तथ्य नबुझी श्रेयको हतारोः सांसद गेलालको दाबी झुठो, अमृत झा अझै इरानको जेलमै

राजविराज— उदयपुर–१ बाट निर्वाचित सांसद पारस मणि गेलालले सामाजिक सञ्जालमार्फत गरेको एउटा दाबी अहिले गम्भीर विवादमा परेको छ। इरानमा वन्दी वनेका आफ्नो क्षेत्रका अमृत झालाई रिहा गराउन सफल भएको भन्दै सार्वजनिक रूपमा श्रेय लिने प्रयास गरेका गेलालको उक्त दाबी तथ्यसँग मेल नखाएपछि उनको भूमिका र जिम्मेवारीबारे प्रश्न उठेको छ।

गेलालले फेसबुकमा ‘मेरो क्षेत्र उदयपुरका अमृत झा जीलाई छुटाउन सफल भएको जानकारी गराउदछु’ भन्दै परराष्ट्रमन्त्री शिशिर खनालप्रति आभार व्यक्त गरेका थिए। उनको यो अभिव्यक्ति सार्वजनिक भएपछि स्थानीयदेखि राष्ट्रिय स्तरसम्म खुशीको प्रतिक्रिया देखिएको थियो। तर केही दिनमै त्यो खुशी निराशामा परिणत भयो। अमृत झा अझै पनि इरानकै जेलमा रहेको पुष्टि भएको छ।

१५ अप्रिलमा परराष्ट्रमन्त्रीले पनि सामाजिक सञ्जालमार्फत अमृत झा रिहा भएको जानकारी दिएका थिए। उनले इरानमा पक्राउ परेका झा रिहा भई सुरक्षित स्थानमा रहेको र नेपाल फर्काउने प्रक्रिया अघि बढिरहेको बताएका थिए। तर मन्त्रीको उक्त दाबी सार्वजनिक भएको एक सातापछि पनि झा हिरासतमै रहेको तथ्यले सरकारी सूचना प्रवाहमै गम्भीर कमजोरी देखिएको छ।

अमृत झाका भिनाजु राजेश झाका अनुसार झाले हालै फोनमार्फत आफू अझै जेलमै रहेको बताएका छन्। उनका अनुसार झा इरानको बन्दर अब्बास जेलमा राखिएका छन्, जुन जेललाई अन्तर्राष्ट्रिय मानवअधिकार समुदायले संवेदनशील र कडा निगरानीमा राखिने स्थानका रूपमा चिन्ने गर्छ। परिवारले परराष्ट्रमन्त्रीको भनाइपछि ठूलो आशा गरेका थिए, तर झाको फोनपछि उनीहरू पुनः तनाव र अन्योलमा परेका छन्।

झाले परिवारलाई दिएको जानकारीअनुसार अदालतबाट केही प्रक्रिया अघि बढे पनि अनुसन्धान जारी रहेकाले तत्काल रिहा हुन नसकेको अवस्था छ। यसले सरकारी तहबाट आएको सूचना र वास्तविक अवस्थाबीचको ठूलो अन्तर उजागर भएको छ।

परराष्ट्र मन्त्रालयले भने यसलाई ‘मिसकम्युनिकेशन’ भन्दै बचाउ गर्ने प्रयास गरेको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले अदालतबाट रिहाइको आदेश भएको र प्रक्रिया चलिरहेको दाबी गरेका छन्। तर मन्त्रीस्तरबाटै ‘रिहा भइसकेको’ भनेर गरिएको घोषणा किन र कसरी आयो भन्नेबारे स्पष्ट जवाफ दिन सकेका छैनन्।

अमृत झा सन् २०२४ जुलाईमा वैदेशिक रोजगारीका लागि युएई गएका थिए र ‘अल लुलु मरिन सर्भिसेस एलएलसी’ नामक कम्पनीको पानीजहाजमा सीम्यानको रूपमा कार्यरत थिए। इजरायल–अमेरिका र इरानबीच तनाव बढ्नु अगावै उक्त जहाज इरान पुगेको थियो। फर्किने क्रममा अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको आरोपमा इरानी रेभुल्युसनरी गार्डले जहाजसहित सात जनालाई नियन्त्रणमा लिएको थियो।

उनीहरूमध्ये चार जना रिहा भइसकेका छन् भने अमृत झासहित तीन जना अझै हिरासतमा छन्। रिहाइका लागि कूटनीतिक पहल जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। युद्धका कारण इरानस्थित नेपाली दूतावासको सक्रियता कमजोर भएपछि कतारस्थित नेपाली दूतावासमार्फत पहल भइरहेको बताइएको छ।

तर, यति संवेदनशील विषयमा सांसद गेलालले पर्याप्त तथ्य पुष्टि नगरी सार्वजनिक रूपमा श्रेय लिन खोजेको कदमले उनको विश्वसनीयतामाथि प्रश्न उठाएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो ‘अतिआत्मविश्वासजन्य अज्ञानता’ ले न केवल परिवारलाई भ्रममा पार्छ, बरु राज्य संयन्त्रप्रतिको जनविश्वाससमेत कमजोर बनाउँछ।

सामाजिक सञ्जालमा छिटो लोकप्रियता र राजनीतिक क्रेडिट लिन खोज्दा तथ्यको गम्भीरता बेवास्ता गरिँदा त्यसले कस्तो परिणाम दिन सक्छ भन्ने उदाहरणका रूपमा यो प्रकरण उभिएको छ। अहिले प्रश्न केवल अमृत झाको रिहाइ मात्र होइन, सार्वजनिक पदमा बसेका व्यक्तिहरूको जिम्मेवारी, सूचना प्रवाहको विश्वसनीयता र राजनीतिक नैतिकतामाथि समेत केन्द्रित भएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट