१४ वर्षीय बालक हराएको ४ महिनापछि ‘अपहरण’को आरोपः प्रहरीको तथ्य र गाउँलेको बयानले उठायो गम्भीर प्रश्न
राजविराज– सप्तरीमा १४ वर्षीय बालक हराएको विषय चार महिनापछि गम्भिर चर्चाको विषय वनेको छ। तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामा निवासी जयकृष्णकुमार यादवका छोरा अमनकुमार यादव गत पुस १९ गते साँझदेखि सम्पर्क विहिन भएका छन्।
बालक घरबाट हिँडेको १ महिनापछि परिवारले प्रहरीमा खोजतलासको निवेदन दिएको थियो। तर, उक्त घट्ना खासै चर्चामा आएको थिएन। ४ महिनापछि बालकका पिताले आफनो छोरो अपहरणमा परेको र अपहरणमा छिमेकीहरु रामदेव यादव र कारी यादव संलग्न रहेको आरोप लगाएपछि घट्ना एकाएक गम्भिर मोडमा पुगेको हो।
जयकृष्णले शुक्रबार नेपाल पत्रकार महासंघ सप्तरीमा पत्रकार सम्मेलन गर्दै रामदेव र कारीले मिलेर अमनलाई अपहरण गरी बन्धक बनाएको आरोप लगाए। उनले छोराको खोजीका लागि सार्वजनिक अपिलसमेत गरेका छन्। उनका अनुसार अमनलाई आरोपीहरूले नियन्त्रणमा राखी १० हजार नगद र एक विघा जग्गा दिए फिर्ता गरिदिने दबाब दिएका छन्।
जयकृष्णका अनुसार १९ गतेकै दिन रामदेवले आफ्नो नातिको जन्मदिनका लागि सामान किन्न भन्दै अमनलाई हनुमाननगर लैजान खोजेका थिए। ‘मैले अस्किार गरेपछि अमन गएन, तर साँझ जन्मदिन मनाउन भने रामदेवको घरमा पुगेछ’–जयकृष्णले भने। सोही विषयमा आफुले सामान्य कुटपिट गरेपछि अमन घर छोडेर हिडेको उनको भनाई छ।
यही आधारमा जयकृष्णले छोरो अपहरणमा परेको आरोप लगाएका छन्। तर, यसलाई पुष्टि गर्ने अन्य आधार भने उनले प्रश्तुत गर्न सकेका छैनन्। आरोपित रामदेव यादवले भने आफूमाथि लगाइएको आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै व्यक्तिगत रिसइबीका कारण चरित्र हत्या गरिएको बताएका छन्।
उनले जयकृष्णको छोरासँग आफ्नो नातिको बालसुलभ सम्बन्ध रहेको तर त्यसप्रति ईष्र्या राखिएको दाबी गर्दै छोरामाथि कुटपिट भएपछि घर छाडेको हुनसक्ने अनुमान गरेका छन्। अर्का आरोपित कारी यादव सम्पर्कमा आएका छैनन्।
यता, घटनाको विवरणसँगै अनेकौं प्रश्नहरू पनि उब्जिएका छन्। सुरुमा छोरो हराएको भन्दै प्रहरीमा हुलिया दिनु, गाउँमा यस विषयमा जानकारी नहुनु, अनि लामो समयपछि अपहरणको औपचारिक उजुरी गर्दै फिरौती मागेको सार्वजनिक गर्नु र त्यससम्बन्धी कुनै ठोस प्रमाण प्रस्तुत नगर्नुले घटनालाई विवादास्पद बनाएको छ।
यि सम्पूर्ण घट्नाक्रमले जयकृष्णको आरोप एकपक्षिय देखिन्छ। स्थानीयवासीहरूले पनि घटनालाई फरक कोणबाट हेरेका छन्। स्थानीय रामप्रसाद मण्डल र रामेश्वर यादवले अपहरणको आरोपमा कुनै विश्वसनीय आधार नदेखिएको बताउँदै हराएको बालक पहिले पनि असामान्य व्यवहार देखाउने र घर छाड्ने प्रवृत्तिको रहेको दाबी गरेका छन्।
उनीहरूका अनुसार जयकृष्णले लामो समयसम्म छोरा हराएको विषय गाउँसमाजमा पनि जानकारी दिएका थिएनन। प्रहरीको भनाईले त झन जयकृष्णको आरोपमा पानी खन्याउने काम गरेको छ। डिएसपी डम्बरबहादुर पुरीका अनुसार जयकृष्णले एक महिनापछि मात्रै (माघ १९ गते) छोरा हराएको जानकारी गराएका थिए र त्यसको तीन दिनपछि माघ २२ गते हुलिया जारी गरिएको थियो।
तर, चैत १६ गते उनले एकाएक जिल्ला प्रशासन कार्यालय सप्तरीमा अपहरणसम्बन्धी निवेदन दिएको खुलेको छ। सोही आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। स्रोतका अनुसार प्रहरीले यस विषयमा रामदेवलाई दुई पटक नियन्त्रणमा लिएर सोधपुछ समेत गरेको थियो। जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी बरसाईनले सोधपुछपछि रिहा गरेका थिए। यद्यपि प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा बालक पहिले पनि हराएर पछि घर फर्किएको र उनको व्यवहार अस्थिर प्रकृतिको देखिएको उल्लेख गरेको छ।
डीएसपी पुरीका अनुसार अमन ०८२ कार्तिकमा पनि सम्पर्कविहिन भएर एक महिनापछि घर फर्किएका थिए। स्थानीयका अनुसार आमाविहीन अमन सानै उमेरदेखि लागुऔषधको कुलतमा फसेका थिए। कुलतकै कारण उनी पटक–पटक चोरी तथा आपराधिक गतिविधिमा संलग्न हुँदै आएको खुलेको छ।
उनले पक्राउ पर्नुअघि भारदहस्थित इस्टर्न बोर्डिङ स्कुलबाट मोटरसाइकल, १४ हजार रुपैयाँ नगद र मोबाइल चोरी गरेका थिए भने मुसहरनिया क्षेत्रबाट खसी चोरी गर्नुका साथै भारदहका विभिन्न पसलहरूमा समेत हात साफ गर्दै आएको स्थानीयले बताएका छन्।
सबैभन्दा चासोको विषय भनेको हराएका बालकको भनिएको मोबाइल नम्बर बाबु स्वयम्ले प्रयोग गरिरहेको तथ्य प्रहरीले सार्वजनिक गर्नु हो। जसले घटनाको विश्वसनीयतामाथि थप प्रश्न खडा गरेको छ। हाल प्रहरीले बालकको खोजतलासलाई निरन्तरता दिँदै घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।
यस घटनाले बालक हराएको विषय मात्र होईन, आरोप, प्रत्यारोप र तथ्यबीचको गहिरो द्वन्द्वलाई उजागर गरेको छ। अपहरणजस्तो संवेदनशील मुद्दामा ठोस प्रमाण बिना सार्वजनिक आरोप लगाउँदा त्यसले सामाजिक सम्बन्ध, व्यक्तिगत प्रतिष्ठा र न्याय प्रक्रियामाथि पर्ने प्रभावलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता पनि यस प्रकरणले देखाएको छ।
