मतदातालाई वितरण गर्न लागिएको आशंकामा रास्वपाले प्रचारमा प्रयोग गरेको जिपबाट मदिरासहित २ जना पक्राउ

काठमाडौँ— कर्णाली प्रदेशको सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डा राखेर प्रचारप्रसारमा प्रयोग भइरहेको जिपबाट मदिरा, चामल र खानेतेलसहितका सामग्री बरामद भएको छ। प्रहरीले गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

सोमबार बिहान सल्यानको सल्लीबजार क्षेत्रमा प्रहरी टोलीले शंकास्पद रूपमा सामान बोकेको जिप रोकेर जाँच गर्दा ति सामग्री फेला परेको थियो। सल्लीबजारबाट खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपमा निर्वाचनलाई लक्षित गरी सामग्री ढुवानी भइरहेको आशंकामा प्रहरीले चालक र जिपमा सवार एक जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा सिद्धकुमाख गाउँपालिका–४ निवासी २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र ३७ वर्षीय मोहन बीसी छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी हेमबहादुर केसीका अनुसार जिपबाट २५ किलोका दुई बोरा चामल, ‘गोल्ड डायमण्ड’ लेखिएको सात कार्टुन मदिरा, दुई कार्टुन रकस्टार बियर तथा तीन कार्टुन खानेतेल बरामद गरिएको छ।

प्रारम्भिक रूपमा यी सामग्री चुनाव लक्षित वितरणका लागि लैजाँदै गरिएको हुनसक्ने आशंका गरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ। घटना सार्वजनिक भएसँगै रास्वपाले भने आफ्नो संलग्नता अस्वीकार गरेको छ।

रास्वपाको बन्गाड कुपिण्डे नगर समितिका सभापति लोकेन्द्र वलीले विज्ञप्ति जारी गर्दै गाडी पार्टीको प्रचारप्रसारमा प्रयोग भएको स्वीकार गरे पनि बरामद सामग्री पार्टीद्वारा वितरणका लागि लैजाँदै गरिएको भन्ने आरोपलाई भ्रमपूर्ण बताएका छन्।

उनका अनुसार गाडीधनीले व्यक्तिगत रूपमा वा स्थानीय व्यापारीको सहयोगार्थ ढुवानी गरेको सामान गाडीमा रहेको हुन सक्ने दाबी गरिएको छ। वलीले चुनावी अभियानमा प्रयोग भएको गाडीमा सामान राखिनु नै गल्ती भएको उल्लेख गर्दै पार्टीको कुनै प्रत्यक्ष भूमिका नरहेको स्पष्ट पारेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट