प्रधानमन्त्रीलाई रक्षा बमको आग्रहः ‘मेरो हातमा रगत छ कि छैन, राज्यले भनिदेओस्’

काठमाडौँ— जेनजी आन्दोलनकी अगुवा रक्षा बम फेरि एकपटक सार्वजनिक बहसको केन्द्रमा उभिएकी छन्। पछिल्लो समय घाइते तथा पीडितहरूको आक्रोशको निशानामा परेपछि उनले प्रधानमन्त्रीलाई प्रत्यक्ष सम्बोधन गर्दै कडा र भावनात्मक सार्वजनिक वक्तव्य जारी गरेकी छन्।

वक्तव्यमा उनले आन्दोलनसँग जोडिएका घटनाको सत्य तथ्य राज्यले नै खुलाउनुपर्ने माग गरेकी छिन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको वक्तव्यमा बमले आफू र आन्दोलनसँग जोडिएका व्यक्तिहरूमाथि गम्भीर आरोपहरू लगाइँदै आएको उल्लेख गर्दै ती आरोपहरूको जवाफ व्यक्तिगत रूपमा दिइरहन सम्भव नभएको स्पष्ट पारेकी छन्।

उनले अब सरकारले आधिकारिक रूपमा प्रतिवेदन सार्वजनिक गरेर सत्य उजागर गर्नुपर्ने अडान राखेकी छन्। विशेषगरी गौरीबहादुर कार्की नेतृत्वमा तयार गरिएको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न उनको माग छ।

वक्तव्यमा बमले अत्यन्तै संवेदनशील र सिधा प्रश्नहरू उठाएकी छन। आन्दोलन कसरी हिंसात्मक बन्यो, गोली चलाउने आदेश कसले दियो, सिंहदरबारमा आगजनी कसरी भयो र त्यसमा कसको भूमिका थियो भन्नेबारे निष्पक्ष र पारदर्शी छानबिन आवश्यक रहेको उनले जोड दिएकी छन्।

‘मेरो हातमा रगत लागेको छ कि छैन, म त्यो जान्न चाहन्छु। मैले सिंहदरबार जलाएको हो कि होइन, म त्यो जान्न चाहन्छु,’ भन्ने उनको अभिव्यक्तिले अहिलेको बहसलाई अझै तीव्र बनाएको छ। उनले आफू कतैबाट परिचालित भएको आरोपसमेत खारेज गर्दै त्यसबारे स्पष्ट उत्तर राज्यबाटै खोजेकी छिन्।

उनका अनुसार आन्दोलनको सुरुवात शान्तिपूर्ण भए पनि पछि एकाएक हिंसात्मक कसरी बन्यो भन्ने प्रश्नको जवाफ नआएसम्म आफूहरूमाथि लागेका आरोपहरू अन्त्य नहुने र त्यसले जीवनभरि बदनाम बोक्नुपर्ने अवस्था सिर्जना हुने खतरा रहेको छ।

रक्षा बमले प्रधानमन्त्रीको नेतृत्वप्रति प्रारम्भमा विश्वास व्यक्त गर्दै देश जटिल अवस्थाबाट गुज्रिरहेको बेला स्थायित्व कायम राख्दै निर्वाचन सम्पन्न गराएकोमा धन्यवादसमेत दिएकी छिन्। तर त्यससँगै उनले सडकमाथि देखिएको वर्तमान यथार्थतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै गम्भीर असन्तुष्टि पनि व्यक्त गरेकी छन्।

‘हामीमाथि कस्तो व्यवहार भइरहेको छ, कस्ता प्रश्नहरू सोधिँदैछन्, के तपाईंले देखिरहनुभएको छ?’ भन्ने उनको प्रश्नले सरकारको मौनतालाई सीधा चुनौती दिएको छ। उनले सामाजिक सञ्जाल, विशेषतः फेसबुकका इनबक्स र कमेन्टमार्फत निरन्तर दुव्र्यवहार भोग्दै आएको उल्लेख गर्दै यसलाई अब सामान्य रूपमा लिन नसकिने बताएकी छन्।

उनका अनुसार पीडितहरूको आवाज चर्किंदै गएको छ र त्यसलाई समयमै सम्बोधन नगरे परिस्थिति झनै जटिल बन्न सक्ने चेतावनी दिएकी छिन्। वक्तव्यको अन्त्यतिर उनले प्रधानमन्त्रीलाई नैतिक र ऐतिहासिक जिम्मेवारीको स्मरण गराउँदै भनेकी छिन— न्यायको अपेक्षामा बसेका आँखाहरू अहिले सरकारतर्फ केन्द्रित छन् र इतिहासले कसरी सम्झिन्छ भन्ने निर्णय आजकै कदमले तय गर्नेछ।

रक्षा बम खासगरी आफैंले फेसवुकमा पोष्ट गरेको एउटा फोटोका कारण निरन्तर विवादमा पर्दै आएकी छिन्। जेनजी आन्दोलनका क्रममा जल्दै गरेको सिंहदरबारलाई पृष्ठभूमिमा पारेर खिचिएको उनको फोटोले उनी एकदमै खुसी भएको स्पष्ट पार्छ। दुवै हात उठाएर खुसी मनाईरहेको फोटो शेयर गर्दै उनले लेखेकी थिईन–‘हाम्रो खुन बगाईस, ल हेर तेरो पतन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट