गुरुराज घिमिरेको चुनावी अभियानमा ‘गुन्डानाइके’को छायाँः ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ को नारामाथि प्रश्न
विराटनगर— ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नारा अहिले नेपाली कांग्रेस भित्र निकै चर्चित छ। तर यो नारा राजनीतिक मैदानमा कति विश्वसनीय छ भन्ने प्रश्नको उत्तर खोज्न भने मोरङ–४ को चुनावी अभियानमा पुगे पुग्छ।
कांग्रेसका महामन्त्री तथा मोरङ–४ का उम्मेदवार गुरुराज घिमिरेको चुनावी अभियान अहिले गम्भीर विवादको केन्द्रमा पुगेको छ। सादगी, बौद्धिकता र निष्ठाको राजनीतिका प्रतिनिधि भनेर चिनिएका घिमिरेको अभियानमाथि उठेको प्रश्नले कांग्रेसको नारालाई नै कठघरामा उभ्याएको छ।
यसको मूल कारण बनेका छन् उनका युवा परिचालन संयोजकका रूपमा सक्रिय अभिषेक गिरी, जसको आपराधिक र विवादास्पद पृष्ठभूमिले चुनावी माहोललाई तातो बनाइरहेको छ। अपहरण तथा शरीर बन्धकजस्ता गम्भीर फौजदारी मुद्दामा अदालतबाट दोषी ठहर भई जेल सजाय भुक्तान गरिसकेका गिरी अहिले कांग्रेस राजनीतिमा सक्रिय रहँदै घिमिरेको चुनावी अभियानको अग्रपंक्तिमा देखिएका छन्।
विराटनगर र आसपासका क्षेत्रमा विवादास्पद छविका कारण ‘गुन्डानाइके’का रूपमा चिनिएका गिरीलाई चुनावी अभियानमा युवा कमाण्डरको जिम्मेवारी दिइएको छ। जसका कारण कांग्रेसभित्रै असन्तुष्टि र आश्चर्य उत्पन्न भएको छ। वैचारिक राजनीति र नैतिकताको कुरा गर्ने नेताको अभियानमा आपराधिक पृष्ठभूमिका व्यक्ति सक्रिय देखिनु केवल विरोधाभास मात्र नभई राजनीतिक सन्देशकै प्रश्न बनेको टिप्पणी राजनीतिक वृत्तमा सुनिन थालेको छ।
घिमिरेको छवि सादगी र स्वच्छ राजनीतिसँग जोडिए पनि गिरीसँगको सहकार्यले उनको नैतिक प्रतिष्ठामाथि प्रश्न उठाएको छ। गिरी भने आफूलाई समाजसेवी र राजनीतिक कार्यकर्ताको रूपमा प्रस्तुत गर्छन्। तर, विगतदेखि नै उनीमाथि असुली, मिटरब्याज र अवैध गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ। अहिले शैली परिवर्तन गरेर त्यही धन्दा चलाइरहेको आरोपसमेत सार्वजनिक रूपमा उठ्ने गरेको छ।
सुरक्षा स्रोतका अनुसार घिमिरेको चुनावी अभियानको व्यवस्थापनदेखि कार्यक्रम सञ्चालनसम्मका धेरै जिम्मेवारी गिरीकै हातमा छ। चुनावी खर्च व्यवस्थापनदेखि स्थानीय स्तरमा प्रभाव जमाउने कामसम्म उनले सम्हालिरहेका छन्।
कांग्रेसका केही कार्यकर्ताले भने यस्तो सहकार्यले घिमिरेको चुनावी अभियानलाई लाभभन्दा बढी नैतिक क्षति पु¥याइरहेको दाबी गरेका छन्। उनिहरुका अनुसार निष्ठा र विधिको शासनको कुरा गर्ने नेताको अभियानमा विवादास्पद पृष्ठभूमिका व्यक्ति अगाडि देखिनुले पार्टीभित्रको मूल्य र सिद्धान्तमाथि नै प्रश्न खडा गरेको छ।
विराटनगरका चोक, गल्ली र चुनावी कार्यक्रमहरूमा घिमिरेको मुस्कानसहितको पोस्टरसँगै गिरीको सक्रिय उपस्थिति देखिन थालेपछि पुराना र इमान्दार कार्यकर्ताहरू असहज महसुस गरिरहेका छन्। गिरीमाथि मिटरब्याजमार्फत ठूलो सम्पत्ति आर्जन गरेको आरोप पनि लाग्दै आएको छ।
गैरकानुनी सम्पत्ति आर्जनको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि विशेष अदालतमा मुद्दा चलाएको विगत छ, यद्यपि २०७५ सालमा उक्त मुद्दामा उनले सफाइ पाएका थिए। त्यतिबेला उनी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए।
जेलबाट बाहिरिएपछि उनले ‘गिरी फाउन्डेशन’ नामक संस्था स्थापना गरेर सामाजिक सेवाको आवरणमा गतिविधि सञ्चालन गरिरहेको बताइन्छ, तर उनको पुरानो छवि समाजमा अझै मेटिन सकेको छैन।
यसैबीच मोरङ कारागारभित्र समेत गिरीको प्रभाव कायम रहेको आरोप कैदीबन्दीहरूबाट समय–समयमा उठ्ने गरेको छ। कारागारमा चौकीदार हुँदा कैदीबन्दीमाथि यातना दिएको र ठूलो रकम असुलेको आरोप विगतदेखि नै लाग्दै आएको छ। अहिले पनि कारागारभित्र हुने गतिविधिमा उनको अप्रत्यक्ष हस्तक्षेप रहेको आरोपहरू बाहिरिने गरेका छन्, यद्यपि गिरीले यी आरोप अस्वीकार गरेका छन्।
कानुनी पक्ष पनि यस विवादको अर्को महत्वपूर्ण आयाम बनेको छ। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार भ्रष्टाचार, अपहरण, सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर फौजदारी कसुरमा कैद सजाय भोगेका व्यक्तिले राजनीतिक दलको सदस्यता लिन नपाउने व्यवस्था छ। नेपाली कांग्रेसकै विधानले पनि यस्ता व्यक्तिलाई अयोग्य ठहर गरेको उल्लेख छ।
तर, त्यही पृष्ठभूमि भएका व्यक्तिलाई चुनावी अभियानको अग्रपंक्तिमा देखिनुले कानुनी र नैतिक बहसलाई थप चर्काएको छ। यस विषयमा राजनीतिक विश्लेषकहरूले पनि गम्भीर टिप्पणी गरेका छन्। उनीहरूका अनुसार कानुनले नै अग्रपंक्तिमा उभिन नदिएको व्यक्तिलाई चुनावी अभियानको केन्द्रमा राख्दा त्यसले नेताको छविमा प्रत्यक्ष असर पार्छ।
घिमिरेसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनको फोन सम्पर्क हुन सकेको छैन। कांग्रेसका क्षेत्रीय नेतृत्वले भने गिरी पार्टीको क्रियाशील सदस्य रहेको दाबी गरेका छन्, यद्यपि कानुनी प्रश्न उठेमा त्यसबारे समीक्षा गर्नुपर्ने बताएका छन्।
लोकप्रिय
बीबीसीको डुकुमेण्ट्रीप्रति पूर्वआईजीपी खापुङको आक्रोशः डकुमेन्ट्रीको आडमा आन्तरिकम मामलामा विदेशी हस्तक्षेप
भारतीय मिडियामा ‘खुसीको खबर’ भन्दै बालेनको उम्मेदवारीको चर्चाः झापामा चीनको बीआरआई परियोजना रोक्ने षडयन्त्रको संकेत
ताजा अपडेट
गुरुराज घिमिरेको चुनावी अभियानमा ‘गुन्डानाइके’को छायाँः ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ को नारामाथि प्रश्न
