वडाध्यक्ष र कांग्रेस कार्यकर्ताको नग्न भिडियो सार्वजनिक भएपछि खोटाङमा तरंग, दुवै वेपत्ता

काठमाडौँ– खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राई र स्थानीय नेपाली कांग्रेस कार्यकर्ता गीता थापा बस्नेतसँग सम्बन्धित नग्न भिडियो सार्वजनिक भएपछि जिल्लाभरि तरंग पैदा भएको छ। सामाजिक सञ्जालमार्फत अचानक बाहिरिएको उक्त भिडियोले स्थानीय राजनीति मात्र होइन, जनप्रतिनिधिको नैतिकता र सार्वजनिक उत्तरदायित्वबारे गम्भीर बहस सुरु भएको छ।

आइतबार साँझ बस्नेतको फेसबुक स्टोरीमा केही समयका लागि उक्त भिडियो देखिएको थियो। प्रारम्भिक अनुमानअनुसार, भिडियो गल्तीवश पोस्ट भएको हुनसक्ने देखिन्छ। तर, पोस्ट भएको केही मिनेटमै हटाइए पनि त्यसअघि नै केही व्यक्तिले भिडियो सेभ गरिसकेको र त्यसपछि म्यासेन्जर तथा ह्वाट्सएपमार्फत तीव्र रूपमा फैलिएको जनाइएको छ। अहिले उक्त सामग्री व्यापक रूपमा डिजिटल सर्कुलेसनमा रहेको बताइएको छ।

सार्वजनिक भएको भिडियोमा देखिएका दुवै व्यक्ति विवाहित हुन। वडाध्यक्ष राईकी एक छोरी छिन्, जसलाई केही समयअघि उच्च शिक्षाका लागि विदेश पठाइएको थियो। पारिवारिक रूपमा भने उनी आफ्नी श्रीमतीसँग छुट्टिएर बस्दै आएको र सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको स्रोतको दाबी छ। यता, बस्नेतका श्रीमान् र छोरा काठमाडौँमा बस्दै आएका छन्, छोरा प्राविधिक पेशामा संलग्न रहेको बताइएको छ।

भिडियो कहिले र कहाँ खिचिएको हो भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन। तर, दृश्यको प्रकृतिले दुवैबीच घनिष्ठ सम्बन्ध रहेको संकेत गर्ने भन्दै स्थानीय तहमा चर्चा चुलिएको छ। घटना सार्वजनिक भएसँगै वडाध्यक्ष राई सम्पर्कविहीन बनेका छन्। उनको फेसबुक खाता निष्क्रिय बनाइएको छ भने मोबाइल समेत बन्द छ। नगरपालिकाका प्रमुखसँग समेतले सम्पर्क नभएको जानकारी गराएका छन्।

यस घटनापछि बस्नेतका परिवारका सदस्य, विशेषगरी देवरसहितका आफन्तहरूले समाजमा अश्लीलता फैलाएको र पारिवारिक तथा सामाजिक प्रतिष्ठामा आघात पु¥याएको भन्दै नगरपालिकामा औपचारिक उजुरी दिएका छन्। उजुरीमा सम्बन्धित दुवै व्यक्तिमाथि कडा कारबाहीको माग गरिएको छ।

नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले उजुरी प्राप्त भएको पुष्टि गर्दै वडाध्यक्ष राईलाई स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। उनका अनुसार, मोबाइल सम्पर्क सम्भव नभएकाले म्यासेन्जर वा ह्वाट्सएपमार्फत सात दिनको म्यादसहित स्पष्टीकरण पत्र पठाइनेछ। तोकिएको समयभित्र जवाफ नआए कानुनी प्रक्रिया अनुसार कारबाही अघि बढाइने चेतावनी समेत उनले दिएका छन्।

घटनाले नेपाली कांग्रेससँग आवद्ध नेता कार्यकर्तामाथि दबाब बढेको छ। वडाध्यक्ष राई कांग्रेसका जिल्ला कार्यसमिति सदस्य हुन् भने बस्नेत क्रियाशील सदस्यका रूपमा चिनिन्छिन्। यसैबीच, उनीहरूविरुद्ध कडा अनुशासनात्मक कारबाही गर्न माग गर्दै जिल्ला सभापति विष्णुकुमार राईसमक्ष ज्ञापनपत्र समेत बुझाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट