सप्तरीमा होस्टेलभित्रै १४ वर्षीय बालक मृत भेटिएपछि खैलाबैला, हत्या भएको परिवारको आरोप

राजविराज — सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्लिस बोर्डिङ स्कुलको होस्टेलभित्रै १४ वर्षीय बालक मृत अवस्थामा भेटिएपछि सनसनी मच्चिएको छ।

होस्टेलमा बस्दै आएका खडक–९ लालपट्टीका १४ वर्षीय धमेन्द्रकुमार साहको शनिबार दिउँसो मृत्यु भएको हो। विद्यालयले यसलाई आत्महत्या भन्दै सामान्य बनाउन खोजे पनि मृतकका आफन्तले घटनाक्रम नै शंकास्पद रहेको आरोप लगाएका छन्।

कक्षा ७ मा अध्ययनरत धमेन्द्र विगत सात वर्षदेखि सोही विद्यालयको होस्टेलमा बस्दै आएका थिए। शनिबार बिहान करिब १० बजे विद्यालय सञ्चालक शोभा चौधरीले उनकी बालककी आमा ममता साहलाई फोन गर्दै ‘छोराले मोबाइल चलाएको’ विषयमा जानकारी गराउँदै तत्काल विद्यालय बोलाएकी थिइन्।

तर त्यसको केही समयमै अचानक अर्को फोन आयो—यसपटक सूचना थियो, ‘छोरा मरिसकेको छ, द्वारिका हस्पिटल आउनुस्।’ यो छोटो अन्तरालमै भएको नाटकीय परिवर्तनले नै परिवारलाई शंका गर्न बाध्य बनाएको छ। ममता साहका अनुसार विद्यालयले घटनाबारे तुरुन्त जानकारी नदिई बालकलाई हतारमा अस्पताल पु¥याएको थियो।

उनी अस्पताल पुग्दा मात्र छोरा ‘होस्टेलमै झुण्डिएको अवस्थामा भेटिएको’ भनिएको सुनाइएको थियो। घटना लुकाउने प्रयासस्वरूप सबै प्रक्रिया गोप्य राखेर अस्पताल लगिएको परिवारको आरोप छ। घटनाको अर्को गम्भीर पाटो भनेको सञ्चार सम्पर्कमा देखिएको विरोधाभास हो।

ममताले विद्यालयबाट फोन आएको केही मिनेटमै पुनः सम्पर्क गर्न खोज्दा फोन नलाग्नु, र होस्टेलकै किचेनमा काम गर्ने व्यक्तिबाट ‘बालक होस्टेलमै बसिरहेको’ भन्ने जवाफ आउनु, तर त्यसपछि अचानक मृत्युको खबर आउनुले घटनाको विश्वसनीयतामाथि थप प्रश्न उठाएको छ।

मृतकका काका दिलिपप्रसाद साहले घटनास्थलको अवस्थाले पनि आत्महत्याको दाबीलाई कमजोर बनाएको बताएका छन्। उनका अनुसार घटना हुनुअघि नै सिसिटिभी बन्द गरिएको पाइएको छ, जुन संयोग मात्र हुन नसक्ने उनको तर्क छ। अझै गम्भीर कुरा, बालक झुण्डिएको भनिएको स्थानको उचाइ नै यस्तो छ कि १४ वर्षको बालकले आफैं त्यहाँ पुगेर झुण्डिन सक्ने अवस्था देखिँदैन। यी सबै तथ्यहरूले घटनालाई साधारण आत्महत्या भन्दा धेरै परको बनाएको उनको दाबी छ।

परिवारले समयमै प्रहरीलाई जानकारी नदिइएको र अनुसन्धानमा ढिलाइ भएको आरोप पनि लगाएको छ। घटनापछि विद्यालय सञ्चालक शोभा चौधरी र उनका श्रीमान् धिरेन्द्रले नै पासो काटेर बालकलाई अस्पताल पुर्‍याएको र त्यसपछि मात्र परिवार तथा प्रहरीलाई खबर गरिएको बताइएको छ। यसले घटनाको पारदर्शितामाथि थप प्रश्न खडा गरेको छ।

यता, विद्यालय पक्ष भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै घटनालाई आत्महत्या नै भएको दाबी गरिरहेको छ। सञ्चालक चौधरीले सबै आरोप निराधार भएको बताएकी छिन् भने धिरेन्द्रले आफू घटनास्थलमा नभएको र विद्यार्थीको जानकारीपछि ढोका फोडेर बालकलाई उद्धार गरी अस्पताल पु¥याइएको बताएका छन्। उनका अनुसार अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरेपछि मात्र सबैलाई जानकारी गराइएको हो।

बालकको शव पोस्टमार्टमका लागि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। तर रिपोर्ट आउन बाँकी रहेकाले कानुनी प्रक्रिया अघि बढ्न सकेको छैन। इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर सञ्जीव बोगटीका अनुसार परिवारले उठाएका शंकाका आधारमा प्रारम्भिक सोधपुछ भइसकेको छ र पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै थप कानुनी प्रक्रिया अघि बढाइनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट