रास्वपामा भगदौडको आँधीः प्रदेश अध्यक्षपछि पूर्वसांसद उम्मेदवारको ‘विस्फोटक बहिर्गमन’—चाप्लुसी र पैसाले पार्टी कब्जा गरेको आरोप

काठमाडौँ– आफूलाई वैकल्पिक राजनीति, विधि–विधान र स्वच्छ सार्वजनिक प्रतिबद्धताको प्रतीक दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी भित्रै गम्भीर असन्तुष्टि सतहमा आएको छ। पार्टीकी संस्थापक सदस्य तथा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेकी खेम कुमारी (उर्मिला) भुर्तेलले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन्।

केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै दिइएको राजीनामा पत्रमा उनले पार्टी स्थापनाकालमा गरिएको आदर्श, विधान र सार्वजनिक प्रतिबद्धताबाट संगठन क्रमशः विचलित हुँदै गएको आरोप लगाएकी छिन्। ‘युवा राजनीतिमा आउनुपर्छ, जान्नेलाई छान्नुपर्छ’ भन्ने नाराले प्रेरित भएर आफू पार्टीमा आबद्ध भएको उल्लेख गर्दै उनले अहिले त्यही नारा नारामै सीमित भएको टिप्पणी गरेकी छिन्। उनका अनुसार पार्टीभित्र विधि–विधानभन्दा व्यक्तिवाद, चाप्लुसीवाद र आर्थिक प्रभाव निर्णायक बन्दै गइरहेको छ।

भुर्तेलले आफू मधेश प्रदेशबाट २०७९ को आम निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेकी एक्ली महिला उम्मेदवार भएको स्मरण गराउँदै संगठन निर्माणदेखि निर्वाचन अभियानसम्म निरन्तर सक्रिय भूमिका निर्वाह गरेको दाबी गरेकी छिन्। तर, दिनरात खटिएका कार्यकर्ताको योगदानको उचित मूल्याङ्कन नभएको, सक्षम महिला तथा युवालाई निर्णय प्रक्रियाबाट टाढा राखिएको र आन्तरिक लोकतन्त्र कमजोर बनाइएको उनको आरोप छ।

उनले राजीनामा पत्रमा पार्टीका निर्णयहरू आर्थिक अनियमितताबाट प्रभावित हुन थालेको संकेत गरेकी छिन्। आसन्न फागुन २१ गतेको निर्वाचन सन्दर्भमा पार्टीले अपनाएको पद्धति, उम्मेदवार छनोट प्रक्रिया र निर्णय शैली स्थापनाकालीन मूल्य र विधानविपरीत भएको उनको दाबी छ। यस अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा आँच पु¥याएको भन्दै उनले मौन बसिरहन नसक्ने निष्कर्षमा पुगेको उल्लेख गरेकी छिन्।

रास्वपाभित्र पछिल्ला दिनहरूमा देखिएको असन्तुष्टि यही एक घटनामा सीमित छैन। आजै मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पनि पार्टी परित्याग गरेकी छिन्। यसले पार्टीभित्र आन्तरिक व्यवस्थापन, पारदर्शिता र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ।

नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले परम्परागत दलहरूको विकल्प दिने दाबी गर्दै आएको थियो। तर संस्थापक तहकै नेतृहरूले सार्वजनिक रूपमा चाप्लुसी, आर्थिक प्रभाव र विधि–विधान उल्लंघनका आरोप लगाउँदै पार्टी छाड्नुले नेतृत्वशैली र संगठनात्मक संस्कृतिमाथि आलोचनात्मक बहस सुरु गरेको छ।

राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाफदेहिता कागजमा सीमित हुँदा वैकल्पिक राजनीतिको दाबी विश्वसनीय रहन्छ कि रहँदैन भन्ने प्रश्न फेरि एकपटक सतहमा आएको छ। भुर्तेल र शर्माको बहिर्गमन केवल व्यक्तिगत असन्तुष्टि हो कि गहिरिँदो संरचनात्मक समस्या, यसको उत्तर अब पार्टी नेतृत्वले दिनुपर्ने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट