विवाहमा रक्तपातः चक्कु प्रहार गरी १८ वर्षीय युवकको हत्या, दुई जना पक्राउ

काठमाडौँ– कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाह समारोहमा झडप हुँदा एक युवकको ज्यान गएको छ। सामान्य विवादबाट सुरु भएको तनाव केही मिनेटमै भयावह मोडमा पुग्दा १८ वर्षीय उज्जल सायरको हत्या भएको हो। उनिमाथि धारिलो हतियार प्रहार गरिएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार राति करिब साढे १ बजे गाउँमै भइरहेको विवाह कार्यक्रममा आपसी भनाभन चर्किँदै जाँदा झडपको स्थिति बनेको थियो। यही क्रममा सायरमाथि चक्कु प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए। छातीमा गम्भीर चोट लागेका सायरलाई तत्काल उद्धार गरी धनगढीस्थित माया मेट्रो अस्पताल पु¥याइएको थियो, तर उपचारकै क्रममा उनको ज्यान गएको हो।

घटनापछि स्थानीय क्षेत्रमा त्रास र आक्रोश फैलिएको छ। विवाह जस्तो सामाजिक उत्सव एकाएक शोकमा परिणत भएपछि गाउँ नै स्तब्ध बनेको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ र उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानले व्यक्तिगत विवादकै कारण घटना भएको संकेत गरे पनि घटनाको पूर्ण पृष्ठभूमि, प्रयोग गरिएको हतियार र संलग्न व्यक्तिहरूको भूमिकाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले स्पष्ट पारेको छ। प्रहरीले दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्दै घटनाको सम्पूर्ण तथ्य सार्वजनिक गर्ने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट