ट्राफिक जाँचका नाममा सर्वसाधारणमाथि ‘निर्घात कुटपिट’: लखेट्दै कुटेको भिडियो बाहिरिएपछि तनावमा प्रहरी
लहान— सिरहामा ट्राफिक नियम उलंघन गरेको आरोपमा सुरक्षाकर्मीले एक सर्वसाधारणलाई लखेटी–लखेटी कुटपिट गरेका छन्।
सिरहा–चोहर्वा सडकअन्तर्गत नरहा चोकमा संयुक्त जाँचमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा निर्वाचन सुरक्षाकर्मीले तीन जनामाथि निर्घात कुटपिट गरेका हुन। कुटपिटमा परेकामध्ये गोलबजार नगरपालिका–८ चोहर्वाका २४ वर्षीय बैजु मुखिया रहेका छन् भने अन्य दुई जनाको पहिचान अझै खुल्न सकेको छैन।
पीडित बैजु मुखियाका अनुसार नरहा चोकमा भइरहेको संयुक्त जाँचका क्रममा प्रहरीले लाइसेन्स जाँच गरेपछि ब्लु बुक मागेको थियो। लाइसेन्स साथमै भए पनि ब्लु बुक तत्काल साथमा नभएकाले प्रहरीले मोटरसाइकलको साँचो खोसेको उनले बताए।
त्यसपछि उनले मोबाइलमा ब्लु बुकको फोटो देखाएपछि सुरक्षाकर्मीले केही बेरपछि उनलाई अघि बढ्न अनुमति दिए। तर, चोकबाट केही पर पुगेपछि इलाका प्रहरी कार्यालय नरहाका इन्चार्ज सई राजकिशोर साहले उनलाई पुनः रोकेर कुनै स्पष्ट कारण नबताई थप्पड हाने।
आफूले जरुरी काममा जाँदैछु भन्दै अनुरोध गर्दा पनि आक्रमण भएको उनले बताए। उनले भनाईमा थप्पड हान्ने प्रहरीको वर्दीमा ‘आरके साह’ लेखिएको र दुई तारा अंकित थियो। उक्त घटनाकै बीचमा अर्को मोटरसाइकलमा तीन जना सवार भएर त्यही स्थानमा आइपुगेका थिए।
प्रहरीलाई देख्नेबित्तिकै उनीहरू सडकछेउमै मोटरसाइकल छाडेर खेततर्फ भागे। त्यसमध्ये एक जना भाग्न सफल भए पनि चालक रहेका करिब २१ वर्षीय युवक र बीचमा बसेका करिब ३० वर्षीय व्यक्तिलाई प्रहरीले लखेट्दै समातेपछि निर्मम कुटपिट गरेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा स्पष्ट देखिन्छ।
भिडियोमा चार जना जति सुरक्षाकर्मीले लठ्ठी र बुट प्रयोग गरेर कुटपिट गरेको देखिन्छ। बैजुका अनुसार उक्त कुटपिटका क्रममा ३० वर्षीय व्यक्तिलाई सबैभन्दा बढी चोटपटक लागेको थियो। घटनापछि दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो।
केही समयपछि विवाद थप चर्किन नदिन भन्दै सई साहले आफ्नो मोबाइलमार्फत ‘प्रहरीको गल्ती नभएको र आफ्नै गल्ती भएको’ स्वीकारोक्तिसहितको भिडियोमा बोल्न बाध्य बनाएको बैजुको आरोप छ। त्यसपछि मात्रै मोटरसाइकल फिर्ता गरिएको उनको दाबी छ।
घटनामा संलग्न अन्य दुई जनाको पहिचान खुल्न नसकेको भए पनि उनीहरू सुखीपुरतर्फका हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यस विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेशबहादुर पालले घटनाबारे जानकारी आएको र थप अनुसन्धान भइरहेको बताएका छन्।
उनका अनुसार भिडियोमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन सुरक्षाकर्मीको संलग्नता देखिए पनि सई साह प्रत्यक्ष रूपमा कुटपिटमा संलग्न नभएको प्रारम्भिक दाबी गरिएको छ, यद्यपि घटनाको सम्पूर्ण तथ्यबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
लोकप्रिय
बीबीसीको डुकुमेण्ट्रीप्रति पूर्वआईजीपी खापुङको आक्रोशः डकुमेन्ट्रीको आडमा आन्तरिकम मामलामा विदेशी हस्तक्षेप
भारतीय मिडियामा ‘खुसीको खबर’ भन्दै बालेनको उम्मेदवारीको चर्चाः झापामा चीनको बीआरआई परियोजना रोक्ने षडयन्त्रको संकेत
ताजा अपडेट
गुरुराज घिमिरेको चुनावी अभियानमा ‘गुन्डानाइके’को छायाँः ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ को नारामाथि प्रश्न
