उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा ‘घण्टी’को सुनामीः १३ हजार मतले रास्वपाको अग्रता

जनकपुर– धनुषा निर्वाचन क्षेत्र नम्बर–१ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाले अनौठो र जटिल राजनीतिक अवस्था सिर्जना गरेको छ। उम्मेदवारी नै खारेज भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’को चुनाव चिह्न ‘घण्टी’मा अत्यधिक मत खसेको छ।

मतगणनाको पछिल्लो अवस्थाअनुसार रास्वपाको चुनाव चिह्न घण्टीमा २० हजार ९१६ मत खसेको छ। यो मत संख्या प्रतिस्पर्धामा रहेका अन्य सबै उम्मेदवारको भन्दा १३ हजारभन्दा बढी हो। तर विडम्बना के छ भने, यति ठूलो जनसमर्थन देखिएको उम्मेदवारको उम्मेदवारी भने निर्वाचन आयोगले केही दिनअघि नै खारेज गरिसकेको छ।

निर्वाचन आयोगले बैंकको कालोसूचीमा परेको कम्पनीसँग सम्बन्धित भएको आधार देखाउँदै फागुन १८ गते साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। आयोगका अनुसार साहको स्वामित्वमा रहेको ‘कमल निर्माण सेवा’ कालोसूचीमा परेको विषयलाई लिएर उनीविरुद्ध उजुरी परेको थियो। उक्त उजुरी १० फागुनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको थियो।

उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले ११ फागुनमा सो विषय निर्वाचन आयोगमा पठाएको थियो। आयोगले त्यसपछि १४ फागुनमा साहसँग स्पष्टीकरण र प्रमाण पेस गर्न निर्देशन दिएको थियो। तर सन्तोषजनक जवाफ नआएको निष्कर्ष निकाल्दै आयोगले १८ फागुनमा उम्मेदवारी खारेज गर्ने निर्णय सुनाएको थियो।

उम्मेदवारी खारेज भएपछि साहले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। तर सर्वोच्च अदालतले अहिलेसम्म यस विषयमा कुनै अन्तरिम आदेश जारी गरेको छैन। रिट निवेदनमाथि २४ फागुनमा पेसी तोकिएको छ। यसबीच धनुषा–१ मा मतगणना निरन्तर चलिरहेको छ।

यही परिस्थितिमा सबैभन्दा बढी मत घण्टी चुनाव चिह्नमा परिरहेको भए पनि निर्वाचन आयोगले उक्त मतलाई अन्तिम परिणाममा कसरी समेट्ने भन्ने विषयमा छुट्टै प्रक्रिया अपनाएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज भएपछि घण्टीमा परेको मतको व्यवस्थापनबारे आयोगसँग स्पष्ट निर्देशन मागेको थियो। त्यसपछि आयोगले तीन बुँदे निर्देशन जारी गर्दै घण्टी चुनाव चिह्नमा स्वस्तिक छाप लागेका मतपत्रलाई पनि गणना गर्न तर छुट्टै लगतमा राख्न निर्देशन दिएको छ।

आयोगको निर्देशनअनुसार मतगणनाका क्रममा घण्टी चुनाव चिह्नमा स्वस्तिक छाप लागेका मतपत्रहरू पनि गणना गरिँदैछन्, तर ती मतपत्रहरूलाई अलग सूचीमा अभिलेख गरिँदैछ। आयोगले त्यस्ता मतपत्रबाहेकका अन्य उम्मेदवारका मतलाई नियमित प्रक्रियाअनुसार गणना गरी निर्वाचन परिणाम प्रकाशन गर्न निर्देशन दिएको छ।

पछिल्लो मतगणना विवरणअनुसार उम्मेदवारी कायम रहेका उम्मेदवारहरूमध्ये नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादवले ७ हजार ५६६ मत प्राप्त गरेका छन्। उनी हाल दोस्रो स्थानमा छन्। नेपाली कांग्रेसका उम्मेदवार रामपल्टन साह ७ हजार ४२८ मतसहित तेस्रो स्थानमा छन् भने नेकपा एमालेका उम्मेदवार रामचन्द्र मण्डल ६ हजार ६०५ मतसहित चौथो स्थानमा रहेका छन्।

तर वास्तविकता के हो भने, निर्वाचन मैदानमा रहेका कुनै पनि उम्मेदवारले रास्वपाको घण्टी चुनाव चिह्नमा परेको मतको नजिकसम्म पुग्न सकेका छैनन्। यसले धनुषा–१ को चुनावी परिणामलाई कानुनी, संवैधानिक र राजनीतिक दृष्टिले जटिल बनाइदिएको छ।

स्थानीय तहदेखि राष्ट्रिय राजनीतिक वृत्तसम्म अहिले एउटै प्रश्न उठिरहेको छ—यदि सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्यायो भने घण्टीमा परेको मतले सिधै विजय दिलाउन सक्छ, तर अदालतले आयोगको निर्णय सदर ग¥यो भने सबैभन्दा बढी मत पाएको चुनाव चिह्नको मत गणनामा कसरी लिईन्छ ?

यही अनिश्चितताले धनुषा–१ को मतगणनालाई सामान्य चुनावी प्रतिस्पर्धाभन्दा निकै फरक र विवादास्पद बनाएको छ। जनताले अत्यधिक मत दिएको चुनाव चिह्न कानुनी विवादमा फसेपछि यहाँको निर्वाचन परिणाम अन्ततः अदालतको फैसला र निर्वाचन आयोगको व्याख्यामा निर्भर हुने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट