रास्वपाको सुनामीमा बढारिए मधेशका ‘मसिहा’: किर्ते नागरिकता विवादित झालाई कमाण्डर बनाउँदा महँगो पर्‍यो चुनाव

राजविराज– रास्वपाको देशव्यापी सुनामीले यस पटक मधेशका मसिहा भनेर चिनिएका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि बढारेको छ। सप्तरी निर्वाचन क्षेत्र नम्बर–३ बाट उम्मेदवार बनेका यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरीसँग फराकिलो मतान्तरसहित पराजित भएका छन्।

निर्वाचन परिणामअनुसार अमरकान्त चौधरीले ३२ हजार ८ सय ७५ मत प्राप्त गर्दै स्पष्ट विजय हासिल गरेका छन्। उनका मुख्य प्रतिस्पर्धी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने १५ हजार २ सय ३९ मतमा सीमित भए। यसरी मतान्तरको हिसाबले हेर्दा चौधरीले यादवलाई दोब्बरभन्दा बढी मतले पराजित गरेका हुन्।

यस परिणामले लामो समयदेखि मधेशको राजनीतिमा प्रभावशाली मानिँदै आएका यादवको राजनीतिक धरातलमा ठूलो धक्का लागेको छ। एक समय मधेश आन्दोलनका प्रमुख नेतामध्ये मानिएका यादवले सुरक्षित राजनीतिक आधार खोज्दै यसपटक सप्तरी–३ बाट चुनाव लडेका थिए। तर चुनावी परिणामले उनको रणनीतिमाथि नै गम्भीर प्रश्न उठाइदिएको छ।

निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव ८ हजार ४ सय २८ मतसहित तेस्रो स्थानमा रहे भने नेकपा एमालेका उम्मेदवार ताराकान्त चौधरीले ६ हजार ७ सय १५ मत प्राप्त गर्दै चौथो स्थानमा सीमित भए। जनमत पार्टीका उम्मेदवार सुरेन्द्रप्रसाद शर्माले २ हजार ८ सय ६९ मत प्राप्त गरे भने नेपाली कम्युनिस्ट पार्टीका अरुणकुमार साहले १ हजार ६ सय ३५ मत ल्याए।

सप्तरी–३ मा कुल १ लाख ११ हजार ८ सय ७१ मतदाता रहेका थिए। तीमध्ये ७४ हजार ८ सय ८२ मत खसेको थियो, जसमा ४० हजार २ सय २३ महिला र ३४ हजार ६ सय ५९ पुरुष मतदाता सहभागी भएका थिए।

विजयी उम्मेदवार अमरकान्त चौधरीको राजनीतिक पृष्ठभूमि पनि यस चुनावसँग जोडिएर चर्चा भएको छ। उनी २०७४ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट सक्रिय राजनीतिमा प्रवेश गरेका थिए। उनका पिता स्वर्गीय चन्द्रकान्त चौधरी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यसबेला चन्द्रकान्त चौधरीले २२ हजार ५ सय ८४ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए।

यसपटक अमरकान्त चौधरीले त्यो मत परिणामलाई धेरै पछाडि पार्दै नयाँ राजनीतिक सन्देश दिएका छन्। विश्लेषकहरूका अनुसार मधेशको परम्परागत दलप्रतिको असन्तुष्टि र नयाँ राजनीतिक विकल्पप्रतिको आकर्षणले यस परिणाममा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।

यसैबीच चुनावअघि नै जसपा नेपालभित्र देखिएको असन्तुष्टि र संगठनात्मक संकट पनि चुनावी परिणामसँग जोडेर हेरिएको छ। पार्टीभित्र नातावाद, कृपावाद, जातिवाद र अर्थवाद बढ्दै गएको आरोप लगाउँदै विभिन्न स्थानीय नेता तथा कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका थिए।

पार्टीका समन्वय समिति सदस्य जयप्रकाश ठाकुरले पार्टी परित्याग गर्दै सार्वजनिक रूपमा नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका थिए। ठाकुरले पार्टीभित्र सामूहिक निर्णय प्रक्रिया कमजोर पारिएको र संगठन व्यक्ति–केन्द्रित बन्दै गएको आरोप लगाएका थिए। उनको बहिरगमनलाई मधेशको राजनीतिमा संकेतात्मक घटनाका रूपमा पनि हेरिएको थियो।

चुनाव नजिकिँदै जाँदा स्थानीय तहमा समेत जसपा नेपालको आधार कमजोर हुँदै गएको संकेत देखिएको थियो। रूपनी गाउँपालिकाका पूर्व वडा अध्यक्ष पीताम्बर यादवसहित दर्जनौँ कार्यकर्ताले पार्टी छोड्दै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

यसबीच जसपा नेपालको चुनावी अभियानमा नागरिकता विवादमा मुछिएका व्यक्तिहरूको सक्रियता पनि चर्चाको विषय बनेको थियो। नागरिकता सम्बन्धी आरोप लागेका शैलेन्द्रमोहन झा जस्ता व्यक्तिहरू नेतृत्वसँग नजिक देखिनुले पार्टीभित्रै असन्तोष बढेको चर्चा मधेशमा व्यापक भएको थियो।

राजनीतिक विश्लेषकहरूका अनुसार यी सबै घटनाक्रमले चुनावी वातावरणमा प्रत्यक्ष असर पारेको देखिन्छ। संगठनात्मक असन्तुष्टि, स्थानीय नेतृत्वको पलायन र प्रतिद्वन्द्वी दलहरूको रणनीतिक समीकरणले अन्ततः उपेन्द्र यादवको चुनावी आधार कमजोर बनाएको आकलन गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट