९० दिनको चुनाव प्रचारमा फेसबुकले लग्यो १ करोड ५५ लाख, ६ लाख बढी खर्च गरेका एमाले नेताको पेज चुनावपछि गायब

काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को चुनावी अभियानमा सामाजिक सञ्जालको प्रयोग अभूतपूर्व रूपमा बढेको देखिएको छ। विशेषगरी फेसबुक विज्ञापनमार्फत राजनीतिक दल र उम्मेदवारहरूले ठूलो रकम खर्च गरेका छन्। पछिल्लो तथ्याङ्कले देखाएअनुसार निर्वाचनको ९० दिनको अवधिमा नेपालबाट फेसबुक विज्ञापनमा मात्रै करिब १ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम खर्च भएको छ।

मेटाको ‘एड लाइब्रेरी’मा उपलब्ध तथ्याङ्कअनुसार उक्त अवधिमा नेपालबाट कुल १ लाख ५ हजार ८३२ अमेरिकी डलर फेसबुक विज्ञापनमा खर्च भएको देखिन्छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन २७ गतेको विनिमयदर अनुसार प्रतिडलर १४७.२० रुपैयाँका आधारमा गणना गर्दा यो रकम करिब १ करोड ५५ लाख ७८ हजार रुपैयाँ पुग्छ। सोही रकमबाट फेसबुकमा ९ हजार ७९ वटा राजनीतिक विज्ञापन प्रकाशित भएका थिए। यसले नेपाली राजनीतिमा डिजिटल प्रचारको प्रभाव तीव्र रूपमा बढेको संकेत दिएको छ।

यसै क्रममा काठमाडौँ क्षेत्र नम्बर–९ बाट उम्मेदवारी दिएका अजयक्रान्ति शाक्य डिजिटल प्रचारमा सबैभन्दा बढी खर्च गर्ने उम्मेदवारमध्ये अग्रस्थानमा देखिएका थिए। नेकपा (एमाले) का तर्फबाट प्रतिस्पर्धा गरेका शाक्यले फेसबुक विज्ञापनमार्फत व्यापक प्रचार गरेका थिए। मेटा एड लाइब्रेरीका अनुसार उनको प्रचारका लागि पछिल्ला ९० दिनमा मात्रै करिब ४ हजार ४२३ अमेरिकी डलर खर्च गरिएको थियो, जुन नेपाली रुपैयाँमा झण्डै ६ लाख ४८ हजार बराबर हुन्छ।

त्यस्तै पछिल्लो ३० दिनको अवधिमा मात्रै उनको फेसबुक पेजबाट ३ हजार ६४० अमेरिकी डलर, अर्थात् करिब पाँच लाख ३३ हजार रुपैयाँ बराबरको विज्ञापन गरिएको थियो। सोही अवधिमा शाक्यसँग सम्बन्धित फेसबुक पेजबाट २६५ वटा पोस्ट बुस्ट गरिएको तथ्याङ्कले देखाउँछ। चुनावअघि उक्त पेजमा तीन लाख २६ हजारभन्दा बढी फलोअर रहेको गुगलमा इन्डेक्स भएका विवरणहरूमा उल्लेख छ। तर निर्वाचन परिणाम सार्वजनिक भएपछि भने शाक्यको आधिकारिक फेसबुक पेज अचानक गायब भएको छ।

लाखौँ फलोअर भएको उक्त पेज किन हटाइयो वा हरायो भन्नेबारे हालसम्म स्पष्ट कारण खुल्न सकेको छैन। निर्वाचन आयोगले मौन अवधि सुरु हुनुअघि सामाजिक सञ्जालमा रहेका चुनावी विज्ञापन तथा प्रचार सामग्री हटाउन निर्देशन दिएको थियो। त्यसैले पनि अहिले उक्त पेजमा चुनावअघि के–कस्ता प्रचार सामग्री राखिएका थिए भन्ने हेर्न सकिने अवस्था छैन।

निर्वाचन परिणामले भने डिजिटल प्रचारमा गरिएको ठूलो खर्चलाई मतमा रूपान्तरण गर्न शाक्य असफल भएको देखाएको छ। काठमाडौं क्षेत्र नम्बर–९ को अन्तिम मतपरिणाम अनुसार उनले जम्मा ४ हजार ५८० मत मात्रै प्राप्त गरे। सो क्षेत्रमा ३५ हजार ९३ मतसहित डोलप्रसाद अर्याल विजयी भए। उनी राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार थिए। त्यस्तै नेपाली कांग्रेस की उम्मेदवार नानुमैया बास्तोला पाँच हजार ४६० मतसहित दोस्रो स्थानमा रहिन्।

डिजिटल प्रचारमा ठूलो रकम खर्च गर्ने अन्य उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा सफल हुन सकेनन्। कांग्रेस उम्मेदवार नैनसिंह महरले फेसबुक प्रचारमा करिब २ हजार ७३९ अमेरिकी डलर खर्च गरेका थिए, तर उनी पराजित भए। त्यस्तै पाल्पा–२ बाट उम्मेदवारी दिएका सोमप्रसाद पाण्डेले २ हजार ६६४ डलर खर्च गरेका थिए भने कास्की–२ का उम्मेदवार कुशल गुरुङले २ हजार ५५८ डलर फेसबुक विज्ञापनमा खर्च गरेका थिए। यी दुवै उम्मेदवार पनि चुनाव जित्न असफल भए।

यसैगरी उद्योगपति नेता विनोद चौधरीले पनि फेसबुक प्रचारमा करिब १ हजार ५० डलर खर्च गरेका थिए तर उनी पनि विजयी हुन सकेनन्। धादिङ–१ का उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले १ हजार १६ डलर खर्च गरेका थिए तर उक्त क्षेत्रमा आशिका तामाङ विजयी भइन्। सर्लाही–२ बाट उम्मेदवारी दिएका राजेन्द्र महतोले पनि करिब १ हजार ३४ डलर फेसबुक विज्ञापनमा खर्च गरेका थिए, तर उनी पनि पराजित भए।

समाजशास्त्रीय अर्थशास्त्री देवेन्द्र गौचनका अनुसार इन्टरनेट र मोबाइल फोनको पहुँच बढेसँगै चुनावी प्रचारमा डिजिटल माध्यमको प्रभाव तीव्र रूपमा बढ्दै गएको छ। तर सामाजिक सञ्जालमा गरिने विज्ञापनका कारण ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिने अवस्था पनि सिर्जना भएको उनले औँल्याएका छन्।

निर्वाचन सकिएपछि उम्मेदवारहरूले चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाइरहेका भए पनि सामाजिक सञ्जालमार्फत भएको वास्तविक विज्ञापन खर्च कति हो भन्ने विषय अझै पूर्ण रूपमा स्पष्ट भएको छैन। त्यसैले डिजिटल प्रचारमा भएको खर्चको पारदर्शिता र निगरानीबारे थप बहस सुरु भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट