‘१७ वर्षको मेहनत १७ सेकेन्डमै सकियो’ भन्दै हिरासतमै भक्कानिए सागर लम्साल ‘बले’

काठमाडौँ– सामाजिक सञ्जालमा आएको एउटा स्ट्याटसले कलाकारको वर्षौँको मेहनत र पहिचानलाई कति छिटो धराशायी बनाउन सक्छ भन्ने कठोर उदाहरण बनेका छन्– सागर लम्साल (बले)।

अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत लगाएको बलात्कार आरोपपछि प्रहरी हिरासतमा रहेका लम्सालले आफ्नै शब्दमा आफ्नो करियर ‘क्षणभरमै समाप्त भएको’ पीडादायी अनुभूति व्यक्त गरेका छन्।

हिरासतमा उनलाई भेट्न पुगेका निर्देशक राजु गिरीका अनुसार लम्साल पूर्ण रूपमा विछिप्त भएको अवस्थामा भेटिएका थिए। आफ्नो अवस्था सम्झँदै उनी भक्कानिएर रोएका थिए। ‘दाइ, मेरो १७ वर्षको मेहनत आज १७ सेकेन्डमै गयो’ भन्दै उनि भक्कानिएको गिरीले वताए।

गिरीका अनुसार, उनी स्वयं पनि त्यो दृश्य देखेर स्तब्ध भएका थिए र आँसु थाम्न सकेनन्। तर घटनाको सबैभन्दा जटिल र विवादास्पद पक्ष भनेको आरोपको कानुनी आधार हो। हालसम्म लम्सालविरुद्ध प्रहरीमा कुनै औपचारिक किटानी जाहेरी दर्ता भएको छैन।

सामाजिक सञ्जालमा आएको पोस्टलाई आधार बनाएर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। यही कारणले उनलाई बलात्कारको मुद्दामा नभई अभद्र व्यवहारको मुद्दामा अनुशन्धान भईरहेको छ। काठमाडौँका सीडीओ ईश्वरराज पौडेलले पाँच दिनको म्याद थपेर अनुसन्धान गर्न अनुमति दिएका छन्।

निर्देशक गिरीले यस प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार, एक वर्ष पुरानो भनिएको घटनामा बिना जाहेरी यस्तो सक्रियता देखिनु र एकतर्फी रूपमा कानुनी प्रक्रिया अघि बढ्नुले न्याय प्रणालीप्रति नै प्रश्न उठाउँछ। उनले दोषी प्रमाणित भए कडा सजाय हुनुपर्नेमा जोड दिँदै प्रमाणबिना कसैलाई अपराधीजस्तो व्यवहार गर्नु अन्याय हुने बताएका छन्।

यस घटनाले लम्सालको व्यावसायिक जीवनमा तत्काल प्रभाव पारेको छ। उनी संलग्न रहेको फिल्म ‘पाँच पाण्डव’बाट औपचारिक रूपमा हटाइसकिएको छ भने उनको मुख्य भूमिका रहेको ‘डल्लेले इन्ट्री मा¥यो’ फिल्मको भविष्य पनि अन्योलमा परेको छ।

निर्देशक गिरीकै निर्देशनमा तयार भएको उक्त फिल्म अब रिलिज हुने कि नहुने भन्ने अनिश्चित बनेको छ, जसले लगानी र समग्र टिमलाई समेत असर पार्ने देखिएको छ।

सामाजिक सञ्जालको एक पोस्टबाट सुरु भएको यो प्रकरण अहिले कानुनी, नैतिक र व्यावसायिक तीनै तहमा गहिरो बहसको विषय बनेको छ। एकातिर आरोपको गम्भीरता छ भने अर्कोतिर प्रक्रियागत न्यायको प्रश्न उठेको छ। यही द्वन्द्वबीच उभिएका सागर लम्सालको करियर अहिले सबैभन्दा कठिन मोडमा पुगेको देखिन्छ, जहाँ सत्य के हो भन्ने निष्कर्ष आउनुअघि नै उनको सार्वजनिक छवि धुतिसात भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट