मनकामना दर्शनबाट फर्किँदै गरेको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ भारतीय तीर्थयात्रीको मृत्यु
गोरखा— प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री बोकेको ईभी माइक्रो बस गोरखामा दुर्घटनामा पर्दा सात जनाको घट्नास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेहरू दुई महिला र पाँच पुरुष छन्।
सबै मृतक भारतीय नागरिक रहेको पुष्टि भएको छ। शनिबार साँझ मन्दिर दर्शन गरी फर्कँदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस गोरखाको सहिद लेखनाथ गाउँपालिका–३ स्थित कनटार क्षेत्रमा दुर्घटनामा परेको हो।
आफैं अनियन्त्रित भएको काईक्रो सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ। तीर्थयात्री बोकेको सवारी एकाएक सडकबाट तल झरेपछि घटनास्थलमा भयावह दृश्य देखिएको स्थानीयले बताएका छन्।
प्रहरीका अनुसार माइक्रो बसमा चालक र सहचालकसहित कुल १६ जना सवार थिए। तीमध्ये १४ जना भारतीय नागरिक तीर्थयात्री थिए, जो मनकामना मन्दिर दर्शनका लागि नेपाल आएका थिए। दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ, अन्य सात जना घाइते भएका छन् र उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकको अस्पताल पठाइएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक अनुमानमा सवारी नियन्त्रण गुम्नु वा सडकको जोखिमपूर्ण अवस्था दुर्घटनाको कारण हुन सक्ने बताइएको छ। घटनाको पूर्ण विवरण भने थप अनुसन्धानपछि मात्र सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
