अन्तरजातीय प्रेमविवाह गरेका युवक ‘बलात्कार’ आरोपमा पक्राउः प्रहरी हिरासतमै मृत्यु

सिन्धुली — अन्तरजातीय प्रेमविवाह गरेका सिन्धुलीको सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमै मृत्यु भएको छ। कृष्णले गत चैत्र २८ गते मात्रै खोटाङकी १७ वर्षीया किशोरीसँग प्रेमविवाह गरेका थिए। तर, सोही विवाहका कारण पक्राउ परेका उनको प्रहरी हिरासतमै मृत्यु भएको हो।

किशोरी घरबाट हराएपछि उनका परिवारले सातदोबाटो प्रहरी चौकीमा उजुरी दर्ता गरेका थिए। उजुरीपछि वैशाख ३ गते श्रीकृष्ण र किशोरीलाई प्रहरी समक्ष उपस्थित गराइयो। त्यसपछि किशोरीका आफन्तले बलात्कारको आरोपमा श्रीकृष्णविरुद्ध जाहेरी दर्ता गराए। त्यसपछि किशोरीलाई परिवारको जिम्मा लगाइयो भने श्रीकृष्णलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा राख्यो।

वैशाख ४ गते उनलाई इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा राखिएको थियो। त्यसको भोलिपल्ट साँझ करिब ६ बजेतिर उनी हिरासतभित्रै थुनुवा कक्षको भेन्टिलेसनमा सर्टको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए। घटनापछि तत्कालै उनलाई सुनकोसी सामुदायिक अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि सिन्धुली अस्पताल पठाइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

स्थानीय जनप्रतिनिधि चन्द्र श्रेष्ठका अनुसार हिरासतमा श्रीकृष्ण एक्लै राखिएका थिए र भेटघाटका क्रममा पनि उनी एक्लै रहेको पुष्टि भएको छ। प्रहरीको हिरासतमै यस्तो घटना हुनु गम्भीर लापरबाही भएको आरोप उनले लगाए। उनका अनुसार प्रहरी व्यस्त भएको समयमा श्रीकृष्णले आत्महत्या गरेको भनिए पनि हिरासतभित्रको सुरक्षाको सवालमा अनेक प्रश्न उठेका छन्।

घटनाको सामाजिक पाटो झनै संवेदनशील छ। श्रीकृष्ण दलित समुदायका थिए भने उनले विवाह गरेकी किशोरी जनजाति समुदायकी नाबालिका थिइन्। अन्तरजातीय सम्बन्धका कारण किशोरीका परिवारले विवाह स्वीकार नगरी आपराधिक मुद्दा लगाएको स्थानीयहरूको भनाइ छ। यसले सामाजिक विभेद, परम्परागत सोच र कानुनी प्रक्रियाबीचको द्वन्द्वलाई उजागर गरेको छ।

परिवारको पीडा अझ गहिरो छ। पाँच दाजुभाइमध्ये माइलो छोरा रहेका श्रीकृष्णका बाबुको केही वर्षअघि नै निधन भइसकेको थियो। आमा बिन्दा अहिले छोराको असामयिक मृत्युले स्तब्ध बनेकी छिन्। आफन्तहरूले प्रहरीको लापरबाहीका कारण श्रीकृष्णले ज्यान गुमाउनु परेको आरोप लगाएका छन् र घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

यो घटनाले प्रहरी हिरासतको सुरक्षा, अनुसन्धान प्रक्रियाको संवेदनशीलता र सामाजिक संरचनाभित्रको असमानतामाथि गम्भिर प्रश्न उठाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट