मधेशमा गुट्खा तस्करी काण्डले चर्कियो डीआईजी र एसपी टकरावः दबाब र तनावले कार्यस्थलमै ढले कुँवर
जनकपुर— आन्तरिक तनाव र तस्करीसँग जोडिएको विवादले मधेश प्रदेश प्रहरीभित्र गम्भीर मोड लिएको छ। तस्करीको विषय विवादित वन्दै जाँदा जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगमबहादुर कुँवर कार्यस्थलमै अचेत भएर ढलेका छन्।
आइतबार प्रदेश प्रहरी कार्यालयबाट स्पष्टीकरणका लागि बोलाइएका कुँवरमाथि तीव्र दबाब सिर्जना भएको र सोही क्रममा उनी अचानक अस्वस्थ भई लडेको स्रोतले जनाएको छ। घटनापछि उनी सोमबार दिनभर निवासमै आराममा बसे पनि स्वास्थ्यमा उल्लेखनीय सुधार नआएपछि मंगलबारदेखि सात दिनको बिदा स्वीकृत गरिएको छ।
प्रहरी स्रोतका अनुसार यो घटना सामान्य स्वास्थ्य समस्या मात्र नभई लामो समयदेखि संचित मानसिक दबाबको परिणामका रूपमा हेरिएको छ। यो घटनाको जरो गुट्खा तस्करीसँग जोडिएको आर्थिक चलखेलसम्म पुग्ने स्रोतको दाबी छ। प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाले उक्त प्रकरणमा आफ्ना निकटका व्यक्तिहरूलाई जोगाउने प्रयास गर्दै जिम्मेवारी जिल्ला प्रहरीतर्फ धकेल्न खोजेको आरोप लागिरहेको छ।
विशेषगरी वरिष्ठ सई सागरशमसेर राणालाई केन्द्रमा राखेर स्पष्टीकरणको चाप सिर्जना गरिँदा एसपी कुँवरलाई दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो, जसले तनाव झनै बढाएको बताइन्छ। यसैबीच, एक व्यापारीसँग भएको अडियो संवाद सार्वजनिक भएपछि विवादले थप तिव्रता लिएको छ। उक्त अडियोमा डीआईजी थपलियाका लागि आर्थिक संकलन गरिएको संकेत भेटिएको दाबी गरिएको छ।
यही प्रकरणपछि वरिष्ठ सई राणालाई निलम्बनका लागि सिफारिस गरिएको भए पनि प्रदेश प्रहरीका प्रवक्ता एसएसपी कमल थापाले भने आफूलाई त्यसबारे औपचारिक जानकारी नभएको बताएका छन्, जसले संगठनभित्र समन्वयको अभाव देखाउँछ।
घटनाको पृष्ठभूमि अझै गहिरो छ। धनुषाको भारतीय सीमावर्ती नाकाबाट चिनियाँ ‘फुजी’ प्रजातिको स्याउ अवैध रूपमा भित्र्याउने प्रयास रोकिएपछि एसपी कुँवर र डीआईजी थपलियाबीच सम्बन्ध बिग्रिएको थियो। स्रोतका अनुसार त्यसपछि थपलियाले कुँवरलाई कार्यालयमै बोलाएर अपशब्द प्रयोग गर्दै गाली गरेका थिए। त्यसयता दुईबीचको दूरी बढ्दै गएको र जिल्लामा नियन्त्रणमा राखिएको तस्करीलाई प्रदेशस्तरबाट पुनः सक्रिय गराउने प्रयास भएपछि द्वन्द्व चुलिएको हो।
जिल्ला प्रहरीका अनुसार, प्रदेशबाट खटिएका केही प्रहरी टोलीले रोकिएको तस्करीलाई खुलाउने प्रयास गरिरहेका थिए। जसलाई केन्द्रस्तरीय प्रभावशाली व्यक्तिहरूको संरक्षण रहेको चर्चा पनि संगठनभित्रै चलिरहेको छ। यसले प्रहरीभित्र गुटबन्दी र शक्ति संघर्षको संकेत दिएको छ।
एसपी कुँवरको स्वास्थ्य अवस्थाबारे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी गणेशबहादुर बमले भने औपचारिक रूपमा घरायसी कारण देखाउँदै बिदामा बसेको बताएका छन्। तर, पारिवारिक स्रोतका अनुसार कुँवर पहिलेदेखि उच्च रक्तचापको समस्याबाट पीडित थिए र पछिल्लो समय अत्यधिक तनावका कारण औषधिले समेत काम नगर्ने अवस्था आएको थियो। यही कारण कार्यस्थलमै उनी अचानक अचेत भएका थिए।
समग्र घटनाक्रमले मधेश प्रदेश प्रहरीभित्रको नेतृत्व, अनुशासन र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। तस्करी नियन्त्रण गर्ने कि संरक्षण गर्ने भन्ने द्विविधामा फसेको प्रहरी संयन्त्र अहिले आफैं आन्तरिक द्वन्द्वको सिकार बनेको देखिन्छ। यस्तो अवस्थामा निष्पक्ष छानबिन र जिम्मेवार जवाफदेहिता सुनिश्चित नगरेसम्म यो विवाद थप गहिरिने संकेत देखिएको छ।
