विराटनगरबाट उडेको ६ मिनेटमै बुद्ध एयरको इन्जिनमा समस्या, आपतकालिन अबतरण
विराटनगर– विराटनगर विमानस्थलबाट काठमाडौंका लागि बुधबार राति उडेको बुद्ध एयरको जहाजले आकाशमै प्राविधिक समस्या सामना गरेपछि आकस्मिक रूपमा पुनः विराटनगरमै फर्कनुपरेको छ।
उडान भरेको केही मिनेटमै दाहिने इन्जिनमा गडबडीको संकेत देखिएपछि चालक दलले जोखिम नलिएर जहाजलाई तत्काल फर्काउने निर्णय गरेको हो। यू–४ ७१४९ एन–ए एन क्यू नम्बरको उक्त जहाज राति ९ः४९ बजे विराटनगर विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंका लागि उडेको थियो।
तर, करिब ६ मिनेटको उडानपछि इन्जिनमा असामान्य संकेत देखिएपछि ककपिटबाटै ‘टेक्निकल इश्यू’ को जानकारी दिइएको थियो। त्यसलगत्तै जहाजलाई आकाशमै घुमाएर सावधानीपूर्वक फर्काइएको र राति १०ः१३ बजे सुरक्षित अवतरण गराइएको हो।
जहाजमा २५ पुरुष र ५ महिलासहित ३० जना यात्रु तथा चालक दलका ४ सदस्य गरी कुल ३४ जना सवार थिए। सबै यात्रु सकुशल रहेको विराटनगर विमानस्थलका प्रमुख सुवास झाले पुष्टि गरेका छन्। उनका अनुसार उडानको प्रारम्भिक चरणमै समस्या पहिचान भएकाले थप जोखिम नलिई जहाज फर्काइएको हो।
काठमाडौंबाट प्राविधिक टोली झिकाएर जहाजको सम्पूर्ण जाँचपछि मात्र पुनः उडान अनुमति दिइने बताइएको छ। यात्रुहरूलाई भने काठमाडौंबाटै आएको बुद्ध एयरको अर्को जहाजमार्फत बुधबार राति नै गन्तव्यतर्फ पठाइएको विमानस्थल प्रशासनले जनाएको छ।
