‘बीबीसी डकुमेन्ट्री’ प्रदर्शन गरेको आरोपमा भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ, रहस्यमाथि प्रहरीको कडा अनुसन्धान
राजविराज– बीबीसीको डकुमेन्ट्री प्रसारण गरेको आरोपमा प्रहरीले भारतीय गाडीसहित रास्वपाका कार्यकर्तालाई पक्राउ गरेको छ। जनकपुरका विभिन्न चोकमा एलईडी सेट र प्रोजेक्टरमार्फत डकुमेण्ट्री प्रदर्शन गरिरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गरेको हो।
उक्त डकुमेन्ट्री विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसीले निर्माण गरेको हो। उक्त भीडीओ प्रदर्शनमा संलग्न व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भारतीय नम्बर प्लेट बीआर०१जी ०१४६७ रहेको गाडीमा प्रोजेक्टर जडान गरेर जनकपुरको रेलवे स्टेशन अगाडि डकुमेन्ट्री प्रसारण भइरहेको थियो। त्यसक्रममा प्रहरीले हस्तक्षेप गरी रास्वपा कार्यकर्ता विकास जयसवाललाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेश बमका अनुसार निर्वाचन नजिकिँदै गएको संवेदनशील समयमा विदेशी नम्बर प्लेटको गाडी प्रयोग गरी सार्वजनिक स्थलमा डकुमेन्ट्री प्रदर्शन गर्नु निर्वाचन आचारसंहिताको भावना विपरीत देखिएको र त्यसले जनमानसमा नकारात्मक प्रभाव पार्न सक्ने आशंकाका आधारमा प्रहरीले हस्तक्षेप गरेको हो।
प्रहरीले नियन्त्रणमा लिएको गाडीमा ठूलो एलईडी सेट र प्रसारण उपकरण जडान गरिएको थियो, जसबाट लगातार दुई दिनदेखि शहरका विभिन्न स्थानमा उक्त सामग्री देखाइँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले दिएको जानकारीअनुसार यस घटनामा एउटा गाडी नियन्त्रणमा आए पनि त्यस्तै प्रकृतिका अन्य दुई गाडी अझै सक्रिय रहेको आशंका गरिएको छ र ती गाडीको खोजी जारी छ। प्रहरी स्रोतका अनुसार चुनावको मुखमा यस्तो प्रकारको सामग्री सार्वजनिक रूपमा प्रदर्शन गरिनु संयोग मात्र हो कि योजनाबद्ध राजनीतिक सन्देश दिन खोजिएको हो भन्ने विषयमा पनि अनुसन्धान केन्द्रित गरिएको छ।
स्थानीय तहमा भने डकुमेन्ट्री प्रदर्शनले चुनावी माहोलमा तनाव बढाउन सक्ने, मतदातामा अविश्वास र असन्तोष फैलिन सक्ने तथा सामुदायिक सद्भावमा असर पर्न सक्ने चिन्ता व्यक्त भइरहेका थिए, जसका आधारमा प्रहरी सक्रिय भएको बताइएको छ।
घटनाले जनकपुर मात्र होइन, समग्र मधेशको चुनावी राजनीतिमा नयाँ बहस जन्माएको छ। विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी सार्वजनिक स्थानमा राजनीतिक सन्देश दिने खालका सामग्री प्रसारण हुनु सुरक्षा र कूटनीतिक दृष्टिले पनि गम्भीर विषय मानिएको छ।
अहिले प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिसँग विस्तृत सोधपुछ गर्दै यस गतिविधिको उद्देश्य, आयोजक समूह र प्रयोग भएका स्रोतहरूको खोजी तीव्र बनाएको जनाएको छ। चुनावी वातावरण झन् तातेका बेला यो घटनाले राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोपको श्रृंखला सुरु हुने संकेतसमेत देखिएको छ, जसले आगामी दिनमा जनकपुरको चुनावी परिदृश्यलाई अझ जटिल बनाउन सक्ने विश्लेषण भइरहेको छ।
