रास्वपामा अर्को विस्फोटः कोशी प्रदेश सदस्य ठगेन्द्र न्यौपाने पार्टी छोडेर एमाले प्रवेश

विराटनगर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेश सदस्य ठगेन्द्र न्यौपानेले पार्टी परित्याग गरेका छन्। न्यौपाने राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै संगठन विस्तारमा लागेका नेतामध्ये एक हुन।

मोरङको रतुवामाई–९ भौडाहा निवासी उनी २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ–२ बाट रास्वपाका उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका थिए। उक्त निर्वाचनमा उनी तेस्रो स्थानमा रहे पनि क्षेत्रीय राजनीतिमा उनको सक्रियता निरन्तर बढिरहेको थियो।

आगामी फागुन २१ को निर्वाचनमा पुनः उम्मेदवार बन्ने आकांक्षा उनीसँग थियो। तर यसपटक टिकट वितरण प्रक्रियामा देखिएको विवाद र असन्तुष्टिले अन्ततः उनलाई पार्टी छाड्ने निर्णयसम्म पु¥यायो। पार्टीले मोरङ–२ मा कृष्ण कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेपछि न्यौपाने असन्तुष्ट बनेका थिए।

कार्कीमाथि जेनजी आन्दोलनका क्रममा संसद भवन जलाउने घटनासँग जोडिएको आरोपसमेत सार्वजनिक बहसको विषय बनिरहेका बेला न्यौपानेले उक्त निर्णयलाई स्वीकार गर्न नसकेको बताइन्छ।

उनी नेकपा (एमाले) मा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर न्यौपानेलाई स्वागत गरे। योसँगै कोशी प्रदेशमा एमालेको संगठनात्मक सन्देशलाई बलियो बनाउने संकेत देखिएको छ भने रास्वपाभित्र नेतृत्व र टिकट वितरणलाई लिएर उठिरहेका प्रश्नहरूलाई थप चर्काउने सम्भावना पनि देखिएको छ।

एमाले अध्यक्ष ओलीले स्वागत समारोहमा नयाँ नेतृत्व र अनुभवलाई पार्टीमा समेट्दै आगामी राजनीतिक प्रतिस्पर्धालाई अझ सशक्त बनाउने संकेत दिएका छन् भने न्यौपानेले आफू अब नयाँ राजनीतिक यात्रामा प्रवेश गरेको सन्देश दिएका छन्।

कोशी प्रदेशमा रास्वपाभित्र नेतृत्व, टिकट वितरण र आन्दोलनसँग जोडिएका विवादहरूले तनाव उत्पन्न गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट