संसदमा बादल बोल्दै गर्दा गृहमन्त्री गुरुङको ‘केटाकेटीपन’: के हुन्छ यस्तो शारीरिक हाउभाउनको संकेत?
काठमाडौँ— प्रतिनिधिसभाको औपचारिक बैठकमा प्रतिपक्षी दलका नेताको सम्बोधन चलिरहँदा गृहमन्त्री सुधन गुरुङले देखाएको शारीरिक हाउभाउ यतिबेला राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म तीव्र बहसको विषय बनेको छ।
बिहीबारको बैठकमा नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ बोलिरहँदा गुरुङले देखाएको प्रतिक्रिया कैद भएको भिडियो सार्वजनिक भएसँगै यसले संसदीय मर्यादा र राजनीतिक शिष्टाचारमाथि गम्भीर प्रश्न खडा गरेको हो।
बैठकका क्रममा बादलले जेन–जी आन्दोलन र त्यसपछिका घटनाक्रमबारे कडा टिप्पणी गरिरहेका थिए। त्यसैबेला गुरुङले लामो सास तानेर दाहिने हातको पञ्जा आकाशतिर फर्काउँदै केही बोलिरहेको संकेत गरेका देखिन्छन्।
उक्त हाउभाउलाई धेरैले ‘बोलिएको कुरा अस्वीकार गर्ने’ वा ‘त्यस्तो पनि कुरा गर्ने हो ?’ भन्ने भावका रूपमा अथ्र्याएका छन्। यही कारणले सामाजिक सञ्जालमा यसलाई प्रत्यक्ष रूपमा बादलको अभिव्यक्तिप्रति गरिएको असहमति वा व्यंग्यका रूपमा व्याख्या गरिएको छ।
संसद जस्तो संवेदनशील र औपचारिक स्थलमा, विशेषगरी प्रतिपक्षी दलका नेताले आफ्नो धारणा राखिरहेका बेला सरकारका जिम्मेवार मन्त्रीबाट यस्तो व्यवहार देखिनु सामान्य नभएको टिप्पणीहरू बढिरहेका छन्। धेरैले यसलाई असामान्य मात्र होइन, ‘केटाकेटीपन’ र ‘अपरिपक्व प्रतिक्रिया’ को रूपमा समेत व्याख्या गरेका छन्।
सत्ता पक्षबाट अपेक्षित संयमता र मर्यादाको सन्दर्भमा गुरुङको यो हाउभाउलाई लिएर आलोचना तीव्र बन्दै गएको छ। उक्त सम्बोधनका क्रममा बादलले जेन–जी आन्दोलनका दिनहरूमा भएका घटनाहरूलाई उल्लेख गर्दै ‘हतियारबद्ध टीओबीहरू तिलस्मी रूपमा प्रकट भएर सिंहदरबार, शीतलनिवास, बालुवाटार, सर्वोच्च अदालत र विभिन्न संरचनामा आगजनी गरिएको’ भन्दै त्यसको उद्देश्यबारे सरकारसँग स्पष्ट जवाफ मागेका थिए।
उनको यो आक्रामक अभिव्यक्तिका बीच देखिएको गृहमन्त्रीको प्रतिक्रिया अहिले राजनीतिक सन्देशको रूपमा समेत विश्लेषण हुन थालेको छ।
राजनीतिमा शब्द मात्र होइन, हाउभाउ पनि सन्देश बोक्ने माध्यम मानिन्छ। संसदभित्र देखिएको यस्तो दृश्यले सत्ता र प्रतिपक्षबीचको सम्बन्ध, आपसी सम्मान र संवाद संस्कृतिको स्तरबारे नयाँ बहस सुरु गराएको छ। गुरुङको उक्त व्यवहार आकस्मिक प्रतिक्रिया हो कि सचेत सन्देश भन्ने प्रश्न अझै खुला छ, तर यसले उठाएको तरंगले भने संसदीय आचरणबारे पुनः सोच्न बाध्य पारेको छ।
