उदयपुरमा बिडीको झिल्कोले आगलागी हुँदा जलेर दुई महिला गम्भीर घाइते

गाईघाट—उदयपुरको उदयपुरगढी गाउँपालिका–८ चोरुम्फामा मंगलबार साँझ आगलागीमा परी जलेर २ जना घाईते भएको छ। साँझ करिब पौने ८ बजे घरभित्र बिडी सल्काउने क्रममा बच्चाको खेलाँचीले पोखिएको तारपिनको तेलमा आगो सल्किएपछि अचानक आगलागी भएको हो।

प्रहरीका अनुसार स्थानीय ४९ वर्षीया साबित्रा मगर आफ्नै घरमा बिडी सल्काउँदै गर्दा नजिकै राखिएको तारपिनको तेल बच्चाले खेल्ने क्रममा पोखिएको थियो। यही असावधानीले क्षणभरमै आगोले उग्र रूप लिँदा घरभित्र आगो फैलिएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

आगलागीमा परेर साबित्रा मगरको शरीरको करिब ४० प्रतिशत भाग जलेको छ। उनका दुवै हात, दुवै खुट्टा तथा कम्मर पछाडिको भाग जलेको छ। आगो निभाउने प्रयासमा छिमेकी ४१ वर्षीया विष्णु मगरसमेत घाइते भएकी छिन्। जसको दुवै हात र खुट्टाको करिब १० प्रतिशत भाग जलेको छ।

दुवै घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ। घटनाबारे सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार कार्य अघि बढाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट