जेनजी आन्दोलनका घाईते विरुद्ध १७ वर्षीया किशोरी ब*लात्कार गरेको आरोपमा मुद्दा दर्ता

काठमाडौं — जेन–जी आन्दोलनका घाईते ललितपुर महानगरपालिका–५, मानभवनका ४५ वर्षीय सुरेन्द्र महर्जन उर्फ ‘कोब्रा’माथि नाबालिग किशोरीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको छ। जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा दायर गरेको अभियोगपत्रमा महर्जनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१) र (२) अनुसार १० देखि १२ वर्षसम्म कैद र जरिवाना माग गरिएको छ।

अभियोगपत्र अनुसार पीडित १७ वर्षीया छात्रा हुन्, जो कक्षा १२ मा अध्ययनरत छिन्। पीडित र महर्जनबीच साथीमार्फत साउन १ गते सामाजिक सञ्जालमा चिनजान भएको थियो। संवाद बढ्दै गएपछि सुरेन्द्रले किशोरीलाई व्यक्तिगत भेटका लागि बोलाउन थाले। पीडितले आफ्नो उमेर १७ वर्ष भएको प्रमाणसहित नागरिकताको फोटो पठाए पनि महर्जनले नपत्याएका थिए।

साउन १६ मा सुरेन्द्रले पीडितलाई भैँसेपाटीस्थित ‘आशा होटल एण्ड रेस्टुरेन्ट’ को कोठा नं. २०४ मा लगेर पहिलो पटक जबरजस्ती शारीरिक सम्पर्क गरेको पीडितले बयान दिइन्। त्यसपछिका दिनहरूमा उनी भिन्न–भिन्न होटल र क्याफेमा पनि पीडितलाई बोलाएर बलात्कार गर्ने गरेका थिए।

महर्जनले आफूमाथि गोली लागेको घटनालाई आफ्नो बचाउको रूपमा प्रस्तुत गरेका छन्। उनी भन्छन्, ‘२०८२ भदौ २४ मा जेनजी आन्दोलन हेर्दा मानभवन सडकमा मलाई गोली लागि बीएण्डबी अस्पतालमा उपचार भइरहेको अवस्थामा म हिँडडुल गर्न सक्दिनथेँ, त्यस समयमा करणी गर्ने अवस्था थिएन।’ तर सरकारी वकिलले होटल र क्याफेका रेकर्ड तथा अन्य कागजातले उनीहरूको भेटघाट निरन्तर रहेको प्रमाणित गरेको दाबी गरेका छन्।

असोज ११ मा सुरेन्द्रले पीडितलाई जावलाखेलस्थित ‘हंग्री ट्रीट’ रेस्टुरेन्टमा बोलाएर मोबाइल फुटाइदिए। पीडितलाई कुटपिट समेत गरिएको उल्लेख छ। भोलिपल्ट, असोज १२ मा भैँसेपाटीस्थित ‘ग्यारेज क्याफे’ मा बोलाएर बाथरुममा तानेर बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ। पीडितले प्रतिकार गर्न खोज्दा पनि ज्यान मार्ने धम्की दिएको बताएकी छन्।

होटल सञ्चालक कौशिला तिवारीले पनि पीडितको बयानलाई पुष्टि गर्दै गेस्ट रजिस्टरमा सुरेन्द्र र किशोरीको नाममा साउन, भदौ र असोज महिनामा कोठा बुक भएको देखाएको बताएकी छन्। ग्यारेज क्याफेका सञ्चालक विवेक थापाले पनि २८ सेप्टेम्बरमा पीडित र सुरेन्द्र आफूहरूको क्याफेमा आएर माथिल्लो तलामा बसेको पुष्टि गरेका छन्।

पीडितले पनि जेनजी आन्दोलनताका बलात्कार भएको भन्ने जाहेरी दिएकी छैनन्। घटना लुकाउन सुरेन्द्रले आफ्ना साथी क्रिश मार्क श्रेष्ठको फेसबुक म्यासेन्जर प्रयोग गरी पीडितलाई धम्कीपूर्ण सन्देश पठाएको र फोन गरेर गालीगलौज गरेको पनि खुलेको छ।

क्रिश मार्क श्रेष्ठले प्रहरीसँगको बयानमा उक्त आईडी आफ्नै भएको स्वीकार्दै साथीको रूपमा सुरेन्द्रलाई सहयोग गरेको तर बलात्कारको घटनाबारे आफूलाई जानकारी नभएको बताएका छन्। पाटन अस्पतालमा गरिएको पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा पीडितको मलद्वार वरपर चोटपटक देखिएको उल्लेख छ। यसले पीडितमाथि अस्वाभाविक र जबरजस्ती यौनजन्य क्रियाकलाप भएको संकेत गर्ने अभियोगपत्रमा उल्लेख छ।

पीडित प्रभाव प्रतिवेदन अनुसार, घटनापछि पीडित किशोरीमा गम्भीर मानसिक, शारीरिक र सामाजिक असर परेको छ। उनी मानसिक तनावका कारण औषधि सेवन गरिरहेकी छन् र दैनिक जीवनयापनमा समेत कठिनाइ भोगिरहेकी छन्।

सरकारी वकिल कार्यालयले पेश गरेको अभियोगपत्रमा सुरेन्द्र महर्जनले १७ वर्ष १० महिना १४ दिनकी किशोरीलाई डर, त्रास र प्रलोभनमा पारी इच्छा विपरीत पटक–पटक बलात्कार गरेको पुष्टि भएको दाबी गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट