भाईरल हुन ओलीविरोधीको नयाँ–नयाँ फण्डाः मापसे गरी वेहोसीमा रहनेले पनि उट्पट्याङ प्रश्न सोधेर हैरान

दमक– नेपाली समाजमा ‘भाइरल संस्कृति’ पछिल्लो समय यति वढेको छ कि संवादको स्वरूप नै परिवर्तन भईरहेको छ। ब्यवहार सरल र सभ्य बनाउने भन्दा पनि सामाजिक सञ्जालमा चर्चा कमाउने होडले त्यही अनुसारका हर्कत गर्ने परम्परा वढ्दो छ।

अहिले चुनावको माहौल छ, यही मौकामा क्यामेराअगाडि असभ्य व्यवहार प्रदर्शन गर्ने, जथाभावी बोल्ने र अनावश्यक प्रश्नमार्फत विवाद सिर्जना गर्ने प्रवृत्ति बढेको छ। क्यामेरा नहुँदासम्म सामान्य र संयमित देखिने कतिपय व्यक्तिहरू क्यामेरा चालु हुनेबित्तिकै फरक रूप देखाउन थाल्छन्। यो प्रवृत्तिको प्रत्यक्ष असर अहिले चुनावी मैदानमा पनि देखिन्छ।

यतिबेला अन्तर्राष्ट्रिय चासो पाएको झापा क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारमा व्यस्त रहेका केपी शर्मा ओली पनि बेला–बेला यही ‘भाइरलिज्म’को शिकार भईरहका छन्। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली घरदैलो अभियानमा मतदातासँग भेटघाट गर्दै हिँडिरहेका बेला विभिन्न प्रश्नहरू सामना गरिरहेका छन्।

स्थानीयका अनुसार कतिपय मतदाताले वास्तविक समस्या उठाइरहेका छन्, तर केही व्यक्तिहरू भने क्यामेरामा चर्चित हुनकै लागि अनावश्यक र उत्तेजक प्रश्न सोधेर माहोल बिगार्ने प्रयास गरिरहेका छन्। क्यामेरा नहुँदासम्म गम्भीर र तथ्यगत प्रश्न गर्ने व्यक्तिहरू क्यामेरा देख्नेबित्तिकै बनावटी र विवादास्पद प्रश्न गर्न थाल्ने गरेका छन्।

उनीहरूको उद्देश्य वास्तविक समस्या समाधानभन्दा पनि भिडियो भाइरल बनाउने भएको आरोप स्थानीय नेताहरूले लगाएका छन्। यही प्रवृत्ति माघ २७ गते साँझ झापाको स्कुलचौर बजार क्षेत्रमा देखिएको थियो। जहाँ ओली घरदैलो कार्यक्रमका क्रममा मतदातासँग संवाद गरिरहेका थिए।

सोही क्रममा मदिरा सेवन गरेका एक व्यक्ति अचानक अघि बढ्दै क्यामेरा देख्नेबित्तिकै ओलीमाथि प्रश्नहरूको वर्षा गर्न थाले।

उनले झापामा वर्षौंदेखि कायम रहेको जग्गा समस्याबारे प्रश्न उठाउँदै तीन पटक प्रधानमन्त्री हुँदा पनि समाधान गर्न नसकेको भन्दै असन्तुष्टि पोखे। ‘तीनपटक प्रधानमन्त्री भइसक्नुभयो, खोइ त काम?’ भन्ने उनको प्रश्नको भिडियो केही घण्टामै सामाजिक सञ्जालमा फैलियो र व्यापक रूपमा चर्चामा आयो।

वास्तवमा झापामा जग्गासम्बन्धी समस्या दुई दशकभन्दा बढी समयदेखि कायम छ। माओवादी द्वन्द्वकालका क्रममा धेरै जग्गाका कागजात नष्ट भएपछि यहाँ विशेष नापी प्रक्रिया सुरु गरिएको थियो। स्थानीयसँग लालपुर्जा त छ तर जग्गा किनबेच गर्न बन्देज छ। बैंकमा धितो राखेर ऋण लिन नमिल्ने र अदालतले जमानतको रूपमा समेत स्वीकार नगर्ने अवस्था बनेपछि हजारौं परिवार प्रत्यक्ष रूपमा प्रभावित छन्। यही समस्याका कारण स्थानीय स्तरमा लामो समयदेखि असन्तोष बढिरहेको छ।

२०७० सालमा झापालाई विशेष नापी क्षेत्र घोषणा गरिएको थियो। त्यसपछि नापीको प्रक्रिया सुरु भए पनि काम अझै जारी छ। पाँच हजार दुई सय बिगाहा जमिन नाप्नुपर्ने भएकाले प्रक्रिया लम्बिएको सरकारी निकायको दाबी छ। मन्त्रिपरिषद्ले नापीको म्याद थप्ने निर्णय गरिसकेको भए पनि राजनीतिक अस्थिरता र जेनजी आन्दोलनका कारण त्यसको औपचारिकता समयमै पूरा हुन सकेन। स्रोतका अनुसार काम रोकिएको होइन, तर परिणाम देखिन अझ केही समय लाग्नेछ।

सदावहार वेहोसीमा रहने ती ब्यक्तिले यही विषयलाई उचालेर ओलीमाथि प्रश्न गरेका थिए। त्यो प्रश्नसहितको भीडीओ अहिले सामाजिक सञ्जालमा चर्चाको विषय वनेको स्थानीयहरु बताउँछन्। यसले के देखाउँछ भने चुनावी राजनीति अब केवल मत माग्ने अभियान मात्र नभई क्यामेरा, भाइरल संस्कृति र सार्वजनिक छविको जटिल प्रतिस्पर्धा पनि बनेको संकेत दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट