार क्षेत्रमा एक्लिँदै सीके राउत, राजीनामा दिनेको लर्को : जनमत पार्टीभित्र विद्रोह, विभाजन र ‘सन्यासी राजनीति’को विरोधाभास
राजविराज – मधेसमा कुनै बेला ‘वैकल्पिक शक्ति’को आशा जगाएको सीके राउत नेतृत्वको जनमत पार्टी अहिले आफ्नै घरभित्र आगो लागेको परिवारझैँ तितरबितर हुँदै गएको छ। पार्टी कार्यालयदेखि गाउँ–टोलसम्म एउटै चर्चा छ— को बाहिरिने लाइनमा छ र कस्ले नयाँ पार्टी खोल्दैछ ? एकपछि अर्को शीर्ष नेता, केन्द्रीय पदाधिकारी, प्रदेश अध्यक्षदेखि जिल्ला तहसम्मका प्रभावशाली अनुहारहरू सामूहिक रूपमा पार्टी छाड्दै गएका छन्।
केहीले खुला विद्रोह गरेका छन्, केहीले नयाँ पार्टी गठन गरेका छन्, बाँकी नेताहरू पनि ‘निस्कने तयारी’मा रहेको चर्चा पार्टीभित्रै र वाहिर पनि चलिरहेको छ। परिणामस्वरूप जनमत पार्टी आज दरार, अविश्वास र नेतृत्वविरुद्धको आक्रोशले टुक्रा–टुक्रामा चिरिएको छ।
यसको सीधा असर चुनावी मैदानमा देखिन थालेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सीके राउत र उनका दाजु जयकान्त राउत आफ्नै पार्टीका विद्रोही उम्मेदवारहरूको घेरावन्दीमा परेका छन्। जुन क्षेत्र ‘सुरक्षित किल्ला’ मानिन्थ्यो, त्यही क्षेत्र अहिले विद्रोहको अखाडा बनेको छ।
पछिल्लो घटनाक्रममै सिरहाबाट केन्द्रीय कार्यकारिणी सदस्य रानीकुमारी पासवान, केन्द्रीय सदस्यहरू रामेश्वर यादव, जागेश्वर यादव र जिल्ला समिति सदस्य हरिकिशोर पासवानले सामूहिक रूपमा पार्टी परित्याग गरे। मंगलबार लिखित राजीनामा दिएका उनीहरू सबै मिर्चैयाका बासिन्दा हुन्। अध्यक्ष राउतलाई बुझाएको पत्रमा उनीहरूले पार्टीले विचार, सिद्धान्त र मूल उद्देश्य गुमाएको, जातिवाद हाबी भएको र गैरराजनीतिक व्यक्तिहरूको हालीमुहाली बढेको आरोप लगाएका छन्। जनमत पार्टीभित्र ‘व्यक्तिगत स्वार्थ र गुटबन्दी’ हावी भएको उनीहरूको ठहर छ।
कोशी प्रदेश अध्यक्ष बुद्धिराज न्यौपानेले अध्यक्ष राउतका अभिव्यक्तिले संविधान, राष्ट्रिय अखण्डता र राष्ट्रिय झण्डाप्रति सम्मान नदेखिएको भन्दै पार्टीमा बसिराख्न नैतिक आधार नै नरहेको जनाउँदै राजीनामा दिए। यो केवल संगठनात्मक असन्तोष होइन, नेतृत्वप्रतिको स्पष्ट वैचारिक अस्वीकार थियो।
धनुषा र महोत्तरीमा पनि असन्तोष विस्फोट भएको छ। केन्द्रीय सदस्य जितकुमार साहसहित सात जना नेताले सामूहिक राजीनामा दिँदै नेतृत्वमाथि नातावाद, कृपावाद र ‘दास प्रथा’ जस्तै व्यवहार गरेको आरोप लगाए। निर्णय प्रक्रिया सीमित व्यक्तिमा केन्द्रित भएको, संगठन कमजोर बन्दै गएको र लोकतन्त्रको भाषण मात्रै सुनिने तर व्यवहारमा ‘एकल शासन’ चलिरहेको उनीहरूको गुनासो छ। यसले पार्टीभित्रको अन्तरविरोध खुला रूपमा सतहमा ल्याएको छ।
यसअघि नै वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना केन्द्रीय नेताले एकैपटक पार्टी छाडेका थिए। केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादव, युवा संघ संयोजक संजयकुमार यादव, स्वास्थ्यकर्मी संघका संयोजक सीके सिंह, सुदूरपश्चिमका वरिष्ठ संयोजक राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमको बहिर्गमनले पार्टी संरचनामै भूकम्प ल्याएको थियो। जेनजी आन्दोलनपछि उनीहरूले राउतलाई ‘नेतृत्व छोड्न’ २४ घण्टे अल्टिमेटम दिएका थिए। तर राउत टसमसाएनन्, पछि हटेनन्। बरु असन्तुष्टलाई ‘बाहिर जान’ संकेत गरे। त्यसपछि उनीहरू स्वतः बाहिरिए।
पार्टीभित्र कारबाहीको शृंखला पनि कम चर्को थिएन। उपाध्यक्ष ई. दीपक साहले बैठक बहिष्कार गरेपछि उनलाई अनुशासन समितिबाट हटाइयो। कोषाध्यक्ष सूर्यनारायण यादवलाई हिसाबकिताब मागेको आरोपमा निलम्बन गरियो। पार्टीभित्र विदेशी स्रोतबाट करोडौँ रुपैयाँ आएको तर त्यसको पारदर्शी हिसाब नदिएको गम्भीर आरोप नेताहरूले लगाएका छन्। ‘जसले दिनरात खटेर पार्टी बनायो, तिनैलाई आज किनारा लगाइँदैछ’ भन्ने गुनासो कार्यकर्तामाझ व्यापक छ।
राउतको नेतृत्वशैलीमाथि ‘तानाशाही’ र ‘परिवारवाद’को आरोप झन् चर्किँदै गएको छ। आफ्नै दाजु जयकान्त राउतलाई स्थापित गर्न खोजिएको, पुराना योगदानकर्तालाई हटाएर नजिकका व्यक्तिलाई अवसर दिने प्रवृत्ति बढेको आरोप खुलेआम लागिरहेको छ। यही असन्तोषले दीपक साहको नेतृत्वमा ‘जनस्वराज पार्टी’ जन्मियो। कैलाश महतो ‘स्वाधीन मधेस जनअभियान’ लिएर अलगै छन्। अब्दुल खान नयाँ दल खोल्ने तयारीमा छन्। जनमत पार्टी क्रमशः टुक्रिँदै गएको छ।
यतिमात्र होइन, जनमत पार्टीबाट प्रदेश सांसद जितेर मुख्यमन्त्रीसम्म भएका सतिश सिंहले सांसद र पार्टी सदस्य दुवैबाट राजीनामा दिए। स्वाभिमान पार्टीको नेतृत्व गरेर अहिले उनी अगाडि वढेका छन। उनी प्रतिनिधि सभा सदस्य निर्वाचनमा सप्तरी–२ बाट राउतकै विरुद्ध मैदानमा छन्। जनमतकै पूर्व प्रवक्ता शरद सिंह यादवले नयाँ दल गठन गरेर सोही क्षेत्रमा उम्मेदवारी दिएका छन्। जनमत पार्टीबाट यस अघि सप्तरी–३ मा उम्मेदवार रहेका राजविराजका पूर्व मेयर अनिस अन्सारी पनि राष्ट्रिय मुक्ति पार्टी नेपालबाट प्रतिस्पर्धामा छन्। एउटै क्षेत्रमा राउतविरुद्ध आफ्नै पूर्व सहकर्मीहरू उभिँदा चुनावी लडाइँ व्यक्तिगत विद्रोहजस्तै देखिएको छ।
उता सप्तरी–१ मा जयकान्त राउतविरुद्ध स्वाभिमान पार्टीका सुमितकुमार मैदानमा छन्। राजनीतिक विरासत बोकेका सुमित बलिया उम्मेदवार मानिन्छन्। यसले जयकान्तका लागि समेत सहज बाटो बाँकी राखेको छैन। जानकारहरू भन्छन— सुमितका कारण जनमतकै मत चिरिने खतरा बढी छ।
सात वर्षअघि निकै उत्साह र उर्जाका साथ सुरु भएको जनमत पार्टी आज आफ्नै घोषणापत्र र आदर्शबाट टाढिँदै गएको देखिन्छ। स्वतन्त्र मधेसको नारा चर्काएर आन्दोलन सुरु गरेका राउतले २०७५ मा सरकारसँग ११ बुँदे सम्झौता गर्दै मूलधार रोजे। सुशासन र पारदर्शिताको वाचा गरे। तर मन्त्री पदको सौदाबाजी, अस्थिर रणनीति र आफ्नै नेतामाथि कारबाहीको शृंखलाले पार्टीको नैतिक धरातल कमजोर बनायो।
विद्रोही नेताहरूको एउटै आरोप छ— समस्या एजेन्डामा होइन, व्यवहारमा छ। ‘देखाउने दाँत एउटा, खाने दाँत अर्को’ शैलीले पार्टी चलाइयो। यता राउत भने चुनावी मैदानमा नयाँ ‘फण्डा’सहित देखिएका छन्। उनी आफूलाई सन्यासीको छविमा प्रस्तुत गर्दै सामाजिक सञ्जालमा लेखिरहेका छन— ‘म सांसारिक मोह–मायाबाट टाढा रहेर सन्यास ग्रहण गरेको व्यक्ति हुँ। निकास र विकासको लागि एउटै विकल्प म हुँ।’ तर विडम्बना के छ भने यही ‘सन्यासी’ नेता अहिले सबैभन्दा सक्रिय चुनावी प्रचारमा छन— घरदैलो, सभा, जुलुस, भाषण, पोस्टर, डिजिटल क्याम्पेन सबैमा अग्रसर।
सन्यासको अर्थ त्याग हो। तर चुनाव सत्ता र प्रभावको प्रतिस्पर्धा हो। यस्तो अवस्थामा आफूलाई साधु देखाउँदै मत माग्नु धेरैका लागि स्पष्ट विरोधाभास बनेको छ। विश्लेषकहरू भन्छन— ‘यो आध्यात्मिक होइन, राजनीतिक मार्केटिङ हो।’
अर्को प्रश्न पनि उठेको छ— यदि सन्यास नै आदर्श हो भने पार्टीमा किन अन्य सन्यासीहरू छैनन? किन आफन्त र नजिककालाई मात्र अवसर? किन परिवारवाद? राउतको नजरमा सन्यास नलिएका सबै भ्रष्ट नै हुन् त? यी प्रश्नहरूको उत्तर नदिँदासम्म ‘सन्यासी छवि’ले मतदातालाई कति विश्वस्त पार्ला भन्ने शंका बढ्दो छ।
कुनै समय मधेसमा आशाको प्रतीक बनेको जनमत पार्टी अहिले आफ्नै आधार क्षेत्रमा एक्लिँदै गएको छ। जुन वेगमा हजारौं युवा जोडिएका थिए, त्यही वेगमा नेता–कार्यकर्ता बाहिरिँदै छन्। नेतृत्वप्रति अविश्वास, आर्थिक अपारदर्शिता, गुटबन्दी, परिवारवाद र तानाशाही शैलीको आरोपले पार्टीको जग नै हल्लिएको छ।
अब प्रश्न सीधा छ— जनमत पार्टी पुनर्जीवित हुन्छ कि इतिहासको पानामा सीमित हुन्छ? र त्यसभन्दा ठूलो प्रश्न, सीके राउत साँच्चै सन्यासी हुन् कि सत्ताका लागि संघर्षरत एक स्वार्थी राजनीतिज्ञ? उत्तर चुनावी परिणामले दिनेछ, तर अहिलेको दृश्यले भने स्पष्ट संकेत गरिरहेको छ— जनमत पार्टीको घरभित्र बलिरहेको आगो निभ्नेभन्दा फैलिने दिशातर्फ बढी देखिन्छ।

यो पनि,
- ‘सफाइ’को नारा, बन्दसूचीमै कालोदागः जनमत पार्टी बैंकिङ डिफल्टर र परिवारवादको दलदलमा
- सप्तरी–१ मा पुरानै अनुहारको पुनरावृत्तिः परिवारवाद, हारको इतिहास र विकल्पको दाबीबीच २२ उम्मेदवारको भिडन्त
- स्वराजको आवरण फ्याँकेर सन्यासीको मास्कः सीके राउतको आध्यात्मिक पोशाकभित्र भावनाको राजनीति
- तीन विद्रोहीले निर्वाचन क्षेत्रमै घेरिएका सीके राउत नेता पलायनले थप दबाबमाः केन्द्रिय सदस्यसहित ७ जनाको राजिनामा
- लोकतन्त्रको शवमाथि वंशवादको शासनः मृगेन्द्र परिवारको सत्ता लुट, उपेन्द्र यादवको खुला संरक्षण
- सत्ता पाएर काम गर्न नसकेपछि ‘उपनिवेश’को रोदनः यस्तो छ सीके राउतको असफलताको राजनीति
- सुमनराज प्याकुरेलको निर्लज्ज आत्म–प्रचार राजनीतिः आफैं प्रशंसक, आफैं निर्णायक
- ०७९ को निर्वाचनमा १५ बाचा गरेका सीके राउतलाई मतदाताका १७ प्रश्न
- ‘छौरा’ शब्दले हल्लिएको एमालेः केन्द्रको एक बोलीले मधेशमा भूकम्प, किन डराए सुमनराज प्याकुरेल ?
- सप्तरी–३ मा काका–भतिज आमने–सामने, दल बदल्ने उम्मेदवारको लर्को, कस्तो वन्दैछ राजनीतिक नक्सा ?
- भारतीय वैशाखीमा सत्ता जोगाउने उपेन्द्रको दाउः पाँचौँपटक क्षेत्र फेरेका यादवको सप्तरी–३ पलायन र शैलेन्द्र झा कनेक्सन
- हाइ–प्रोफाइल सप्तरीः अध्यक्षका दाजु, नेताकी छोरी र पार्टीभित्रको विद्रोहले चर्कायो चुनावी बहस
- सप्तरी–२ मा सीके राउत घेराबन्दीमाः आफ्नै पार्टीका दुई विद्रोही उम्मेदवार र उमेश यादवको आक्रामक पुनरागमन
