रास्वपाको जीतमा ‘सेनादेखि एनजिओसम्मको हात’: एमालेले संसद्मै दियो ‘धन्यवाद’

काठमाडौँ — प्रतिनिधिसभाको पहिलो बैठकमै नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक चुनावी सफलता माथि गम्भीर र असामान्य आरोप लगाएको छ। झण्डै दुई तिहाइ बहुमतसहित पहिलो शक्ति बनेको रास्वपाको विजयलाई एमालेले स्वाभाविक जनमतको परिणाम मान्न अस्वीकार गर्दै त्यसको पछाडि विभिन्न ‘शक्ति केन्द्र’को भूमिका रहेको दाबी गरेको हो।

संसद्मा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले रास्वपाको जीत केवल राजनीतिक प्रतिस्पर्धाको परिणाम नभई संगठित प्रभाव र योजनाको उपज भएको संकेत गरे। उनले नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, बारबरा फाउन्डेसन, हामी नेपाल र टीओवीजस्ता संस्थासम्मको नाम लिँदै ती सबैलाई व्यंग्यात्मक शैलीमा ‘धन्यवाद’ दिए।

उनको भनाइमा यो विजय ‘जादूमयी’ शैलीमा निर्माण गरिएको थियो, जहाँ टीओबी, अल्गोरिदम र गोयबल्स शैलीको प्रचार रणनीति प्रयोग गरिएको आरोप उनले लगाए। उनले देशको राजनीतिक कथानकलाई नै उल्ट्याइएको दाबी गरे। शान्ति र समृद्धिका पक्षमा उभिएका पात्रहरूलाई खलनायकको रूपमा चित्रण गरिएको र सत्तामा पुग्ने समूहलाई नायकको रूपमा प्रस्तुत गरिएको भन्दै उनले चुनावी प्रक्रियामाथि नै प्रश्न उठाए।

यस्तो चित्रण योजनाबद्ध रूपमा गरिएको संकेत गर्दै उनले यसलाई आधुनिक प्रविधि र मनोवैज्ञानिक प्रभाव प्रयोग गरेर निर्माण गरिएको ‘न्यारेटिभ’को परिणाम भने। एमालेले रास्वपालाई औपचारिक रूपमा बधाई दिँदै त्यसको जीतको पृष्ठभूमिमा रहेको भनिएको शक्ति सन्तुलनबारे निरन्तर आवाज उठाउने चेतावनी दिएको छ।

संसद्मै यस विषयलाई उठाउँदै जाने बताउँदै बादलले पराजयलाई आत्मसात गरेपनि त्यसका कारणहरू खोज्ने आफ्नो दायित्व रहेको उल्लेख गरे। भदौ २३ र २४ का घटनामा ज्यान गुमाउनेहरूलाई स्मरण गर्दै उनले राजनीतिक परिवर्तनको मूल्य र त्यससँग जोडिएका घटनाक्रमलाई पनि जोड दिए। तर, उनको समग्र सम्बोधनले चुनावी परिणामप्रति असन्तुष्टि मात्र होइन, त्यसको वैधतामाथि नै अप्रत्यक्ष प्रश्न उठाएको देखिन्छ।

एमालेको यो धारणा सार्वजनिक भएपछि अब संसद्भित्र र बाहिर दुवै ठाउँमा ती आरोपहरूको प्रतिवाद र बहस तीव्र हुने संकेत देखिएको छ। रास्वपाको विजयलाई लिएर उठेका यस्ता गम्भीर अभिव्यक्तिहरूले नेपालको वर्तमान राजनीतिक परिदृश्यलाई थप ध्रुवीकृत बनाउने सम्भावना समेत बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट