शोक र सङ्कटबीच गाडीको छतमाथि बालेन र रवि नाचः जेनजीको मृत्युमाथि भद्दा मजाक

काठमाडौँ– नेपाली राजनीति अहिले अत्यन्त संवेदनशील मोडमा उभिएको छ। एकातर्फ जेनजी आन्दोलनमा ज्यान गुमाएका ७६ नागरिकका परिवारहरू अझै पनि शोकको अवस्थाबाट गुज्रिरहेका छन्, वार्षिक किरिया–कर्म र स्मृतिको भारी बोकेर बसिरहेका छन्। अर्कोतर्फ अन्तर्राष्ट्रिय तनाव (इरान र अमेरिकाबीचको द्वन्द्व) का कारण खाडी क्षेत्रमा श्रम गरिरहेका लाखौँ नेपालीको भविष्य र सुरक्षाबारे गम्भीर चिन्ता बढिरहेको छ।

यस्तो गम्भीर मानवीय र राष्ट्रिय सन्दर्भबीच देशको चुनावी मैदान भने बिल्कुलै फरक दृश्यले भरिएको देखिन्छ, जहाँ परिवर्तनको दाबी गर्ने नेताहरू उत्सव मनाई रहेका छन्। यही क्रममा चुनावी अभियानका क्रममा सार्वजनिक भएको एउटा दृश्यले राजनीतिक बहसलाई झनै तीव्र बनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह गाडीको छतमा उभिएर नाच्दै गरेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म तीव्र प्रश्न उठ्न थालेका छन्।

परिवर्तनको एजेन्डा बोकेर आएको दाबी गर्ने नेतृत्वले देश शोक र असुरक्षाको अवस्थाबाट गुज्रिरहेका बेला देखाएको यस्तो व्यवहारलाई धेरैले असंवेदनशील, विरोधाभासपूर्ण र राजनीतिक संस्कृतिमाथि गरिएको भद्दा मजाकका रूपमा व्याख्या गर्न थालेका छन्। बालेन्द्र साहले त ७६ जनाको मृत्युमा समवेदना र श्रद्धाञ्जलीसम्म ब्यक्त नगरेको आरोप लाग्दै आएको छ।

बालेन्द्र साहले काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हालेपछि विगतका नेतृत्वले फोहोर व्यवस्थापनमा गरेको लापरबाहीका कारण बन्चरे क्षेत्रका बासिन्दा प्रभावित भएको भन्दै त्यसलाई ‘शोकको अवस्था’ भनेका थिए। तर समय बित्दै जाँदा समस्या समाधानको गति अपेक्षाअनुसार देखिएन, उल्टै अहिले चुनावी मैदानमा देखिएको उनको उत्साहपूर्ण नाचगानले नै राजनीतिक भाषण र व्यवहारबीचको दूरीलाई थप उजागर गरेको टिप्पणी भइरहेको छ।

जेनजी आन्दोलनलाई परिवर्तनको आधार मानेर चुनावी मैदानमा उत्रिएका शक्तिहरूले त्यही आन्दोलनका पीडित परिवारको संवेदनालाई प्रतिनिधित्व गर्ने दाबी गरेका छन्। तर सामाजिक सञ्जाल र चुनावी सभामा देखिएको व्यवहारले गम्भीर प्रश्नहरु उठाएको छ। यदि आन्दोलनप्रति सच्चा सम्मान र शोकको भावना छ भने यस्तो उत्सवमय प्रदर्शन कसरी सम्भव भयो?

धार्मिक तथा सांस्कृतिक परम्परामा शोकको अवधिमा मनोरञ्जनात्मक गतिविधिबाट टाढा रहने चलन अझै समाजमा जीवित छ। त्यही समाजका संवेदनशील क्षणमा नेताहरूको यस्तो प्रस्तुति देखिँदा राजनीतिक नैतिकताको बहस झनै तीव्र बनेको छ।

फागुन २१ को चुनाव नजिकिँदै गर्दा सामाजिक सञ्जालमा देखिने सन्देश र वास्तविक राजनीतिक व्यवहारबीच ठूलो अन्तर देखिन थालेको विश्लेषकहरू बताउँछन्। परिवर्तनको लहरको नाममा मतदाताको आकर्षण नयाँ अनुहारतर्फ बढिरहेको छ, तर त्यो उत्साहले कहिलेकाहीँ चुनावी शैलीलाई संवेदनशील विषयसँग असंगत बनाइदिएको देखिन्छ।

राजनीतिक विश्लेषकहरूका अनुसार अहिलेको चुनावी प्रतिस्पर्धा केवल नयाँ र पुराना दलबीचको टकराव मात्र होइन, विश्वास र विश्वसनीयताको परीक्षा पनि हो। नयाँ नेतृत्वले आफूलाई फरक साबित गर्न ब्यवहार परिवर्तन जरुरी छ। व्यवहारमा देखिएको ‘सेलिब्रेटी राजनीति’ र मिडियासँगको दूरीले अर्को बहस जन्माएको छ।

चुनावी अभियानका क्रममा पत्रकार र सार्वजनिक बहसबाट टाढा रहेर केवल सामाजिक सञ्जाल र रोड–शोमा केन्द्रित हुने प्रवृत्तिलाई लोकतान्त्रिक संवादको दृष्टिले आलोचना गरिँदै आएको छ। बालेन्द्र साहले करिब साढे तीन वर्ष काठमाडौँ महानगरको नेतृत्व गरिसकेका छन्। यस अवधिमा गरिएका काम र चुनावअघि प्रस्तुत गरिएका वाचा–पत्रबीच तुलना गर्दा उपलब्धि र अपेक्षाबीच दूरी देखिएको टिप्पणीहरू सार्वजनिक हुँदै आएका छन्।

अर्कोतर्फ, रवि लामिछाने छोटो समयमै दुई पटक उपप्रधान तथा गृहमन्त्री बनिसकेका नेता हुन्, तर उनको राजनीतिक यात्रामा सहकारी प्रकरणदेखि विभिन्न कानुनी विवादसम्मका प्रश्नहरू निरन्तर उठिरहेका छन्।

यतिबेला लोकतान्त्रिक अभ्यासमा नाचगानभन्दा संवाद र जवाफदेहिता अपेक्षित हुन्छ भन्ने धारणा बलियो बन्दै गएको छ। राजनीतिक विश्लेषकहरू भन्छन—प्रश्नबाट भाग्दै एकतर्फी सन्देश दिने शैली दीर्घकालीन रूपमा लोकतन्त्रका लागि सकारात्मक संकेत मानिँदैन।

जेनजी आन्दोलनमा ज्यान गुमाएका ७६ जनाको बलिदान केवल नयाँ अनुहारलाई सत्ता दिलाउनका लागि नभई प्रणाली सुधारका लागि भएको थियो भन्ने तर्क अहिले पुनः बलियोसँग उठ्न थालेको छ। त्यसैले चुनावी मैदानमा देखिएको नाचगान र एकतर्फी संवादले परिवर्तनको नारा कति गम्भीर छ भन्ने प्रश्नलाई थप गहिरो बनाएको छ।

अर्कोतर्फ, पुराना दलका नेताहरू पनि आफ्नै संकटसँग जुधिरहेका छन्। केपी शर्मा ओलीका सम्बोधनहरूमा देखिएको तीखोपन, गगन थापाले विगतका कार्यशैलीबारे सार्वजनिक रूपमा माफी माग्दै गरेको प्रयास र पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय उदाहरणहरू उल्लेख गर्दै दिएको चेतावनीले पुराना शक्तिहरू पनि दबाबमा रहेको संकेत दिएका छन्। उनीहरूमाथि विगतका काण्ड र निर्णयहरूको भारी अझै कायम छ, जसका कारण उनीहरू रक्षात्मक अवस्थामा देखिन्छन्।

यस अवस्थामा, परिवर्तनको नाममा देखिएको उत्साह वास्तवमै सुधारको संकेत हो, कि अर्को राजनीतिक चक्रको सुरुवात मात्र? भन्ने प्रश्न उठेको छ। फागुन २१ को मतदानले केवल सरकार मात्र होइन, देशको राजनीतिक संस्कृतिको दिशा पनि निर्धारण गर्ने भएकाले मतदाताले आफैँसँग गम्भीर प्रश्न सोध्ने समय आएको विश्लेषकहरू बताउँछन्।

अन्तिम निर्णय मतदाताकै हातमा छ, तर त्यो निर्णय अघि एउटा प्रश्न भने अनिवार्य रूपमा उभिएको छ—नयाँ भनिएको राजनीति साँच्चै नयाँ हो कि केवल शैली मात्रै फरक हो?

भीडीओ हेर्न यहाँ क्लिक गर्नुहोस।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट