विदेशीद्वारा सञ्चालित भनेपछि तिलमिलाए जगदीश खरेलः मतदातामाथि नै लगाई दिए ‘हनुमान’को ठप्पा
राजविराज– पूर्वसञ्चार मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद उम्मेदवार जगदीश खरेल चुनावी अभियानका क्रममा मतदातासँग भएको संवादपछि विवादमा तानिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा उनी प्रश्न सोध्ने मतदातामाथि आक्रोशित देखिन्छन्। प्रमाण माग्ने, प्रतिप्रश्न गर्ने र आलोचकलाई ‘हनुमान’ भन्ने अभिव्यक्तिले अहिले राजनीतिक वृत्तमा तीव्र बहस जन्माएको छ।
भिडियोमा एक मतदाताले रास्वपामाथि विदेशी प्रभाव रहेको, नेताहरू बाह्य शक्तिको प्रभावमा चलेको र जेनजी आन्दोलनको नाममा भएका हिंसात्मक गतिविधिबारे प्रश्न उठाउँछन्। त्यसको जवाफमा खरेल बारम्बार ‘प्रमाण देखाउनोस’ भन्दै चुनौती दिन्छन्। उनले आफूले त्यस्ता अभिव्यक्ति नदिएको दाबी गर्दै मिडियाको अगाडि प्रमाण पेश गर्न आग्रह गर्छन्। तर संवादको क्रममा उनले प्रश्नकर्ता मतदातालाई ‘४५ वर्षदेखि कुनै पार्टीको हनुमान’ बनेको आरोप लगाउँछन् र शहिदको नाम लिएर भावनात्मक टिप्पणी गर्छन्।
खरेलले ‘देशको भविष्य बनाउने पार्टी रास्वपा हो’ भन्ने दाबी दोहोर्याउँदै आलोचनालाई प्रतिवाद गरे पनि उनको प्रस्तुति संयमितभन्दा बढी आक्रामक देखिन्छ। प्रश्नको सीधा उत्तर दिनुको सट्टा प्रतिप्रश्न र भावनात्मक सन्दर्भतर्फ मोडिएको शैलीले उनको राजनीतिक परिपक्वतामाथि प्रश्न उठाएको छ।
जेनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूलाई लिएर पनि विवाद चर्किएको छ। उक्त आन्दोलनका क्रममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवन आसपास भएका तोडफोड, आगजनी र सुरक्षाकर्मीसँगको झडपबारे विभिन्न आरोप–प्रत्यारोप भइरहेका छन्। केही पक्षले आन्दोलन हिंसात्मक बनेको, निषेधित क्षेत्र तोडिएको, सार्वजनिक सम्पत्तिमा क्षति पुगेको र सुरक्षाकर्मीमाथि आक्रमण भएको दाबी गर्छन्।
अर्कोतर्फ आन्दोलनकारी पक्षले राज्यले अत्यधिक बल प्रयोग गरेको आरोप लगाउँदै आएको छ। यी विषयहरू अहिले पनि अनुसन्धान, बहस र राजनीतिक व्याख्याको केन्द्रमा छन्। खरेल त्यही आन्दोलनपछि मन्त्री बनेका थिए। उनको जिम्मेवारी निर्वाचन गराउनु थियो, तर बीचमै राजीनामा दिएर उम्मेदवारका रूपमा मैदानमा उत्रिएपछि नैतिक प्रश्न उठेका छन्। निर्वाचन गराउने जिम्मेवारी बोकेका व्यक्ति स्वयं प्रतिस्पर्धी बन्नु कति उपयुक्त हो भन्ने बहस अझै सेलाएको छैन।
सार्वजनिक पद सम्हालेका र पुनः जनमत मागिरहेका नेताबाट अपेक्षा गरिने कुरा भनेको आलोचना सुन्ने क्षमता, तथ्यसहित स्पष्ट जवाफ र संयमित प्रस्तुति हो। तर सामाजिक सञ्जालमा भाइरल भएको दृश्यले फरक सन्देश दिएको विश्लेषकहरू बताउँछन्। प्रमाणको माग स्वाभाविक राजनीतिक प्रतिक्रिया हुन सक्छ, तर आलोचकलाई व्यक्तिगत रूपमा कटाक्ष गर्नु र शहिदको नाममा भावनात्मक अपील गर्नुले बहसलाई थप ध्रुवीकृत बनाउने जोखिम हुन्छ।
रास्वपाले आफूलाई वैकल्पिक शक्ति र पारदर्शिताको पक्षधर दलका रूपमा प्रस्तुत गर्दै आएको छ। तर विदेशी प्रभाव, आन्दोलनको भूमिकाबारे उठेका आरोप र नेतृत्वको आक्रामक शैलीले पार्टीको छवि कस्तो बन्छ भन्ने प्रश्न अब मतदाताको अदालतमा पुगेको छ। खरेलको उक्त भिडियो केवल एक चुनावी क्षण मात्र हो कि गहिरो राजनीतिक प्रवृत्तिको संकेत, यसको मूल्यांकन आगामी निर्वाचन परिणाम र जनमतले गर्नेछ।
