रास्वपाको मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माद्वारा पदबाट राजीनामाः आर्थिक चलखेलको आरोप
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक असन्तोष फेरि सतहमा आएको छ। मधेश प्रदेशकी संस्थापक सभापति तथा केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्य ममता शर्माले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेकी छिन्।
विज्ञप्ति जारी गर्दै शर्माले पार्टीभित्र इमानदार र समर्पित व्यक्तिहरूको मूल्यांकन नहुने, निर्णय प्रक्रिया आर्थिक प्रभावबाट निर्देशित हुने र राजनीतिक आदर्शभन्दा आर्थिक चलखेल हाबी भएको आरोप लगाएकी छन्। ‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएको देख्दा मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमा आँच पुगेको छ। यी गतिविधिहरूको साक्षी भएर मौन बसिरहन म असमर्थ छु,’ भन्दै उनले तत्काल पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन्।
रास्वपा स्थापना कालदेखि मधेशमा संगठन विस्तारको जिम्मेवारी सम्हालेकी नेतृको यस्तो सार्वजनिक असन्तोषलाई सामान्य राजीनामाका रूपमा लिन सकिँदैन। पार्टीले आफूलाई वैकल्पिक राजनीति, सुशासन र पारदर्शिताको प्रतीकका रूपमा प्रस्तुत गर्दै आएको सन्दर्भमा संस्थापक तहकै नेतृले आर्थिक अनियमितताको आरोप लगाएर बाहिरिनु गम्भीर राजनीतिक संकेत मानिएको छ।
यसअघि पनि टिकट वितरणका क्रममा आर्थिक चलखेल भएको आरोप लगाउँदै केही नेताहरूले पार्टी परित्याग गरेका थिए। तर यसपटक मधेश प्रदेशकै संस्थापक सभापतिको राजीनामाले पार्टीभित्रको असन्तोष संरचनागत तहसम्म पुगेको आभास दिएको छ। नेतृत्व तहबाट स्पष्ट छानबिन वा सार्वजनिक स्पष्टीकरण नआउँदा आरोपहरू झन् पेचिलो बन्दै गएका छन्।
रास्वपाले सुरुदखि नै आफुलाई ‘पुरानो राजनीतिक संस्कारको विकल्प’ बन्ने दाबी गर्दै आएको थियो। तर आफ्नै संगठनभित्रबाट आर्थिक अनियमितता र निर्णय प्रक्रियामा पैसाको प्रभावको आरोप आउनुले त्यो दाबीको विश्वसनीयतामाथि चोट पु¥याएको विश्लेषकहरू बताउँछन्। विशेषतः निर्वाचनको संघारमा यस्तो विवाद बाहिर आउनु पार्टीका लागि राजनीतिक रूपमा असहज परिस्थिति बन्न सक्छ।
शर्माको राजीनामापछि मधेश प्रदेशमा रास्वपाको संगठनात्मक अवस्था, आगामी रणनीति र आन्तरिक अनुशासनबारे थप प्रश्नहरू उठेका छन्। आरोपको गम्भीरता हेर्दा निष्पक्ष छानबिन र औपचारिक धारणा सार्वजनिक नगरेसम्म यो विवाद साम्य हुने संकेत देखिँदैन। वैकल्पिक राजनीतिका नाममा अघि बढेको पार्टीभित्रै आर्थिक चलखेलको आरोप दोहोरिनु केवल व्यक्तिगत असन्तोष होइन, संस्थागत संकटको संकेत हुन सक्छ।
लोकप्रिय
जितेन्द्र नारायण देवको निरन्तर युटर्नले उठायो विश्वसनीयताको प्रश्नः ‘घर फिर्ता’को श्रृंखला कहिलेसम्म ?
