‘करिडोर कुटनीति’: संसद वैठक छलेर रवि लामिछाने र गृहमन्त्री गुरुङबीच १५ मिनेट गोप्य वार्ता

काठमाडौँ– प्रतिनिधि सभाको बैठक जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गृहमन्त्री सुधन गुरुङबीच भएको गोप्य बार्ता अहिले चर्चामा छ। संसद भवनको करिडोरमा उनिहरुबी करिब १५ मिनेट लामो गोप्य कुराकानी भएपछि यसको आशय र सन्देशबारे चासो चुलिएको छ।

सोमबार संघीय संसद भवनको बहुउद्देश्यीय हल नजिकैको करिडोरमा भएको उक्त भेटघाट औपचारिक कार्यसूचीबाहिरको भए पनि अर्थपूर्ण मानिएको छ। बैठक चलिरहेकै समयमा दुवै नेता बाहिरिएर अलग्गै स्थानमा लामो समय छलफलमा व्यस्त देखिनु संयोग मात्र नभई कुनै संवेदनशील विषयमा केन्द्रित संवाद भएको अनुमान गरिएको छ।

प्रत्यक्षदर्शीका अनुसार कुराकानीका क्रममा दुवै नेताको अनुहार गम्भीर देखिएको थियो, जसले वार्ताको विषय सामान्य नभएको संकेत गर्छ। वार्ता सकिएपछि दुवै नेता पुनः प्रतिनिधि सभा बैठकमा फर्किएका थिए। तर, उनीहरूबीच के विषयमा छलफल भयो भन्नेबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

यही मौनताले झन् राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजीलाई जन्म दिएको छ। हालको राजनीतिक सन्दर्भमा गृहमन्त्रालयसँग जोडिएका विषयहरू, कानुनी विवादहरू तथा सत्ता–प्रतिपक्षबीचको सम्बन्ध संवेदनशील मोडमा रहेका बेला यस्तो ‘करिडोर कुटनीति’लाई अर्थपूर्ण रूपमा हेरिएको छ।

विशेषगरी, कानुन कार्यान्वयन र राजनीतिक हस्तक्षेपका विषयमा भइरहेका बहसबीच दुई प्रभावशाली नेताबीचको यो संवादले सम्भावित सहमति, दबाब वा रणनीतिक समन्वयको संकेत दिएको रूपमा व्याख्या हुन थालेको छ।

संसदभित्रको औपचारिक बहसभन्दा बाहिर हुने यस्ता अनौपचारिक भेटघाटहरू नेपाली राजनीतिमा नयाँ होइनन्, तर समय र सन्दर्भले यस्ता संवादलाई विशेष अर्थ दिन्छ। अहिलेको अवस्थाले देखाउँछ कि सार्वजनिक रूपमा नबोलिएका विषयहरू पनि पर्दाभित्र तीव्र रूपमा चलिरहेका छन्, जसको प्रभाव आगामी दिनमा नीति, निर्णय र राजनीतिक समीकरणमा देखिन सक्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट