३३ केजी सुन काण्डमा जोडिएका भण्डारीकी श्रीमती सर्लाहीमा रास्वपाको उम्मेदवार

सर्लाही– ‘जान्नेलाई छान्ने’ नारा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुचर्चित ३३ केजी सुन तस्करी प्रकरणमा जोडिएका व्यक्तिलाई समेत प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ। सर्लाही–१ बाट रास्वपाको उम्मेदवार बनेकी नितिमा भण्डारी कार्की सुनकाण्डमा जोडिएका चेतनाथ भण्डारीकी श्रीमती हुन।

३३ केजी सुन काण्ड नेपालको आपराधिक इतिहासकै अत्यन्त संवेदनशील र चर्चित घटनामध्ये एक मानिन्छ। २०७४ माघ ७ गते दुबईबाट ल्याइएको करिब साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट रहस्यमय रूपमा हराएपछि यो प्रकरण राष्ट्रिय स्तरको अनुसन्धानको विषय बनेको थियो।

सुन गायब भएपछि तस्कर समूहबीच विवाद चर्किएको र त्यसकै क्रममा फागुन १८ गते मोरङ उर्लाबारीका भरिया सनम शाक्यलाई अपहरण गरी जङ्गलमा लगेर यातना दिँदै हत्या गरिएको घटना सार्वजनिक भएको थियो, जसले मुलुकलाई स्तब्ध बनाएको थियो।

यस प्रकरणको अनुसन्धानका क्रममा मुख्य नाइकेका रूपमा गोरे भनेर चिनिने चुडामणि उप्रेतीको नाम सार्वजनिक भयो। प्रहरी अनुसन्धानले सुन तस्करीको ठूलो नेटवर्क उजागर गरेको दाबी गर्दै २०७५ जेठ ७ गते उनलाई भारतबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो।

अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा गोरेसँगै ‘चाचाजी’ भनेर चिनिने चेतनाथ भण्डारीलगायतका व्यक्तिहरू पनि सुन तस्करीको सञ्जालसँग जोडिएको भन्दै मुद्दा दर्ता गरिएको थियो। २०७५ वैशाख १५ गते गोरे र भण्डारीसहित ७५ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएपछि यो प्रकरण झन् ठूलो राजनीतिक र आपराधिक बहसको केन्द्र बन्यो।

मुद्दा दर्ता भएपछि चेतनाथ भण्डारी फरार भएका थिए र उनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय स्तरमै रेड नोटिस जारी गरिएको थियो। करिब दुई वर्षपछि उनी आफैं अदालतमा उपस्थित भए पनि दश लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए। पछि २०७८ असोज १९ गते अदालतले गोरेसहित आठ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनायो भने भण्डारीसहित ४८ जनालाई सफाइ दिएको थियो।

यद्यपि, उक्त प्रकरणको छायाँ अझै राजनीतिक र सामाजिक बहसमा जीवित छ। यही पृष्ठभूमिमा, त्यही विवादास्पद प्रकरणसँग जोडिएको व्यक्तिकी श्रीमतीलाई रास्वपाले उम्मेदवार बनाएको तथ्य सार्वजनिक भएपछि दलको ‘सुशासन’ र ‘नयाँ राजनीति’ को दाबीमाथि नै प्रश्न उठ्न थालेका छन्।

चुनावी अभियानका क्रममा रास्वपाका सभापति रवि लामिछाने सर्लाही पुगेका बेला उम्मेदवार नितिमा भण्डारी कार्कीसँगै देखिएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि यो विषय झन् चर्को बहसमा पुगेको हो।

एकातिर आफूलाई भ्रष्टाचारविरुद्ध कठोर अभियान चलाउने राजनीतिक शक्ति भन्दै आएको दलले विवादित पृष्ठभूमिका व्यक्तिसँग सम्बन्धित उम्मेदवारलाई अघि सारेको विषयलाई लिएर राजनीतिक वृत्तमा तीव्र आलोचना भइरहेको छ।

लामिछानेले गृहमन्त्री रहँदा भ्रष्टाचारविरुद्ध अभियान चलाएको र त्यसकै कारण आफूविरुद्ध राजनीतिक प्रतिशोधका रूपमा मुद्दा दायर गरिएको दाबी गर्दै आएका छन्। तर अहिले सुन तस्करी प्रकरणसँग जोडिएको व्यक्तिको परिवारका सदस्यलाई उम्मेदवार बनाएर प्रचारमा उत्रिएको आरोप लागेपछि उनको नैतिकता र राजनीतिक सन्देशमाथि समेत प्रश्न उठाइएको छ।

सामाजिक सञ्जालदेखि स्थानीय राजनीतिक वृत्तसम्म यस विषयले तीव्र प्रतिक्रिया उत्पन्न गरेको छ। कतिपयले यसलाई नयाँ दलले पुराना दललाई दिएको आलोचनाकै प्रतिविम्ब भएको टिप्पणी गरेका छन् भने केहीले उम्मेदवारको व्यक्तिगत जिम्मेवारी र पारिवारिक सम्बन्धलाई अलग ढंगले हेर्नुपर्ने तर्क पनि अघि सारेका छन्।

तर विवादको केन्द्रबिन्दु भने एउटै छ—सुशासन र पारदर्शिताको नारा दिने दलले उम्मेदवार छनोटमा कस्तो मापदण्ड अपनायो भन्ने प्रश्न। निर्वाचन नजिकिँदै जाँदा यो घटनाले रास्वपाको राजनीतिक छवि र चुनावी रणनीतिमाथि प्रत्यक्ष असर पार्ने संकेत देखिएको छ। विशेषगरी ‘नयाँ राजनीतिक संस्कार’ को दाबी गर्दै आएको दलभित्रै उम्मेदवार छनोटलाई लिएर उठेका विवादले आगामी दिनमा राजनीतिक बहस अझ चर्किने सम्भावना बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट